+
+

सहकारीको रकम हिनामिनामा कसरी जोडिए धनराज ?

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ २५ गते २०:३४

२५ भदौ, काठमाडौं । सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै संसदमा प्रश्न उठेपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मंगलबार स्पटीकरण दिए ।

बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस सांसद गुरुङले २०७६ सालमै सम्बन्ध बिच्छेद भइसकेको व्यक्तिलाई जोडेर आफूलाई आरोपित गरिरहेको बताए ।

उनले मितेरी सहकारीको रकम अपचलबारे छानबिन गर्न र दोषीलाई कारबाही गर्न समेत माग गरे । आफूमाथि छानबिन गर्न तयार रहेको भन्दै उनले भने, ‘संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो अवसर हुनेछ ।’

सोमबार संसदमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले मितेरी सहकारीको रकम अपचलन गरेको भन्दै कांग्रेस उपसभापति गुरुङविरुद्ध प्रहरीमा जाहेरी परेको भन्दै छानबिन हुन्छ कि हुन्न भनेर प्रश्न गरेका थिए ।

के हो मितेरी सहकारीको विवाद ?

बेलायती र भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरु मिलेर ललितपुर महानगरपालिका–५ महालक्ष्मी स्थानमा कार्यालय रहने गरी मितेरी सहकारी खोलेका थिए ।

सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले गत आइतबार महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका थिए । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले उजुरी दर्ता भइसकेको छैन ।

‘सहकारीको रकम अपचलनको विषय सोझै प्रहरीमा दर्ता हुँदैन । स्थानीय तह, प्रदेश र सहकारी डिभिजन कार्यालयले सुरुमा छानबिन गर्ने हो’ एसपी बोगटीले भने, ‘त्यहाँबाट आएपछि प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउँछ ।’

जाहेरी दर्ता नै नभए पनि अनियमितताको विषयमा बुझ्ने काम भने भइरहेको सीआईबीका अधिकारीहरु बताउँछन् । जाहेरी परेपछि सहकारीका अध्यक्ष ८२ वर्षीय कुम्भराज गुरुङलाई फोन गरेर केही विषय सोधपुछ गरेको छ ।

कसरी जोडिए धनराज ?

साढे १२ करोड रकम हिनामिना गरेको आरोप लागेकी ज्योति, कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।

धनराज र ज्योतिको विवाह २०५१ सालमा भएको थियो । धनराजका अनुसार यो सहकारीमा उनी आफैं साधारण सदस्य थिए, ज्योति त्यहीँ काम गर्थिन् ।

ज्योति २०५७ सालदेखि सहकारीमा आवद्ध थिइन् । सुरुमा बचत संकलकको रुपमा सहकारीमा प्रवेश गरेकी थिइन् । २०७० मा सहकारीको कोषाध्यक्ष बनिन् ।

त्यसपछि महाप्रबन्धक भइन् । महाप्रबन्धक बनेपछि उनले रकम हिनामिना गरेको आरोप छ । त्यसका लागि उनलाई पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाले सघाएको सहकारीका पदाधिकारीको दाबी छ । घोटाला गरेको रकम फिर्ता गर्न पटकपटक ताकेता गर्दा समेत रकम फिर्ता नगरी ज्योति फरार भएको जाहेरीमा उल्लेख छ ।

स्रोतका अनुसार यो उजुरी संसदको सहकारी छानबिन विशेष समितिमा समेत आइपुगेको छ । सहकारीबारे अध्ययनका क्रममा सीआईबीमा भएको सबै कागजपत्र मागेको थियो, त्यसक्रममा मितेरी सहकारीको जाहेरी पनि समितिमा पुग्यो ।

त्यसपछि समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई बोलाएर सोधुपुछ गरेको थियो । एक सदस्यका अनुसार कोभिड–१९ को महामारीका क्रममा सहकारीमा समस्या देखियो । सहकारीले आन्तरिक अडिट गर्दा महाप्रबन्धक ज्योतिले केही कर्मचारीसँग मिलेर साढे १२ करोड हिनामिना भएको खुल्यो ।

