+
+

कृषि विश्वविद्यालयमा विद्यार्थी झगडाबारे संसदमा उठ्यो प्रश्न

ज्ञानेन्द्र शाहीले भने : आफ्नो भ्रातृ संगठन सम्हाल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १४:३१

२४ भदौ, काठमाडौं । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा विद्यार्थीबीचको झगडाले परीक्षा स्थगित भएकोबारे प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनबीचको झगडाका कारण परीक्षा स्थगित भएको भन्दै विपक्षी दलका सांसदहरूले सरकार र सत्तारुढ दलमाथि प्रश्न गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफ्ना भातृ संगठनलाई सम्हाल्न आग्रह गरे । ‘नेपाली कांग्रेस र नेकपा एमाले दुईवटै दललाई आग्रह हो– तपाईंहरुका भातृ संगठनलाई सम्हाल्नुस् । कि त भातृ संगठन नभन्नुस्, गुण्डाहरूको संगठन भन्नुस्’, सांसद शाहीले भने ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको छात्राबासका विद्यार्थीहरुबीच यही भदौ १३ गते कुटाकुट भएको र यो विषयमा सत्तारुढ कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघ र एमालेसम्वद्ध अनेरास्ववियुबीच आरोप प्रत्यारोप चलेको छ ।

यही विषयलाई लिएर प्रहरीमा जाहेरी परेको छ । यसकारण भदौ १४ गतेदेखि हुने नियमित तथा मौका परीक्षा स्थगित भएको छ । भदौ २८ गतेदेखि हुने नयाँ भर्नाको लागि प्रवेश परीक्षा पनि स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले यो वा त्यो रुपमा विद्यार्थीको जाँचमा खेलवाड गर्न नहुने बताइन् ।

‘सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु– विद्यार्थीको जीवनमा, जाँचमा यस्तो खेलवाड नगरियोस्’, उनले भनिन् ।

विश्व विद्यालयमा राजनीतिक दल हावी हुँदा यस्तो समस्या देखिएको उनको टिप्पणी छ ।

‘विद्याविद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रधानमन्त्रीको पार्टी, एउटा गृहमन्त्रीको पार्टी । दुईटा विद्यार्थी संगठनको लडाईंमा पढ्छु मात्रै भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ?’ रास्वपा सांसद सुमनाको प्रश्न छ ।

सांसद श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार हुने भनिएको दीक्षान्त समारोह स्थगित भएकोबारे पनि सरकारको ध्यानाकर्षण गरिन् ।

‘यो एएफयुको जाँच कहिले हुन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह कहिले हुन्छ ?’ उनले भनिन् ।

कर्णालीको दीक्षान्त समारोहमा प्रधानमन्त्रीले अन्तिम समयमा कार्यव्यस्तता भनेको सुनेको भन्दै सांसद श्रेष्ठले त्यस्तो नगर्न सुझाव दिइन् ।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दीक्षान्त समारोह नै रोकियो । आइतबार हुने भनिएको दीक्षान्त समारोहमा सबै विद्यार्थीहरु अब त दीक्षित भइन्छ भनेर गए, प्रधानमन्त्रीज्यूले, कुलपतिज्यूले राति म आउन सक्दिन, कार्यव्यस्तता भन्नुभयो । कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो ? कार्यक्षमतामा पटक/पटक प्रश्न उठ्न थाल्यो । विद्यार्थीको दीक्षित हुने हक होइन त्यो ?’ उनले प्रश्न गरिन् ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि प्रधानमन्त्रीले अन्तिम समयमा नभ्याउने भन्दा समारोहमा उपस्थित हुन पुगेकाहरू त्यसै फर्किनुपरेको बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी जुम्ला पुगेको उनले बताए । विद्यार्थी मात्रै नभएर डा. सन्दुक रुइत, स्वास्थ्य सचिव लगायत जुम्ला पुगेको सांसद शाहीले बताए ।

प्रधानमन्त्री बिरामी भएको भए, मौसम खराबी भएको भए स्वीकार गर्न सकिने तर, यस्तो अवस्था समेत नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?