+

अब कर्णालीमा पनि क्रिकेट मैदान

२०८१ भदौ  २४ गते १७:५३ २०८१ भदौ २४ गते १७:५३
अब कर्णालीमा पनि क्रिकेट मैदान

२४ भदौ, काठमाडौं । कर्णाली प्रदेशमा पनि क्रिकेट मैदान तयार भएको छ । यसअघि देशमा रहेका सातमध्ये एउटा पनि क्रिकेट मैदान कर्णालीमा थिएन ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वीरेन्द्रनगरको कालुङचोक क्रिकेट मैदान दुई वर्षमा तयार पार्दै कर्णाली प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गरेको छ । कालुङचोक कर्णालीमा निर्माण भएको पहिलो क्रिकेट मैदान हो ।

उक्त मैदानको बाउन्ड्री ६५ यार्ड छ, तीन कोठाको भवन बनेको छ । मैदानमा दुबो रोपिएको छ । पहिले ढुंगा र खाल्डाखुल्डीका कारण यो मैदानमा अभ्यास गर्न समेत मिल्ने अवस्था थिएन ।

खेलाडी राम्रो पिचमा खेल्न कर्णाली बाहिर जानुपर्ने बाध्यता थियो । खेल सञ्चालन गर्न पिचमा म्याट राख्नुपर्ने अवस्था थियो । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुन्थ्यो ।

दुई वर्षअघि कर्णाली प्रदेश खेलकुद परिषद्ले उक्त मैदान निर्माणको काम थालेको थियो । पछिल्ला दुई वर्षमा ३५ लाख र ८५ लाख गरी कुल उक करोड २० लाख रुपैयाँमा क्रिकेट मैदान तयार भएको हो ।

‘मैदान भएपछि निरन्तर अभ्यास गर्न पाइयो । आफ्नो मैदानमा खेल्न नपाएको कति वर्ष भइसकेको थियो । अब अभ्यास खेलहरु खेल्न पाइन्छ । मैदान भएपछि नयाँ नयाँ खेल्ने खेलाडीहरु पनि निस्किन्छन्’, कर्णालीका प्रमुख खेलाडी रवीन्द्रजंग शाहीले भने ।

तर, मैदान संरक्षणको चुनौती भने रहेको उनले बताए । ‘अब खेल खेल्न मैदान छैन भन्ने भएन । अब मज्जाले क्रिकेट खेल्न सकिन्छ । संघले यो ग्राउण्डलाई कसरी संरक्षण गर्छ त्यो भने महत्वपूर्ण हुनेछ’, शाहीले भने ।

कर्णालीले सन् २०१८ मा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करणदेखि आफ्नो टोली बनाउँदै घरेलु प्रतियोगितामा सहभागी हुँदै आएको छ । त्यसअघि भने तत्कालीन प्रदेश नम्बर ५ (लुम्बिनी प्रदेश) बाट खेल्ने गर्थ्यो ।

सन् २०२१ जनवरीमा कर्णालीले मूलपानी मैदानमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रधानमन्त्री कपमा पहिलो जित दर्ता गरेको थियो ।

उसले गतवर्ष प्रधानमन्त्री कपमा ९ मध्ये ४ खेल जितेको थियो । कर्णालीमा मैदान नहुँदा सबै खेलाडी प्रतियोगिताको समयमा मात्रै त्यहाँ पुग्ने गर्थे भने अरु समय प्रदेश बाहिर नै अभ्यास र प्रशिक्षण गर्ने गर्थे ।

कर्णाली क्रिकेट संघलाई मैदान हस्तान्तरण गरेसँगै अब नेपाल क्रिकेट संघ (क्यान) ले अन्य मैदानलाई दिनेसरह सेवा सुविधा यो मैदानलाई पनि दिनेछ । ‘अब यो क्यानको अधिनमा रहेर अन्य मैदानले पाउने मैदानका कर्मचारी, क्युरेटर लगायत सबै सेवा सुविधा पाउँछ’, क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

अर्को मैदान पनि अन्तिम चरणमा

सुर्खेत वीरेन्द्रनगरकै कर्णाली प्रदेश रंगशाला छेऊमै अर्को क्रिकेट मैदानको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । यो कालुङचोक मैदानको नजिकै पर्छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालका अनुसार उक्त मैदान असोज दोस्रो सातासम्म प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गर्ने गरी काम भएको छ ।

कर्णाली प्रदेश रंगशाला नजिक बन्दै गरेको क्रिकेट मैदान ।

सन्ज्यालका अनुसार उक्त मैदान निर्माण र इन्डोर हल बनाउन साढे चार करोड रुपैयाँ खर्च भएको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा हुँदैछ । त्यसको लागि १३ इन्डोर र ११ आउटडोर मैदान तयार भइसकेका छन् । पूर्वाधारको कारण खेल नरोकिने सन्ज्याल बताउँछन् ।

‘दशौं (राष्ट्रिय खेलकुद) का लागि पूर्वाधारको हिसाबले हामीले सबै तयारी गरेका छौं । १३ वटा इन्डोर, ११ आउटडोर तयार पार्दै २४ खेल खेलाउन मिल्ने मैदान तयार भएका छन् । बाँकी ५/७ मैदानको निर्माण तयारी अन्तिम चरणमा पुगेका छन् । असोजसम्म सबै सकिनेछन्’, उनले भने ।

कर्णाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय