+
+

धनराज गुरुङको चुनौती : ममाथि संसदीय छानबिन गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १४:१६

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ज्योतिसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै कांग्रेस नेता धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका थिए ।

गुरुङले भने आफू छानबिनका लागि तयार रहेको बताए । ‘संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ’, उनले भने ।

विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि कुनै छानबिन गर्न माग गरे । ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु’, उनले भने ।

अहिले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको गुरुङले बताए ।

ज्योति गुरुङसँग सम्बन्ध राम्रो नभएपछि सम्बन्धबिच्छेद गरेको र १० वर्षको बच्चा आफैंले हुर्काएको भन्दै गुरुङले यो सम्बन्धविच्छेद नक्कली भन्ने रास्वपा सांसद पराजुलीको भनाइको खण्डन गरे । ‘जसले नक्कली कुरा गर्छ, त्यसले अरुलाई नक्कली देख्नु स्वभाविकै हो’, उनले उक्त सम्बन्धबिच्छेदलाई नक्कली प्रमाणित गर्न चुनौती दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?