+
+

काठमाडौंमा बेचिने ३ कम्पनीका जारको पानीमा भेटियो कोलिफर्म

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १३:३६

२५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रयोग हुने जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ ।

महानगरपालिकाले गरेको परीक्षणमा तीन वटा कम्पनीका जारको पानीमा कोलिफर्म भेटिएको हो ।

महानगरले १० वटा कम्पनीको जारको पानी दुई चरणमा परीक्षण गर्दा तीन वटा कम्पनीको उत्पादनमा कोलिफर्म भेटिएको हो ।

पछिल्लो पटक महानगरले १८ भदौमा पिउनका लागि प्रयोग हुने ५ वटा कम्पनीको जारको पानी परीक्षणका लागि नमूना काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रयोगशालामा पठाएको थियो ।

५ वटा कम्पनीको पानी परीक्षण गर्दा ‘एक्वा पिस’ र ‘एक्वा टोखा’ कम्पनीहरूले उत्पादन गरेको जारको पानीमा कोलिफर्म भेटिएको महानगरले जनाएको छ ।

‘हामीले एक पटकमा ५ कम्पनीले उत्पादन गर्ने पानीको नमूना परीक्षणका लागि ल्याबमा पठाउने गर्छौं । जसमध्ये एउटा कम्पनीको जारको पानीमा कोलिफर्म भेटिएको हो । दोस्रो चरणमा पठाइएको ५ कम्पनी मध्ये २ कम्पनीले उत्पादन गर्ने पानीमा कोलिफर्म भेटिएको हो,’ महानगरका अनुगमन निरिक्षक डा. अवधेश झाले भने ।

रिर्पोट अनुसार एक्वा पिस जार कम्पनीमा प्रतिसय मिलिलिटरमा ८० फोकल कोलिफर्म देखिएको हो भने एक्वा टोखामा ३० फेकल कोलिफर्म देखिएको हो ।

‘यो शून्य हुनुपर्ने हो तर जार कम्पनीहरूको लापरबाहीले यसमा कोलिफर्म देखिएको छ, स्वास्थ्यको दृष्टिकोणले यो अत्यन्तै जोखिमयूक्त हुन्छ,’ उनले भने ।

यसअघि महानगरले २५ साउनमा ५ वटा कम्पनीको जारको पानीलाई नमूना परीक्षणका लागि केयूकेएलको ल्याबमा पठाएको थियो ।

जसको ल्याब रिपोर्टमा एक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म देखिएको थियो । एक्वा त्रिदेवलाई महानगरले २ लाख रुपैयाँ जरिबाना गरेको थियो ।

महानगरका खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ ।

‘कोलिफर्म देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो । कोलिफर्म मान्छे वा पशुको दिशामा पाइन्छ,’ बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?