‘हामीले साढे १२ करोड रकम कसरी लैजानुभयो भनेर सोधेका थियौं’, नाम उल्लेख नगर्ने शर्तमा समितिका एक सदस्य भने, ‘क्यासमै निस्किएको छ भन्नुभयो ।’

उनका अनुसार सहकारीमा दैनिक रुपमा बचत भएको रकम ज्योतिले हिनामिना गरेको देखिन्छ । बचतकर्ताको चेकबुकमा रकम उल्लेख गर्ने, तर सहकारीमा राख्नुको साटो आफैंले नगद दिएर गएको कुम्भराजको दाबी छ ।

रकम हिनामिना भएको थाहा हुँदा कांग्रेस उपसभापति धनराज र ज्योतिको डिभोर्स भइसकेको थियो । धनराजले संसदमै २९ फागुन २०७६ मा तत्कालीन श्रीमतीसँग डिभोर्स भएको भन्दै रकम अपचालनमा आफूलाई जोड्न नमिल्ने दाबी गरे ।

अदालतको रेकर्डमा पनि सम्बन्ध बिच्छेदको मुद्दा परेको देखिन्छ । २८ फागुन २०७६ मा श्रीमती ज्योतिले धनराजलाई प्रतिवादी बनाउँदै ललितपुर जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा हालेकी थिइन् । भोलिपल्टै न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले सहमतिमा सम्बन्ध विच्छेद भएको फैसला गरे ।

तर सहकारीका अध्यक्ष कुम्भराजले भने संसदीय समितिमै सम्बन्ध विच्छेदमाथि शंका गरेका छन् । रकम हिनामिना भएको खुलेपछि आफूसहित सहकारीका व्यवस्थापन टिमले धनराज र ज्योतिसँग पटक पटक कुरा गरेको उनको दाबी छ । धनराजले हिसाब मिलाउने प्रतिवद्धता जनाएको उनको दाबी छ ।

उनका अनुसार ज्योतिले सहकारीको रकम ज्योतिबहादुर भण्डारीमार्फत बिट क्वाइनमा लगानी गरेको आशंका छ । धनराज स्वयंले उनलाई फोन गरेर रकम फिर्ता गरिदिन भनेको कुम्भराजले संसदीय विशेष समितिमा बताएकाा छन् ।

तर पछिल्लो समय कांग्रेस उपसभापतिले ‘मैले त डिभोर्स गरेँ अब मसँग सहकारीको रकमको कुनै सम्बन्ध हुँदैन’ भनेको कुम्भराजले बताएका छन् ।

‘हामीले यसमा थप अध्ययन गरेका छैनौं, तर सहकारीका अध्यक्षको भनाइ सुन्दा रकम अपचालनबारे उहाँ (धनराज) जानकार हुनुहुन्थ्यो भन्ने देखिन्छ’, समितिका एक सदस्य भन्छन्, ‘उहाँको संलग्नता कुन तहको भन्ने चाहिँ अनुसन्धानबाट खुल्ला ।’

कांग्रेस उपसभापति गुरुङले भने सहकारीका पदाधिकारीसँग आफूले कुनै प्रतिवद्धता नगरेको दाबी गरे । सम्बन्ध विच्छेद भएपछि ज्योतिसँग आफ्नो कुनै सम्पर्क नभएको भन्दै उनले भने, ‘सहकारीका मानिसहरुसँग पनि केही कुरा भएको छैन ।’

उनकी पूर्वपत्नी ज्योति भने फरार छिन् । प्रहरी स्रोतका अनुसार उनी पछिल्लो समय हङकङमा बस्दै आएको आशंका छ । ‘जब सहकारीको रकम फिर्ता गर्न ताकेता सुरु भयो, त्यसपछि उनले नेपाल छाडेको देखिन्छ । पछिल्लो समय उनी हङकङमा रहेको भन्ने बुझिएको छ’, एक प्रहरी अधिकृतले भने ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?