+
+
फलोअप :

आशिष देउलाले नकाबभित्र लुकाएको अपराध

अरु बेला सामान्य देखिने आशिष देउलाले कसरी हुलिया परिवर्तन गर्दै कठोर अपराधसम्मको बाटो समाउन पुगे ?

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ २४ गते २०:५०

२४ भदौ, काठमाडौं । एक युवक आफ्नो कम्पनीको व्यावसायिक काममा सहभागी हुँदा उनको परिचय एउटा हुन्छ । जब कम्पनीको काम सकिन्छ, त्यसपछि उनको परिचयसँगै हुलिया पनि बदलिन्छ ।

इमान्दार र सफल व्यवसायी देखिएका ती युवा एकाएक ‘सुगर ड्याडी’ को रूपमा देखिन थाल्छन् । सञ्जालमा पोस्ट गरेका तस्वीर, भिडिओमा पैसाको बिटो छरपस्ट देखिन्छ । युवतीसँगका तस्वीर र नाइट क्बलमा गरिएका रोमान्स बाहेकका दृश्य उनले शेयर नै गर्दैनन् । टिकटकदेखि इन्स्टाग्रामसम्मको आईडीको नाम नै सुगर ड्याडी राखेका छन्।

अरू बेला सामान्य देखिए पनि सुगर ड्याडी बन्दा उनको हुलिया परिवर्तन हुन्छ । तालु खुइलिएको, अनुहार चाउरिएको वृद्ध पुरुष देखिने नकाब लगाएपछि उनी सुगर ड्याडी बन्छन् । उनको वरपर युवायुवतीको भीड हुन्छ ।

सुगर ड्याडी बन्न उनलाई त्यो मुखुन्डो अनिवार्य चाहिन्छ । ‘मुखुन्डो नलगाई सुगर ड्याडी बने भने मलाई सबैले चिन्छन् । यसले मेरो व्यवसायमा नोक्सान गर्छ’ ती सुगर ड्याडीले अनलाइनखबरको जिज्ञासामा प्रतिक्रिया दिए ।

यी व्यक्ति हुन्, ‘सुगर ड्याडी’ उर्फ आशिष देउला । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ घर भएका देउला ६ दिनदेखि जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा छन् । सुगर ड्याडीको अनुसन्धान गरेका प्रहरी उनको क्रियाकलाप र बयानले अचम्मित छन् ।

देउलाले एक युवकलाई तातो आइरन र रडले नाङ्गो शरीरमा डामेर चरम यातना दिएका थिए ।

घटना ७ भदौको हो । सापटी लगेको रकम फिर्ता माग्दै फोन गरेर टेकु दोभान बोलाइएपछि एक युवक साँझपख टेकु दोभान पुग्छन् ।

त्यसपछि उनलाई अपहरणको शैलीमा गाडीमा हालिन्छ । आफूहरू सादा पोशाकको प्रहरी भएको बताउँदै लगनटोल स्थित एक घरभित्र लगिन्छ । त्यहाँ देउलाले पर्खाल प्वाल पार्ने ड्रिल मेसिन निकाल्छन् र ती युवकलाई सोध्छन् – ड्रिल हानौं कि आइरन घोटौं ?

बाध्य भएर ती युवाले आइरन रोज्छन् । नाङ्गो शरीरमा तातो आइरनले पोलिन्छ । मलद्वारमा लट्ठी घुसार्दै करिब ३ घण्टासम्म चरम यातना दिएपछि ती युवालाई छाडिन्छ । यसरी चरम यातना दिएर आनन्द लिएका देउलाबारे अहिले अनुसन्धान जारी छ ।

किन उनी यति क्रुर बने भन्नेबारे प्रहरीले समेत यथार्थ पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारी भन्छन्, ‘उनमा मानसिक समस्या देखिन्छ । कहिले राम्रै कुरा गर्छन्, कहिले अलि अपत्यारिलो कुरा गर्छन् ।’

अपराध अनुसन्धानमा लामो समयसम्म काम गरेर अवकाश भएका नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यस्तो प्रकृतिको अपराधमा मुख्यगरी दुई कुराहरू जोडिएर आउने बताउँछन् । उनका अनुसार स्याडिस्ट (परपीडक) चरित्र र आवेशका कारण यस्तो अपराध हुने बताउँछन् ।

‘अरूको पीडामा रमाउने मान्छेलाई स्याडिस्ट भनिन्छ । कुनै रिसभाव नभएको व्यक्तिलाई नै पीडा पर्दा आनन्द लिनेहरू स्याडिस्ट हुन् । उनी यो वर्गमा पनि पर्न सक्छन् वा यो कुनै रिसको आवेशमा भएको घटना पनि हुन्छ’, मल्लले अनलाइनखबरसँग भने । तर आवेश प्रेरित घटना भएको अवस्थामा यो प्रकृतिको अपराधबाट अन्य व्यक्ति पीडित नहुनुपर्ने उनको बुझाइ छ ।

अरू कसैले सास्ती वा पीडा पाइरहेको देख्दा सामान्य मान्छेले उसको पीडा महसुस गर्दै यस्तो पीडा कसैलाई नपरोस् भन्ने कामना गर्छ वा त्यस्तो मनोभाव हुन्छ । तर देउलाको हकमा यो विषय फरक छ । प्रहरीका अनुसार उनी अरूको पीडामा खुसी हुन्छन् ।

