
२४ भदौ, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनी सुपर स्टोरले पोखराको तालचोकमा आफ्नो २८औं स्टोर स्थापना गर्ने भएको छ ।
पोखरा न्युरोडमा भाटभटेनीको स्टोर सञ्चालनमा छ । अब भने तालचोकमा दोस्रो स्टोर स्थापना हुन लागेको हो । भाटभटेनीको यो २८औं स्टोर हुनेछ ।
भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी श्रीमती सावित्रीले तालचोकमा निर्माण हुने स्टोरको भूमिपूजा गरे । आगामी एक वर्षभित्र तयार हुने तालचोकको स्टोरले १२ रोपनी क्षेत्रफल ओगट्ने भाटमटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए ।
उनका अनुसार तालचोकको स्टोर सात तला अग्लो हुनेछ भने यसले सवा २ लाख वर्गफिट क्षेत्रफल ओगट्ने छ । जसमा दुई तला बेसमेन्ट पार्किङ हुनेछ ।
भाटभटेनी ग्रुपका अनुसार यो स्टोरले ५ सय जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने छ । त्यसपछि भाटभटेनी स्टोरमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या ७ हजार पुग्ने छ । तालचोक स्टोरमा सिनेमा हलदेखि रेस्टुरेन्ट लगायत सुविधा पनि उपलब्ध हुनेछ ।
गुरुङले चार दशकअघि काठमाडौं भाटभटेनी मन्दिर छेउबाट दुइटा कोठा भाडामा लिएर सुरु गरेको ‘भाटभटेनी सुपर स्टोर’ ले खुद्रा व्यापारमा देशव्यापी सञ्जाल बनाएको छ ।
प्रतिक्रिया 4