+
+

धनगढीमा युवकमाथि कुटपिट गरे, डोटी पुगेर वृद्धको हत्या गरे

जनक विष्ट जनक विष्ट
२०८१ भदौ २५ गते १२:३०

२५ भदौ, धनगढी । डोटीमा वृद्धको हत्या आरोपमा कैलालीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपायलको सिलगढी नगरपालिका–६ सिलगढीका २२ वर्षीय सरोवर श्रेष्ठ छन् ।

सिलगढीमै बस्ने ७५ वर्षीया कालुसिंह विष्ट गत बिहीबार घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा शनिबार श्रेष्ठलाई धनगढीबाट पक्राउ गरिएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।

श्रेष्ठविरुद्ध मृतकका परिवारले दिएको किटानी जाहेरीका आधार कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको उनले बताए । उनकाअनुसार श्रेष्ठले बयानका क्रममा बिष्टको हत्या गरेको कुरा स्वीकारेका छन् ।

अदालतबाट ८ दिनको म्याद थप गरेर श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ ।

धनगढीमा कुटपिट गरेर डोटीमा हत्या

लागुऔषध प्रयोगकर्तासमेत रहेका श्रेष्ठले धनगढीमा एक जनालाई कुटपिट गरेपछि डोटी पुगेर हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले गत ११ भदौको राति धनगढीको उत्तरबेहडीमा सडकमा ढलेको अवस्थामा बेहोस भेटिएका भजनी नगरपालिका– १ का ३५ वर्षीय लालबहादुर चौधरीको उद्धार गरेको थियो ।

अनुसन्धानका क्रममा चौधरीलाई श्रेष्ठसहितका दुई जनाले सडकमा हिँडिरहेको बेला कुटपिट गरी लुटपाट गरेर भागेको खुलेको प्रहरीले जनाएको छ । सोही मोबाइलका आधारमा कैलाली प्रहरीले श्रेष्ठको खोजी गरिरहेको थियो ।

त्यही बेला डोटी प्रहरीले समेत वृद्धको हत्या भएको घटनामा अनुसन्धानमा सघाउन अनुरोध गरेको थियो । त्यस क्रममा डोटी प्रहरीले उपलब्ध गराएको विवरण कैलाली प्रहरीको खोजीको सूचनामा रहेका श्रेष्ठसँग मिलेको थियो ।

श्रेष्ठले प्रयोग गरिरहेको मोबाइल नम्बर अफ भए पनि शंकास्पद सबै ठाउँमा प्रहरी परिचालन गरिएको थियो । शनिबार राति भने उनी सेती प्रादेशिक अस्पतालभित्र सुतिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले श्रेष्ठलाई आइतबार डोटी पठाइएको बताए ।

चरेस नदिएपछि हत्या

धनगढीमा भजनीका लालबहादुर चौधरीमाथि कुटपिट गरेर भागेका श्रेष्ठले चरेस नदिएपछि डोटीका कालुसिंह विष्टको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । विष्टसँग चरेस रहेको थाहा पाएपछि उनको घरमा पुगेको श्रेष्ठले बताएका छन् ।

‘उहाँ (मृतक) लाई मैले ५/६ चुरोटका लागि पुग्नेगरि चरेस दिनुहोस् भनेको थिए । पहिले पैसा देऊ भन्नुभयो,’ उनको बयान उद्दृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘होइन भने म प्रहरी बोलाउँछु भनेको थिए । त्यही बेला उहाँले मलाई लाठीले हान्नुभयो । रिस उठेर मैले पनि घाँटीमा हिर्काएर ढालेको थिएँ ।’

घाँटीमा मुक्काले प्रहार गर्दै ढलेपछि लात्ताले कुटपिट गर्दागर्दै वृद्धको मृत्यु भएको श्रेष्ठले बताएका छन् । त्यसपछि विष्टको कोठा बाहिरबाट ताल्छा लगाएर भागेर कैलाली आएको बयान श्रेष्ठले दिएका छन् ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले श्रेष्ठले धनगढीमा चौधरीमाथि कुटपिट गरि डोटी पुगेर वृद्धको हत्या गरेको हुनसक्ने बताए । उनीमाथि डोटीमा कर्तव्य ज्यान र कैलालीमा ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता भएकाले अनुसन्धानपछि धेरै कुरा खुल्ने उनी बताउँछन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?