+
+

‘अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १८:३९

२४ भदौ, काठमाडौं । अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल–अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखी आगामी दिनमा बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक रहेको बताए ।

अमेरिकाले सन् २०१६ मा भूकम्पपछि ७७ वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने ‘व्यापार एवं लगानी सम्बन्धी सम्झौता’ (टिफा) परिषद् बैठक महत्त्वपूर्ण रहेको उनको धारणा छ ।

बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जीएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा भन्सार रहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरूप अमेरिकासँग छलफल गरिने बताए ।

प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए । यस अवसरमा, महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए ।

नेपाल तयारी पोसाक उद्योग संघ अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएका कारण सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।

नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए ।

निर्यात व्यवसायी महासंघ नेपाल अध्यक्ष शंकर पाण्डेले अमेरिका तर्फको निर्यातको मात्रा बढाउन आवश्यक भएकोमा जोड दिए ।

नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्न यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो ।

तर, हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घट्न सक्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?