+

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

२०८१ भदौ  २५ गते १६:४६ २०८१ भदौ २५ गते १६:४६
बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

क्यान्सर गम्भीर रोगमध्ये एक हो । यसले कुनै पनि उमेर र लिङ्गका मानिसलाई असर गर्न सक्छ । तर  बालबालिकामा क्यान्सर वयस्क र वृद्धको तुलनामा कम हुन्छ । यही कारणले गर्दा बालबालिकामा क्यान्सरका केही प्रारम्भिक लक्षण देखिएपछि अभिभावकहरूले त्यसलाई सामान्य मानेर बेवास्ता गर्छन् । समस्या बढेपछि यसले जटिलता निम्ताउन सक्छ ।

बालबालिकामा क्यान्सर हुने यकिन कारण त पत्ता लागेको छैन । त्यसैले यसबाट बच्ने उपाय पनि छैन । बालबालिकामा क्यान्सर हुने जोखिमलाई कम गर्ने एक मात्र उपाय भनेको समयमा पहिचान र उपचार हो ।

बालबालिकामा देखापर्ने क्यान्सर

बालबालिकामा हुने विशेष क्यान्सर भनेको रक्त क्यान्सर, ब्रेन ट्युमर, आँखाको क्यान्सर, ओभरीको ट्युमर आदि हुन् । अन्य क्यान्सर सबै मानिसमा उस्तै हुन्छ । बालबालिकामा देखापर्ने यी क्यान्सरको सम्पूर्ण उपचार अहिले नेपालमा नै उपलब्ध छ ।

क्यान्सर लाग्नु भनेको शरीरमा आवश्यक भन्दा बढी मात्रामा कोषको वृद्धि हुनु हो । जसले गर्दा ती कोषिकाहरुले शरीरमा राम्रोसँग काम गर्न सक्दैनन् । त्यसले नजिकका कोष र शरीरलाई हानि गर्छ ।  कतिपय अवस्थामा त निकै जटिल भएर मानिसको ज्यान नै जान सक्छ ।

बालबालिकामा क्यान्सरको लक्षण

ज्वरो र टाउको दुखाइ

बालबालिकालाई ज्वरो आउनु सामान्य कुरा हो । तर ज्वरो निको हुँदैन र बारम्बार दोहोरी रहन्छ भने सचेत हुन जरुरी छ । बारम्बार टाउको दुख्नु पनि बालबालिकामा क्यान्सरको लक्षण हुनसक्छ । यस्तो अवस्थामा सबै प्रारम्भिक लक्षणमा ध्यान दिनुपर्छ र तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ ।

गाँठो देखापर्ने

यदि बच्चाको शरीरमा असामान्य गाँठो महसुस हुन्छ भने यो लक्षणलाई बेवास्ता गर्नु हुँदैन । गाँठो आउनु क्यान्सरको लक्षण हुनसक्छ । यो गाँठो पीडारहित पनि हुनसक्छ । यस्तो गाँठो देखिएमा पनि त्यसको परीक्षण गर्नुपर्छ ।

ऊर्जा कम हुने

बच्चा धेरै सक्रिय हुन्छन् र खेल्न मन पराउँछन् । तर यदि बच्चा थकित र कमजोर महसुस गर्छ, अल्छी मानेर दिनभर बसिरहन्छ भने यो अवस्थालाई बेवास्ता गर्नु हुँदैन । शरीरमा ऊर्जाको कमी हुनु पनि क्यान्सरको लक्षण हुनसक्छ तर हरेक पटक क्यान्सर नै होस् भन्ने जरुरी छैन । अन्य कारणले पनि बालबालिकालाई कमजोरी र थकान महसुस हुनसक्छ ।

रगत बग्ने, निलो डाम देखापर्ने

कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखा पर्छ । शरीरमा रगतको कमी भएर सेतो, पहेंलो हुने, कमजोर हुने जस्ता लक्षण हुनसक्छन् ।

तौल कम हुने

तौल लगातार घट्दै गइरहेको छ भने यो क्यान्सरको लक्षण हुनसक्छ । त्यसैले बच्चाको तौल लगातार घट्दै गइरहेको छ भने यो संकेतलाई बेवास्ता गर्नु हुँदैन ।

क्यान्सरको पहिचान नै ढिलो हुनुको कारण के हो ?

वयस्क र वृद्धको तुलनामा बालबालिकाको क्यान्सर कम मात्रामा देखिने भएकाले सबैभन्दा पहिले अभिभावकलाई लक्षण पहिचान गर्न नै गाह्रो पर्छ । अन्य कुनै स्वास्थ्य समस्या लिएर अस्पताल पुग्दा पनि त्यहाँ पनि चिकित्सकले क्यान्सरको पहिचान गर्न धेरै परीक्षण गर्नुपर्छ । त्यसैले पनि पहिचान ढिलो हुन्छ । धेरैजसो क्यान्सरको नमुना परीक्षण नेपालमा नहुने भएकाले पनि पहिचानमा ढिलाइ भएको हुनसक्छ ।

यस्तोमा अभिभावक तथा स्वास्थ्यकर्मीहरुले अलि असाधारण किसिमको लक्षण देखेमा क्यान्सर रोग विशेषज्ञको सहयोगमा परीक्षण गर्नुपर्छ ।

उपचारपछि पूर्ण रुपमा निको हुन्छ ?

बढी उमेर भएका क्यान्सर रोगीको तुलनामा बालबालिकामा हुने क्यान्सरको समयमा उपचार गर्दा निको हुने सम्भावना धेरै हुन्छ । विकसित देशहरूमा बाल क्यान्सर ९० प्रतिशतसम्म सफल उपचार हुन्छ भने नेपालमा पनि ७० प्रतिशतको सफल उपचार भएको छ ।

केही बालबालिकामा क्यान्सर दोहोरिने सम्भावना पनि हुन्छ । बच्चामा कस्तो किसिमको क्यान्सर भएको हो । उपचार कुन स्टेजमा भएको हो भन्ने कुराले यो फेरि दोहोरिन्छ कि दोहोरिंदैन भन्ने कुरा भर पर्छ ।

उपचारपछि पनि जीवनभर औषधि सेवन गर्नुपर्छ ?

क्यान्सरको उपचार लामो हुन्छ । रगतको क्यान्सर (ल्युकेमिया)को उपचार साढे दुई वर्ष चल्छ । उपचारपछि पनि पाँच वर्षसम्म चिकित्सकको निगरानीमा बस्नुपर्छ ।

रक्त क्यान्सर (सीएमएल)को औषधि भने जीवनभर नै खानुपर्ने हुन्छ । सबै क्यान्सरमा जीवनभर औषधि खानु पर्दैन । केही क्यान्सरमा भने जीवनभर नै औषधि खानुपर्छ । नेपालमा सीएमएलको औषधि निःशुल्क पाइन्छ ।

उपचार सकिएपछि पनि केही समस्या देखिए तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । साथै समय-समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. सुचारिता तुलाधर बाल क्यान्सर बालरोग
डा. सुचरिता तुलाधर
लेखक
डा. सुचरिता तुलाधर
बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट

डा. तुलाधर हाल ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक र पाटन अस्पतालमा बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्टको रुपमा कार्यरत छिन् । उनले पेडियाट्रिक्स एमडी, पेडियाट्रिक हेमाटोलोजी र ओन्कोलोजीमा फेलोसिप गरेकी छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६४७२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?