+
+

कैलालीमा राजमार्गमा वन्यजन्तु मैत्री संरचना बनाउनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १९:१३

२४ भदौ, धनगढी । कैलालीमा वनजंगल तथा नदी किनारमा विकास निर्माण गर्दा वन्यजन्तु मैत्री पूर्वाधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सोमबार धनगढीमा कैलाली र कञ्चनपुरका राजमार्ग क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सम्बद्ध सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र वन्यजन्तु तथा वन संरक्षणकर्मी सहभागी कार्यक्रममा यस विषयमा छलफल भएको थियो ।

पूर्वपश्चिम राजमार्ग, रेलमार्ग, सिँचाइ परियोजना तथा विद्युतको हाइटेन्सन लाइन विस्तारका क्रममा वन्यजन्तु, चराचुरुङ्गीमाथि पर्ने असरका बारेमा गरिएको छलफलका सहभागीले वन्यजन्तु र वातावरणमैत्री संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

सहभागीले अब चौडा हुने पूर्व–पश्चिम राजमार्गमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण हुनुपर्ने उनीहरुले जोड दिए । वन क्षेत्र तथा निकुञ्जमा रहेका सडक, विद्युत, सिँचाइ नहर लगायतका पूर्वाधार लगायतका विकास निर्माणका काम हुँदा वन्यजन्तु मैत्री बनाइनु पर्ने कैलाली र कञ्चनपुरका स्थानीयतहका जनप्रतिनि, वन्यजन्तु संरक्षणकर्मीहरुले बताएका हुन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीले प्रदेश सरकारले नीति तथा कानुन निर्माणमा वन्यजन्तु संरक्षण क्षेत्रमा विशेष जोड दिने बताएका छन् ।

उनले प्रदेश सरकारले अब बनाउने संरचना वातावरण र वन्यजन्तुमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारमा प्रदेश सभा सदस्य डा. तारा जोशीले अनुसन्धान तथा अध्ययन गरेर वन्यजन्तुमैत्री संरचनाहरु बनाइनु पर्नेमा जोड दिए ।

‘हाम्रो देशमा अध्ययन अनुसन्धानविना नै योजना बनाइने गरेकाले समस्या सिर्जना हुने गरेको छ’, उनले भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्ज तथा वन क्षेत्रमा वन्यजन्तु मैत्री पूर्वाधार नहुँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको बताए ।

चौधरीले वन्यजन्तुको पनि बाँच्न पाउने अधिकार भएकाले पूर्व पश्चिम राजमार्गमा बन्ने संरचनाहरु वन्यजन्तुमैत्री बनाउनुपर्ने बताए ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले आफ्नो नगरपालिकामा वन्यजन्तुले साह्रै दुःख दिएको बताउँदै मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन पनि वन्यजन्तुको रुट पत्ता लगेर सोही अनुसारको संरचना बनाएर समस्या समाधान गरिनुपर्ने बताए ।

सडक निर्माणको कुनै मापदण्ड नभएका कारण पनि वन्यजन्तु दैनिक जसो दुर्घटनामा पर्ने गरेको प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताए ।

‘वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न राष्ट्रहरुमा गरिएको प्रयोगलार्ई पनि हामीले अनुशरण गर्नुपर्छ’, विष्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?