+
+

रुपा गाउँपालिकामा गर्भ जाँच गराउने गर्भवतीलाई एक क्रेट अण्डा उपहार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १९:४७

२४ भदौ, पोखरा । कास्कीको रुपा गाउँपालिकाले गर्भ जाँज गर्न आउने प्रत्येक महिलालाई प्रत्येक पटक एक क्रेट अण्डा उपचार दिन थालेको छ ।

गाउँ–ठाउँमै स्तरीय स्वास्थ्यचौकी निर्माण भए पनि गर्भ जाँच गर्न भने सहरै जाने कि जाँचै नगर्ने परिपाठीलाई न्यूनीकरण गर्न पालिकाले गर्भ जाँचैपिच्छे एक क्रेट अण्डा उपहार दिने कार्यक्रम सोमबारदेखि थालेको हो ।

पहिले गर्भवती भएको समयदेखि सुत्केरी हुनुअघिसम्म ४ पटक जाँच गर्ने गरिएकोमा नेपाल सरकारकै योजनाअनुरुप ८ पटक जाँच गर्न थालिएको छ । तर, गाउँमै गर्भ जाँचदेखि सुत्केरी सेवासम्मको सुविधा भए पनि सहरै झर्ने प्रवृति छ ।

गाउँका कतिमय समुदायमा अझै जाँचदेखि सुत्केरी हुनेअवस्थासम्म अफ्ठेरो नपरी स्वास्थ्य संस्था नै नजाने प्रचलन छ । रुपा गाउँपालिकाकै मुस्लिम समुदाय आज पनि स्वास्थ्य संस्थामा गर्भ जाँच र भरसक सुत्केरी हुन पनि नजाने देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्य संस्था नै नजाने प्रवृतिले निम्त्याउन सक्ने जोखिमलाई बुझाउँदै सबै समुदायलाई आकर्षित गर्न यो योजना ल्याइएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । प्रत्येक पटक जाँच गराउन आउँदा एक क्रेट अण्डा उपहार दिने योजना सोमबारदेखि रुपा गाउँपालिका ५ देउराली स्वास्थ्यचौकीबाट थालनी गरिएको हो ।

देउरालीका ३ जना गर्भवती महिलालाई एक÷एक क्रेट अण्डा उपहार दिएर कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रम सिंगो पालिकाभरि नै सुरु भएको हो । सडक, खानेपानी र विद्युतसँगै शिक्षा र स्वास्थ्यलाई व्यवस्थित गर्न सके गाउँबाट पलायन रोक्न सकिनेतर्फ पालिकाले सचेतताका साथ कार्यक्रम ल्याएको भए पनि चुनौति उत्तिकै रहेको अध्यक्ष ओझाले बताए ।

स्वास्थ्य सेवालाई व्यवस्थित र सुलभ बनाउन निशुल्क एम्बुलेन्स उपलब्ध गराउने, गाउँपालिकामै डाक्डरसहितको अस्पताल निर्माण गर्ने काम भएको बताउँदै ओझाले अब गर्भ जाँचदेखि सुत्केरी हुने बेलासम्मै सहर नै ताक्नुपर्ने अवस्था गाउँपालिकामा नरहेको बताउँछन् । गर्भवतीको पोषण र नियमित जाँच गराउनुपर्छ भन्ने सचेतनाका लागि पनि अण्डा उपहार दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए ।

प्रोटोकलअनुसार चार पटक सुत्केरी सुत्केरी जाँच गराउने प्रतिशत अहिले ५९ प्रतिशतमात्र रहेको स्वास्थ्य सेवा प्रमुख रामचन्द्र ओझाले बताए । अहिले बर्थिङ सेन्टर रुपाकोट अस्पताल र देउराली स्वास्थ्य चौकीमा मात्रै छ । तर, नियमित जाँचदेखि सुत्केरीपछिको सेवा भने सबै स्वास्थ्य चौकीमा मिल्ने ओझाले बताए ।

स्वास्थ्य सहसंयोजक राधा सुवेदीकाअनुसार रुपमा २०८०÷०८१ म २७६ जनाले गर्भ जाँच गराउने अनुमान गरिएकोमा १ सय ५६ जनाले जाँच गराए । तर, गाउँकै स्वास्थ्य संस्थामा भने जम्मा २२ जना सुत्केरी भएका थिए । गर्भवती जाँच गरे पनि गाउँको बर्थिङ सेन्टरमा विश्वास नगरी सहरै झर्ने गरिएको तर यहीँ पनि सेवा प्रदान गर्न सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?