+
+

हेटौंडामा प्रादेशिक कृषि थोक बजार तयार, सञ्चालन कार्यविधि बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १९:५५

२४ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा प्रादेशिक कृषि थोक बजार निर्माण भए पनि कार्यविधि नबन्दा सञ्चालन हुन सकेको छैन ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय सञ्चालन मोडालिटी टुुंग्याएर कार्यविधि बनाउने तयारीमा छ । सोमबार आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजारको स्थलगत निरीक्षण गर्दै एक महिनाभित्र बजार सञ्चालन गरिसक्न निर्देशन दिए । ‘समयै सञ्चालन हुनुपर्छ । एक महिनाभित्र चलेको खबर पाउनुपर्छ’, उनले भने ।

थोक बजारको भौतिक संरचना तयार भएसँगै कार्यविधि निर्माणमा जुटेको मन्त्रालयका सचिव विनोद भट्टराईले बताए । भवन हस्तान्तरण हुनु अघि कार्यविधि बनाइसक्ने योजना हेरिरहेको मन्त्रालय मातहतको कृषि विकास निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठले बताए ।

हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले कार्यविधि बनेपछि यो थोक बजार उपमहानगरपालिकाले सञ्चालन गर्ने बताए । प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाबीच यसअघि नै थोक बजार निर्माणको सम्झौता भएर सञ्चालनको जिम्मा कार्यालयले लिने सहमति भएको थियो ।

प्रदेश सरकारले ७०/३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोक बजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरेको हो ।

सम्झौताको एक वर्षपछि थोक बजार निर्माण थालिएको थियो । थोकबजार निर्माणका लागि अनक/माउण्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार ७ सय ८७ रुपैयाँमा ठेक्का पाएको थियो ।

९ जेठ २०७८ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा थियो । ७ महिना म्याद थप भएकाले ८ मंसिरसम्ममा काम सम्पन्न गरिसक्नुपर्नेछ । कृषि विकास निर्देशनालय बागमती प्रदेशले कृषि थोक बजारको भौतिक प्रगति ९६ प्रतिशत भएको जानकारी दिएको छ । सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै गर्न बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्सिनाले जानकारी दिए ।

प्राविधिक मूल्यांकनमा सडक कालोपत्रे नभएकाले निर्देशनालयले सडक निर्माणका लागि ठेक्का खुलाउने तयारी गरेको छ ।

थोक बजार निर्माणको गत असारसम्म वित्तीय प्रगति ८६ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ । निर्माण कम्पनीलाई २६ करोड ५५ लाख ३५ हजार ९ सय ९६ रुपैयाँ गत असारमै भुक्तानी भएर थप २ करोड भन्दा बढीको भुक्तानीको चरणमा रहेको निर्देशनालयले जानकारी दिएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा बागमती सरकारले थोक बजारका लागि ४ करोड विनियोजन गरेको छ ।

थोक बजार निर्माणका लागि हेटौंडा उपमहानगरले तत्कालीन समयमा थानाभर्‍याङस्थित राप्ति पुल नजिकैको जग्गामा रहेका ५८ वटा घर/टहरा हटाएको थियो । जग्गा खाली गरेपछि १८ असार २०७८ मा बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र उपमहानगरका मेयर हरिबहादुर महतले शिलान्यास गरेका थिए ।

दुई तले भवनमा ६३ वटा सटर

थोक बजारमा होलसेल मार्केट, रिटेल (खुद्रा) मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना हुने सबइन्जिनियर तिम्सिनाले बताए ।

बजारको होलसेल मार्केटमा ४० वटा सटर र रिटेल मार्केटमा २३ वटा सटर रहेको छ । भवनमा अण्डरग्राउण्ड पार्किङको पनि सुविधा छ । एउटै भवनमा दुई वटासम्म लिफ्ट रहेका छन् ।

‘यो अन्तर्राष्ट्रिय मापदण्डअनुसार थोक बजार निर्माण गरिएको छ । व्यवस्थित तवरले चलाउँछौं’, मन्त्रालयका सचिव भट्टराई भन्छन् ।

भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य यहाँबाट गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?