+
+

पोखरामा रवि लामिछाने : खोया प्रहारदेखि कालोझण्डासम्म

अमृत सुवेदी अमृत सुवेदी
२०८१ भदौ २५ गते २१:२७

२५ भदौ, पोखरा । आफूमाथि मकैको खोया प्रहार भएको ८ महिनापछि पोखरा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार सहकारी पीडितले कालोझण्डा देखाए ।

रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न उनी आउने जानकारी भएपछि बिहानैदेखि सूर्यदर्शन सहकारी पीडित कार्यक्रमस्थल बाहिर पम्लेट लिएर पुगेका थिए । उनीहरुले रवि कार्यक्रममा आउँदै गर्दा उनको संलग्नता रहेको जिकीर गर्दै नाराबाजीमात्रै गरेनन्, कालो झण्डा नै देखाए ।

यसअघि कालो झण्डा देखाउने व्यक्तिहरुलाई धरपकट गर्ने प्रहरीले मंगलबार भने उनीहरुलाई बल प्रयोग गरेन, कालो झण्डा खोसेन ।

प्रहरीको सुरक्षामा रवि कार्यक्रमस्थलमा छिरे । सबैलाई भेट्दै, प्रश्न सुन्दै सभा गर्न पुग्ने रवि कार्यक्रम हलमा मात्रै होइन पार्टी प्लालेसकै मुल गेट नै लगाएर सम्वोधन गर्ने स्थितिमा पुगेका हुन् ।

आफूविरुद्ध नाराबाजी र देखाइएको कालो झण्डा हेर्दै गाडीबाट सिधै कार्यक्रमस्थल पुगेका रविले बैठकमा सहकारीमा संलग्न भएको प्रमाणित भए अहिल्यै राजनीति छोडिदिने मात्रै दोहोर्‍याएनन्, पीडित आन्दोलनकारीमाथि पनि आक्रोश पोखे । उनले सहकारी पीडितले अरु राजनीतिक दलको उक्साहटमा आफूविरुद्ध आन्दोलन गरेको आरोप लगनाए ।

‘म कालो झण्डाबाट डराएको मान्छे होइन । खोयाबाट सुरु भएको यो काण्ड खोयामै गएर टुंगिन्छ भनेर मैले भनेको थिएँ । गलत मान्छेले नेतृत्व गर्दा पीडितहरुले न्याय पाउन सकेका छैनन्’, रविले बैठकमा भने, ‘जसले ठगेका छन्, उनीहरु बच्ने जो संलग्न छैन ऊ फस्ने । केही छैन प्रमाणित गरिदिनुस् ।’

रविकै प्रमुख भूमिकामा जीबी राईको लगानीमा खुलेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन सहकारीको पैसा गएको अनुसन्धानबाट खुलेको छ । यो घटनामा जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेविरुद्ध पनि पूरक जाहेरी परेको छ ।

सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले गृहमन्त्री हुँदा लामिछानेले सहकारी पीडितलाई न्याय दिलाउने वचन दिए पनि केही नगरेकाले पीडितहरु आक्रोशमा रहेको बताए ।

पोखराको सूर्यदर्शनबाट रविको नाममा लिएको एक करोड रुपैयाँ गोर्खा मिडियाको नाममा हिसाब मिलान गरिएको सार्वजनिक कागजातहरुबाट देखिएको छ ।

पोखरा महानगरपालिका, प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा विज्ञहरुले थप वित्तीय विश्लेषण गर्ने क्रममा रविको नाममा रहेको यो ऋण गत असारमा मात्र मिलाएको पाइएको छ ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने, माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए ।

त्यस्तै पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई पनि उक्त पूरक जाहेरीमा विपक्षी बनाइएको छ । कास्की प्रहरीले यो प्रकरणमा रवि लामिछानेसँग काठमाडौंमा गई बयानसमेत लिइसकेको छ । त्यो बयानमा पनि रविले आफू सहकारी ठगीमा संलग्न नभएको र प्रतिवेदनमा उल्लिखित रवि आफू नभएको दाबी गरेका छन् ।

उनी गृहमन्त्री हुँदा सुस्त भएको अनुसन्धान अहिले कांग्रेस नेता रमेश लेखक गृहमन्त्री भएपछि फेरि तीव्र बनेको छ । प्रहरीका अनुसार पूरक जाहेरीमाथि पनि छिट्टै मुद्धा चलाउने तयारी भइरहेको छ ।

सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्यार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् । पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् ।

पहिलो प्रतिवेदनले सहकारी ठगीमा संलग्न अन्य व्यक्तिलाई जोगाएको भन्दै पूरक जाहेरी र चौतर्फी दबाबपछि फेरि विस्तृत अनुसन्धान गरी गत वैशाख २६ गते पोखरा महानगरका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको थियो । त्यसकै भोलिपल्ट मेयर आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन हस्तन्तरण गरेका थिए ।

२०८० भदौ २१ गतेसम्म सस्थाले प्रयोग गरेको कम्प्युटर लेखा प्रणाली सफ्टवेयरमा उल्लेख भएका कुल १८७०० वटा बचत खातामा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रहेको पाइएको प्रतिवेदनले देखाएको छ ।

प्रहरी प्रतिवेदनमा १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?