
२४ भदौ, काठमाडौं । साउन अन्तिम दिन ३ हजार अंक पुगेको सेयर बजारमा लगानीकर्ताले १० प्रतिशतसम्मको गिरावटलाई सामान्य ‘करेक्सन’ का रूपमा बुझ्दै आएका थिए । जसअनुसार २७०० अंकसम्म कतिपय कारोबारी तथा लगानीकर्ता होल्डिङमै रहे ।
तर, सोमबार बजारले २७०० को सपोर्ट प्वाइन्ट तोडेर झरेको छ । बजार खुल्दा २७०० माथि टिकाइराख्न केही प्रयास देखिए पनि त्यो १० मिनेटभन्दा धेरै टिक्न सकेन ।
जसले गर्दा ११ः११ बजे नै बजार २६९९ अंकमा झर्यो र त्यसपछि कुनै पनि समय सोभन्दा माथि जान सकेन । बजार ओरालो लाग्न थालेपछि लगानीकर्ता तथा कारोबारी थप घट्ने अनुमानमा रहे । २७०० अंक तोडिएपछि कतिपय ‘स्टप लस’ तिर लागे ।
यतिबेला दैनिक ‘पिभोट प्वाइन्ट’ अनुसार बजारमा अबको सपोर्ट बिन्दु २५७० अंक देखिएको छ । ‘बोलिंगर ब्यान्ड’ अनुसार भने बजार तल्लो रेखामा झरेको छ । त्यस्तै ‘आरएसआई’ ४३.१३ मा छ ।
‘यसअघि ३२०० बाट बजार १८ सयसम्म झर्दा पनि सेयर नबेचेर धेरै समय गुजार्नुपरेको पीडा धेरैमा ताजै छ, जसले गर्दा अहिले डराएर बेचेको अवस्था हो,’ नेपाल धितोपत्र लगानीकर्ता संघ अध्यक्ष प्रकाश रजौरेले भने । यो गिरावटलाई आफूले भने सामान्य बुझेको उनी बताउँछन् ।
‘आजभन्दा भोलि, भोलिभन्दा पर्सि पोर्टफोलियो घटिरहेको देख्दा पनि धेरै बेच्नतिर लागे,’ उनले भने, ‘तर, बजार कहाँसम्म झरेर माथि उक्लिन्छ, त्यो थाहा हुँदैन, यतिबेला किन्नेभन्दा बेच्नेलाई बढी जोखिम हुन्छ ।’
यो बेला रकम हुनेले ‘एभरेजिङ’ गर्दै प्रतिइकाइ लागत घटाउनतिर लाग्नुपर्ने र रकम नहुनेले केही महिना ‘होल्ड’ गर्नुपर्ने उनको सुझाव छ । अर्कातर्फ, ठूला खरिदकर्ता पनि बढेर किन्न तयार देखिएका छैनन् ।
बजार घट्न थालेपछि खरिदकर्ता आक्रामक देखिएका छैनन् । तर, बिक्रेताले भने अझै घट्ने डरले खरिदकर्ताकै मूल्यमा सेयर बेच्दै गएका छन्, यसले समग्र बजार घटाइरहेको छ । यसअघि एकैदिन ३० अर्बसम्म पुगेको कारोबार रकम अहिले १० अर्बमुनि खुम्चिन थालेको छ । सोमबार जम्मा ९ अर्ब ४३ करोडको कारोबार भयो । बजारमा अहिले खरिदकर्ता थप गिरावटलाई पर्खेर बसेका छन् ।
दसैं–तिहारसम्म नै बजार नबढ्ने अनुमान एकथरी लगानीकर्ताको छ । खासगरी भदौपछि कात्तिक–मंसिरसम्मको अवधिलाई धेरैले बजार घट्ने ‘सिजन’ का रूपमा पनि बुझेका छन् । विगतमा बेला बेला यस्तो अवस्था देखिँदै आएको छ । २ भदौ २०७८ मा ३१९८ अंकको उच्चतम रेकर्ड बनेपछि बजार निरन्तर घट्दै १८ सय नजिकसम्म झर्यो ।
तीन वर्षपछि अहिले यो रेकर्ड तोडिन सक्ने केहीको अनुमान थियो । तर, बजार ३ हजार अंकबाट तल झरेको छ । अहिले गिरावट ‘बियरिस’ नभई करेक्सन मात्रै भएकाले त्यस्तो नहुने रजौरे दाबी गर्छन् ।
‘बजार छोटो समयमै २ हजारबाट ३ हजार पुगेको पनि त हो, तर अहिले ३–४ सय अंक घट्दैमा आत्तिनेले गुमाउने मात्रै हो,’ उनले भने ।
बजार बढ्दा जसरी एकोहोरो बढिरह्यो, अहिले घट्दा पनि त्यही प्रवृत्ति देखिएको छ । बजार २ हजारबाट १५ दिनभित्रै ३ हजार अंकसम्म पुग्दा खास करेक्सन नै देखिएको थिएन । त्यतिबेला लगानीकर्ताले करेक्सन चाहँदा पनि पाएनन्, तर यतिबेला भने करेक्सन ठूलो देखिँदा कतिपय आत्तिएका छन् ।
नेपाल इन्भेस्टर्स फोरम अध्यक्ष तुलसीराम ढकाल बजारको उतारचढाव नै सुन्दर पक्ष रहेकाले यसलाई सामान्य बुझ्नुपर्ने बताउँछन् ।
‘बजारले करेक्सन लिँदै बढ्ने हो, लगातार बढिरहँदैन र घटिरहँदैन पनि, यसैलाई मनन गर्नेले गुमाउनुपर्दैन,’ उनले भने ।
‘लो क्याप’ कम्पनीमा फेरि आकर्षण
बजार घट्दै जाँदा ‘लो क्याप’ कम्पनीमा फेरि आकर्षण देखिएको छ । बजार बढ्दा यिनै लो क्याप कम्पनीको मूल्य उच्च दरमा बढ्ने भएकाले यस्ता कम्पनीमा अहिलेदेखि नै लगानीकर्ताले खरिद गर्दै गएको देखिन्छ ।
सोमबार बजारमा मूल्य बढेका कम्पनीले नै यसलाई पुष्टि गर्छ । यस दिन हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशत बढ्यो ।
यस कम्पनीको पब्लिक सेयर जम्मा ३२ लाख १७ हजार ५ सय कित्ता मात्रै हो । सोमबार अरू यस्तै लो क्याप कम्पनीहरू नेपाल वेयरहाउजिङको मूल्य ७.५ प्रतिशत बढ्यो । जसको १३ लाख ७५ हजार कित्ता सेयर पब्लिकमा जारी भएको छ ।
इमर्जिङ नेपालको ६.२, सीईडीबी हाइड्रोपावर ६.२ र स्वरोजगार लघुवित्तको ५.८ प्रतिशत मूल्य बढ्यो । मानुसी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, एक्सल डेभलपमेन्ट बैंकजस्ता कम्पनीको मूल्य पनि बढ्यो ।
प्रतिक्रिया 4