+
+

‘मीन भामसँग काम गर्नु मेरो सपना, सपना पूरा गरेको पैसा लिन्नँ’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १६:२३

काठमाडौं । बलिउड स्टार नवाजुद्दिन सिद्दिकीको काठमाडौं यात्रा भव्य रह्यो । विमानस्थलदेखि ‘शाम्बाला’को प्रिमियर हुँदै मण्डला नाटकघरमा जुन क्रेज देखियो, यसले नेपालमा उनको लोभलाग्दो फ्यान फलोइङलाई दर्शाउँछ ।

उनको एक झल्को पाउन मण्डलाअघि फ्यान घण्टौंदेखि उभिए । हल भरिएपछि सयौं फ्यान आफ्ना सुपरस्टारलाई नभेटिकन घर फर्किए । यसप्रति मण्डलाले मंगलबार विज्ञप्ति जारी गर्दै माफी पनि मागेको छ ।

मण्डलामा एक घण्टा चलेको अन्तरक्रियामा उनले सहभागीहरुको जिज्ञासा शान्त पारे । स्टेजमा निर्देशक मीन भाम र अभिनेता दयाहाङ राईसँगै सहभागी नवाजुद्दीनलाई फिल्म समीक्षक यज्ञशले सहजीकरण गरे । दर्शकदीर्घामा सहभागी चल्तीका नेपाली कलाकारदेखि अभिनयका विद्यार्थीले समेत प्रश्न वर्षाए ।

निर्देशक भामले हालैको बर्लिन फिल्म फेस्टिभलमा सिद्दिकीसँगको संवाद सम्झिए । फेस्टिभलमा पहिलोपटक भाम र सिद्दिकीबीच भेट भएको थियो । सिद्दिकीले भाम निर्देशित ‘शाम्बाला’ हेरे । त्यसपछि भामले उनलाई फिल्मको नेपाल प्रिमियरका लागि निम्तो दिए ।

सिद्दिकीले आफ्नो फिल्म पनि खेल्ने र पैसा नलिने प्रतिबद्धता जनाएको स्मरण भामले (हाँस्दै) गरे । जवाफमा सिद्दिकीले मीनसँग कलात्मक फिल्ममा काम गर्नु आफ्नो सपना रहेको बताए । ‘सपना पूरा गरेको पैसा म लिन्नँ । पैसा कमाउन त मसँग कमर्सियल फिल्महरु टन्न छँदै छन् नि,’ सिद्दिकीले पनि हाँस्दै जवाफ दिए ।

भामले त्यसपछि भने, ‘उसो भए फिल्म खेलेर मलाई १० मिलियन डलर दिनुस् ।’

उनीहरुको यो हाँसोभित्र कटाक्ष वा यथार्थ लुकेको छ, त्यो उनीहरुले नै जानुन् । तर यी दुईबीच निकट भविष्यमा हुनसक्ने सहकार्यको संकेत भने उनीहरुले दिएका छन् ।

सिद्दिकले भामलाई साहसी फिल्ममेकरको रुपमा प्रशंसा गरे । उनले भने, ‘मलाई सधैं लाग्छ कि म यसप्रकारका फिल्म गरुँ । बलिउडमा यस्ता खालका फिल्म निकै कम बन्छन् । पाँच वर्षमा कहिलेकाहीं यस्ता फिल्म आउने गर्छन् । यसका लागि पनि ठूलो साहस चाहिन्छ । त्यो साहस निश्चय नै मीनमा छ ।’

उनले पछिल्लो समय नेपाली फिल्मको माहोल राम्रो बनेको बताए । ‘सहरमा यस्ता केही मान्छे पनि आउँछन् जसले केही सिनेमा र कलाको माध्यमलाई त्यो उचाइमा लैजान्छन् । यसको कारण एउटा माहोल बन्छ’ सिद्दिकीले भने, ‘मीनको कारणले केही राम्रा मान्छे आउँछन्, राम्रा निर्देशक आउँछन् । एक्टर्स आउँछन् । माहोल राम्रो बन्छ । म आशा गर्छु कि नेपाली फिल्मलाई विश्व स्तरमा लैजान यी राम्रा मान्छेको ठूलो हात छ ।’

‘शाम्बाला’ आफूले कल्पना गरेजस्तै सुन्दर फिल्म रहेको उनको भनाइ छ । ‘यदि राम्रो अभिनेता बन्न चाहनुहुन्छ भने शाम्बाला हेर्न सल्लाह छ । यो कलात्मक फिल्म बनेको छ । यसलाई छुटाउन हुँदैन,’ उनले भने ।

उनले आफू जहाँ भएपनि अभिनयलाई निरन्तरता दिने बताए । ‘यदि म फिल्ममा नभएको भए थिएटरमा हुन्थें होला । त्यहाँ पनि नभएको एक समूह बनाएर नाटक गरिरहेको हुन्थें होला’ सिद्दिकीले भने, ‘त्यो पनि नभएको भए सडक, बस रेलमा कतै न कतै एक्टिङ नै गरिरहेको हुन्थें होला । यो बाहेक मसँग उपाय थिएन ।’

उनले बायोपिक फिल्मबारे पनि चर्चा गरे । ‘बायोपिक फिल्म गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । मिमिक्री गरेजस्तो मात्र नहोस्,’ उनले भने । आफूले बालासाहेब ठाकरेको आवाज बनाउन धेरै महिनासम्म हार्मोनियममा सुर लगाएर सिकेको बताए ।

अन्तरक्रियामा निर्देशक भामलाई दयाहाङसँग कहिले सहकार्य गर्ने भनेर सोधियो । ‘शाम्बाला’मा दयाहाङलाई अप्रोच गरिएको तर लेक लाग्ने समस्याले उनले फिल्म नगरेको भामले बताए ।

दयाहाङले यसको जवाफ दिंदै ‘शाम्बाला’ हेरेपछि आफूले यो भूमिका गर्न नसक्ने रहेछु भन्ने लागेको बताए । ‘कलाकारले लोभ मात्र गरेर हुँदैन,’ उनले भने ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?