+
+

‘दशैं भन्दा लिग २ का ८ खेल महत्वपूर्ण’

मेरो लागि दशै ५ विकेट हो– सोमपाल कामी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १४:५४

२५ भदौ, काठमाडौं – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले दशैं भन्दा आफ्नो लागि आईसिसी विश्वकप लिग-२ का ८ खेल महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान) ले आईसिसी विश्वकप लिग-२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न क्यानडा र अमेरिका जान लागेको नेपाली टोलीलाई मंगलबार बिदाइ गरेको छ । नेपाली टोली मंगलबार राति २ बजे त्यसतर्फ जानेछ ।

क्यानडामा नेपालले १६ सेप्टेम्बरदेखि २६ सम्म आईसिसी विश्वकप लिग-२ खेल्नेछ । नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग २ का दुई खेल खेल्नेछ ।

त्यसपछि २८ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । त्यसपछि नेपाल अमेरिका भ्रमणमा जानेछ ।

क्यानडामा खेल सकिएको दुई हप्तापछि अमेरिकामा सुरु हुनेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक टी-२० आई सिरिज र लिग २ दुबै खेल्नेछ । त्यसैले असोज २६ मा दशैंमा नेपालका खेलाडी बाहिर हुनेछन् । सोमपाल दशैं भन्दा देशका लागि लिग २ का खेल महत्वपूर्ण बताउँछन् ।

‘मेरो लागि दशैं ५ विकेट हो । म आशा गर्छु त्यो मिस नहोस् । किनभने लिग २ को नतिजा हाम्रो लागि एकदमै महत्वपूर्ण छ । क्यानडा र अमेरिकामा हुने ८ खेल त्यो महत्वपूर्ण हो । दशैं हरेक वर्ष आउँछ’, सोमपालले भने ।

नेपालले राम्रो गर्न सके आफू र परिवार दुबै खुसी हुने उनले बताए ।

‘एउटा अनुभवी खेलाडीको रुपमा मेरो लागि त्यो महत्वपूर्ण छ । जब हामीले जित्छौं तब मेरो र परिवारको दशैं त्यसै राम्रो हुन्छ । हाम्रो दशैं हरेक महिना र दुई वर्षको रुपमा पनि आउन सक्छ’, उनले भने । गतवर्ष नेपालले एसिया कप खेल्नु, विश्वकप छनोट हुनु र विश्वकप खेल्नु आफ्नो दशैं भएको बताउँछन् ।

नेपालले आईसीसी विश्वकप लिग २ २०२४/२६ को पहिलो सिरिज गत फेब्रुअरीमा घरेलु मैदान टियुमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । नेपाल नामिबियासँग ४ विकेट र २ विकेटले पराजित भएको थियो ।

त्यस्तै नेदरल्यान्ड्सलाई एउटा खेलमा ९ विकेटले हराउँदा अर्कोमा ८ विकेटको हार व्यहोरेको थियो । ८ टोली सहभागी लिग २ आगामी २०२६ डिसेम्बरसम्म चल्नेछ । शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्दा अन्य टोलीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

‘यो सुरुवात मात्रै हो । आईसीसी विश्वकप लिग–२ मा हामी अब क्यानडा र अमेरिका गएर खेल्न लागेको हुँदा एकदमै उत्साहित छौं । लामो समयपछि हामी ओडीआई खेल खेल्न जान लागेका छौं’, सोमपालले भने ।

नेपालले फेब्रअुरीमा नेदरल्यान्ड्ससँग लिग २ मा नै खेलेपछि फेरि ओडीआई खेल खेलेको थिएन । नेपाल टी-२० विश्वकप तयारीमा लागेको थियो । विश्वकपमा अन्तिम खेल १६ जुनमा बंगलादेशविरुद्ध खेलेपछि पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दैछ । यद्यपि नेपालले भारतको बेंगलोरमा र श्रीलंकामा गएर अभ्यास भने गरेको थियो । श्रीलंका भ्रमणमा श्रीलंका डेभलपमेन्टसँग खेल्दै नेपाल ५ विकेटले पराजित भएको छ ।

स्पिनर सन्दीप लामिछाने एसिया कप २०२३ मा भारतविरुद्ध खेलपछि ओडीआईमा फर्किएका छन् । त्यसअघि एक युवतीलाई बलात्कार गरेको आरोपमा टोली बाहिर हुनुपरेको थियो । सन्दीप म्याचविनर भएको सोमपाल बताउँछन् ।

‘पक्कै पनि सन्दीपले हाम्रो लागि म्याचविनरको काम पनि गरेको छ । पछिल्लो वर्ष नेपालको सफलतामा सन्दीपको ठूलो हात थियो । एकदमै खुसी छु । विगतमा एकदमै नराम्रो र मानसिक रुपमा धेरै टेन्सन थियो । अहिले एकदमै खुसी लाग्छ हाँस्दा र देख्दा’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?