‘यस्ता व्यक्तिहरू कि त अरूको पीडा नै महसुस नगर्ने हुन्छन् वा अर्कालाई पीडा दिँदा आनन्द लिने खालका हुन्छन्,’ त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक सगुनबल्लभ पन्त भन्छन् । अर्कालाई पीडा दिँदा यस्ता व्यक्तिहरूले आफूमाथि कुनै खतरा नै महसुस नगर्ने पन्तको बुझाइ छ ।

विज्ञहरूका अनुसार स्याडिस्ट व्यक्तिहरू प्रायः कम्प्युटर, मोबाइलमा पनि हिंस्रक किसिमका विषयहरू नै हेर्न रुचाउँछन् । मनोरोगी र स्याडिस्ट विषय भने केही फरक छन् । मनोरोगीहरू भने निर्दोष व्यक्तिलाई सकेसम्म हानी पुर्‍याउँदैनन् । किनभने उनीहरूलाई स्याडिस्ट जस्तो त्यसबाट आनन्द मिल्दैन ।

देउलाको हकमा भने जाँच नगरी अहिले अनुमान मात्रै गर्न सकिने बताउँछन् मनोचिकित्सक पन्त । ‘अरूलाई पीडा दिँदा आनन्द लिने त भनिएको छ । त्यो कस्तो खालको आनन्द हो ? पीडा दिँदा यौन सन्तुष्टि मिल्ने हो कि अरू नै आनन्द हो कि,’ पन्तले भने, ‘जाँच नगरी अहिले नै यकिन गर्न गाह्रो हुन्छ ।’

देउलाले टिकटक आईडी, इन्स्टाग्राम र युट्युबमा समेत सुगर ड्याडीले मस्ती गरिएका भिडिओहरू मात्रै हाल्ने गरेका छन् । घरको कोठा, बेडभरी पैसा छरेर भिडिओ बनाउने, क्लब गएर मस्ती गरेका भिडिओ बनाएर उनले पोस्ट गर्ने गरेका छन् ।

देउलाले कतिपय बयान प्रहरी नै अचम्भित हुनेगरी दिएका छन् । उनी आफू मदिरा पिउँदै नपिउने दाबी गर्छन् । त्यतिमात्र होइन माछा मासु, अन्डा, चुरोट, चिल्लो, पिरो समेत नखाने दाबी गर्छन् । ‘मैले गर्ने भनेको अरूलाई खुवाउने हो त्यसमै म इन्जोय लिन्छु,’ देउलाले प्रहरी समक्ष दाबी गरेका छन् ।

सुगर ड्याडीबाट परिचित देउला धनाढ्य परिवारका व्यक्ति भएको खुलेको छ । काठमाडौंको बूढानीलकण्ठ घर भएका उनको काठमाडौंमै प्रशस्त जग्गा जमिन भएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । उनले यसरी फालाफाल गरेर खर्च गर्ने रकम जग्गा बेचेर जुटाउने गरेको बताएका छन् ।

कोभिडको समयमा बाबु बितेको र त्यसपछि बाबुको व्यवसाय आफूले सम्हालेको देउलाको दाबी छ । उनका बाबु ठेक्कापट्टाको काम गर्थे, ६ कक्षा पढ्दादेखि नै बाबुसँग काम सिकेको र १२ कक्षासम्म पढेर छाडेको उनको बयान छ ।

अघिपछि ५/६ जना केटाहरू लिएर कारमा हिँड्ने सुगर ड्याडीको भनाइ र यातना दिएर आनन्द लिने बानीबाट उनी असन्तुलित व्यक्ति भएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘बयान पनि अचम्भित पार्ने खालको छ । अपराध त्यस्तै डरलाग्दो छ । मानसिक रूपमा उनी असन्तुलित जस्तो देखिन्छ,’ परिसरका एक अधिकारीले भने ।

देउलाले एक युवकलाई कोठा लगेर बन्धक बनाई शरीरमा आइरन दलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । अहिले अर्का एक युवालाई पनि यस्तै गरी यातना दिएको भन्दै ती व्यक्तिले प्रहरी समक्ष मौखिक जानकारी गराएका छन् ।

पिटेर घाउ बनाएर घाउमा विभिन्न केमिकल हालेर यातना दिँदै मजा लिएको भन्ने मौखिक जानकारी आएको प्रहरी स्रोतले बताएको छ । पीडितको संख्या थप हुँदै गएकाले सुगर ड्याडीबाट थप व्यक्ति पीडित हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

अहिले पीडित भनिएका व्यक्तिलाई भने आफूले यातना नदिएको दाबी देउलाले गरेका छन् । तर उनीमाथि आरोप लगाउने व्यक्तिलाई भने देउलाले चिनेको बताएको प्रहरीको भनाइ छ ।

पीडित भनिएका युवाहरू पनि सुगर ड्याडीसँग क्लब जाने गरेको पाइएको छ । उनीहरूलाई पैसा र मदिरामा भुलाएर यातना दिँदै त्यसबाट उनले आनन्द लिने गरेको देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । अरू पनि पीडित थपिएकाले पूर्वडीआईजी मल्लले भनेजस्तो आवेश प्रेरित घटना हुनसक्ने सम्भावना भने न्यून देखिन्छ ।

यातना दिएको आरोपमा सुगर ड्याडीका साथ टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाइघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुगर ड्याडीले यातना दिने र त्यसको मतियार भएर अन्य व्यक्तिले काम गर्ने गरेको पाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पक्राउ परेका चारै जनाविरुद्ध परिसरले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाएको छ । यसक्रममा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ । उनीहरूबाट कोही पीडित भए सम्पर्कमा आउन पनि प्रहरीले अनुरोध गरेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?