+

ईडब्लुभिएल : काठमाडौं स्पाईकर्सको लोगो सार्वजनिक

२०८१ भदौ  २४ गते २२:३० २०८१ भदौ २४ गते २२:३०
ईडब्लुभिएल : काठमाडौं स्पाईकर्सको लोगो सार्वजनिक

२४ भदाै, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) का लागि काठमाडौं स्पाईकर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ ।

काठमाडौं शहरको प्रतिनिधित्व गर्दै टिम काठमाडौंले काठमाडौं स्पाईकर्स नाम राख्दै सोमबार आधिकारिक लोगो सार्वजनिक गरेको हो ।

नेपाली भलिबलको ईतिहासमा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लग आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुँदैछ ।

लिगमा राजधानी काठमाडौंको आफ्नै भलिबल टिम काठमाडौं स्पाइकर्सले देशका महिला खेलाडीहरूलाई प्रेरणा दिने र उनीहरूलाई बलियो बनाउने लक्ष्य लिएको काठमाडौं टिमले जनाएको छ ।

‘नेपालको राष्ट्रिय खेल भलिबलको इतिहासमा एउटा नयाँ अध्यायको सुरुवात गर्ने टिमले काठमाडौँ शहरको समृद्ध संस्कृति र आफ्नो सफलताको बलियो चाहना समेट्ने चिन्हको रूपमा टिमको लोगो सार्वजनिक गरेको हो।’ काठमाडौंले विज्ञप्तीमा भनेको छ ।

शरद कुमार टिबरेवालाको स्वामित्वमा रहेको काठमाडौं स्पाइकर्सले खेलकुदमा नेपाली महिलाहरूको सहभागितालाई बढाउने र खेल स्तरलाई अझै माथि उठाउने लक्ष्य राखेको छ ।

सार्वजनिक गरिएको लोगोमा काठमाडौं सहरको समृद्ध संस्कृतिलाई बुझाउने गोल्डेन, सिल्भर र कालो रंगको आकर्षक संयोजन गरिएको छ। लोगोको केन्द्रमा रहेको मन्दिरले शहरको अध्यात्मिक मूल र यसको गहिरो सांस्कृतिक विशेषताहरूलाई प्रतिनिधित्व गर्छ ।

मन्दिरको छेउमा मिड-स्पाइकमा रहेकी भलिबल खेलाडीलाई चित्रण गरिएको छ जसले काठमाडौँ स्पाइकर्सको बल, स्फूर्ति र सफलताको चाहनालाई मूर्त रूप दिन्छ । परम्परा र खेलाडीको कलाको यो मिश्रणले काठमाडौं र काठमाडौं स्पाइकर्स दुवैको भावना समेट्दै लोगोलाई टिमको वास्तविक पहिचान रूपमा उभ्याएको छ ।

काठमाडौं स्पाइकर्सका मालिक शरद कुमार टिबरेवालाले यो लोगो एउटा चिन्ह मात्र नभएर यसले आफूलाई यो स्थानमा देख्न चाहने धेरै महिलाहरूको सपना र इच्छालाई समेत प्रतिनिधित्व गर्ने बताएका छन् । उनले नेपालमा भलिबल प्रतिको माया बढाउन आफूहरु  लागि परेको बताए ।

यस्तै काठमाडौं स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले लोगो सार्वजनिक भएपछि उत्साहित हुँदै काठमाडौँ स्पाइकर्स टिम नेपाली युवा महिलाहरूलाई प्रेरणा दिने यात्रामामा पाइला चालेको र प्रभाव छाड्का लागि आफूहरु आएको बताइन् ।

उनले भलिबल राष्ट्रिय खेल मात्र नभई नेपालीको एकता र बलको चिन्ह पनि भएको बताए ।

एभरेष्ट वुमन्स भलिबल लिगमा काठमाडौं स्पाईकर्सको मार्की प्लेअरमा राष्ट्रिय टिमकी सदस्य उषा भण्डारी छिन् भने राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक जगदिश भट्ट काठमाडौं स्पाईकर्सको प्रशिक्षक छन् ।

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय