+
+

भुइँको राजनीति रुचाउने चित्रलेखालाई राजदूत अफर

निरंकुश राजतन्त्रका बेला सडकबाट संसद चलाउने चित्रलेखा यादव कांग्रेस सभापति शेरबहादुर देउवाकै समूबाट राजनीति गर्दै आएकी नेतृ हुन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ भदौ २५ गते २१:१५

२५ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले १६ साउनमा १८ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएपछि सरकार आलोचित बन्यो । राजदूत सिफारिस गर्दा समावेशीता लागु गर्न नसकिएको प्रति संसदीय समितिमा उपस्थित भएर परराष्ट्र मन्त्री आरजु राणाले माफीसमेत मागिन् ।

सरकारले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिम समुदायबाट परेका थिएनन् । १८ भदौमा प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उपस्थित भएर राणाले गल्ती भएको स्विकारिन् ।

२४ भदौ (सोमबार) संसदीय सुनुवाई समितिमा परराष्ट्र मन्त्री राणाले समावेशी बनाउने प्रतिवद्धता जनाइन् । उनले भनिन्,‘जति समावेशी हुनुपथ्र्यो, समानुपातिक हुनुपर्थ्यो । त्यो हुनसकेको छैन भन्ने मलाई पनि लागेको छ । यो कुरा मन्त्रिपरिषद्‍मा म अघि बढाउनेछु ।’

राणाले संसदीय समितिमा प्रतिवद्धता गरेकै दिन सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको लागि राजदूत सिफारिस गर्‍यो । मधेशी मूलबाट राजदूत नगराएको प्रति उठेको चासो सम्बोधन हुने गरी सरकारले यादवको नाम सिफारिस गर्‍यो ।

यादवका लागि राजदूतको ढोका खुल्ने बाटो चाहिं कान्ता रिजाल बन्न पुगिन् । सत्ता गठबन्धनमा राजदूतका लागि भागवण्डा हुँदा कांग्रेसको भागमा अष्ट्रेलिया पनि परेको थियो । १६ साउनको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाको राजदूतमा रिजालको नाम सिफारिस गरेको थियो । रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगी स्वदेश नल्याएको उजुरी परराष्ट्र मन्त्रालयमा पर्‍यो । संसदीय सुनुवाइमा अन्य सिफारिस नामहरु पुग्दा रिजालको नाम गएन ।

रिजाल राजदूत हुने बाटो बन्द भएपछि कांग्रेसमा नयाँ पात्रको खोजी भयो । समावेशीता भएन भनी लागेको आरोपलाई खण्डन पनि हुने गरी कांग्रेसले यादवको नाम अघि सार्‍यो । पार्टीमा उनको नाममा सहमति जुटेपछि कांग्रेसले परराष्ट्र मन्त्रालयमा नाम सिफारिस गर्‍यो । पार्टीले गरेको नाम अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार अनुमोदन गरेको छ ।

आफू पार्टीको चाहना अनुसार राजदूत सिफारिस भएको यादवले बताइन् । उनले भनिन्,‘परराष्ट्र मन्त्री ज्यूले तपाई राजदूत बन्यो पर्‍यो भन्नुभयो । पार्टीको इच्छा अनुसार म तयार भएकी हुँ ।’

कांग्रेसको उच्च तहमा बसेर राजनीति गरेकी यादवलाई राजदूत बनाएर पठाएपछि उनको सक्रिय राजनीतिक करिअर अब के हुन्छ भन्ने जिज्ञासा उठेको छ । यादव आफैंले भने राजदूतको भूमिका निभाइसकेपछि पनि आफू सक्रिय राजनीतिमै रहने दाबी गरिन् ।

‘राजदूत भएपछि मैले राजनीति छाड्ने होइन, पछि सक्रिय काममा फर्किहाल्छु,’ उनले भनिन्, ‘हिजो पनि कांग्रेसको सक्रिय कार्यकर्ता थिएँ, आज पनि छु, भोलि पनि रहन्छु ।’

चित्रलेखा यादव उपसभामुख छँदा ०५९ जेठ ८ मा प्रतिनिधिसभा विघटन भएको थियो । सभामुख तारानाथ रानाभाटले कांग्रेसको नीति छाडेर राजावादी लाइनमा गएको भन्दै उपसभामुख यादवलाई सडकबाट संसद चलाउने जिम्मेवारी मिलेको थियो । यो प्रस्ताव गरेका थिए, गिरिजाप्रसाद कोइरालाले ।

आफूलाई त्यस समय सडकबाट संसद नचलाउन दरबारले दबाब र आश्वासन समेत दिएको उनले सुनाइन् । ‘तपाईलाई मन्त्री वा अरु के हुन चाहनुहुन्छ । सबै हुन्छ भनेर दरबारका दुई मान्छेले मलाई भने’, यादवले भनिन्, ‘यो प्रस्ताव गलत मान्छेका आइपुगेको भनेर दरबारलाई जवाफ पठाइदिएँ ।’

सिरहाबाट २०३६ सालदेखि कांग्रेसको राजनीतिमा संलग्न ५९ वर्षीया यादव सभापति शेरबहादुर देउवा पक्षीय हुन् । नेविसंघको त्रिभुवन विश्वविद्यायलयको कोषाध्यक्ष हुँदै उनी पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् ।

यादवको राजनीतिक जीवनमा उल्लेखनीय भूमिका उनको उपसभामुखको जिम्मेवारीलाई लिने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता लिएपछि भएको आन्दोलनमा उनले सडकबाट सदनको अध्यक्षता गरेकी थिइन् ।

यसरी सडकमा बसेको संसद सुरुमा पाटनस्थित मंगलबजारमा बसेको थियो भने दोस्रोपटक प्रज्ञा प्रतिष्ठानको भवन बाहिर बसेको थियो । प्रज्ञा प्रतिष्ठानमा बैठक बस्ने गरी सात दलले तयारी गरेपछि तत्कालीन शासकले भित्र छिर्न नदिन चाबी लगाएर बन्द गरिदिएको थियो ।

‘संसद पुर्नस्थापना गर्ने सात दलको माग थियो । सात पार्टीले सडकबाट संसद चलाएर दबाब दिने निर्णय भयो,’ त्यसबेलाको अवस्था स्मरण गर्दै यादवले अनलाइनखबरसँग भनिन्,‘सिंहदरबारमा संसद बैठक बस्ने अवस्था थिएन । सडकबाट संसद चलाएर माग दबाब दिएका थियौं ।’ २०५६ सालमा उपसभामुख बनेकी उनलाई २०६३ माघ ११ गते बसेको पुर्नस्थापित संसदको बैठकले ‘राजनीतिक सहमतिका आधारमा’ उपसभामुख पदमा निर्वाचित गरेको थियो ।

यादव कांग्रेसको १२ औं महाधिवेशनबाट निर्वाचित कोषाध्यक्ष हुन् । संविधान सभा सदस्य यादव सुशील कोइराला प्रधानमन्त्री भएको बेला शिक्षा मन्त्री बनिन् । गत निर्वाचनमा सिरहा–२ बाट प्रत्यक्ष निर्वाचनतर्फ पराजित उनी कांग्रेसकोे १४ औं महाधिवेशनमा मधेशबाट महिलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । संस्थापनइतरका एक नेताका अनुसार उनी सभापति र परराष्ट्रमन्त्रीको रोजाइमा परेर राजदूतमा सिफारिस भएकी हुन् ।

यादव आफ्नो जिम्मेवारी सम्पादन गरिसकेपछि फेरि पनि सक्रिय राजनीतिमै रहने उनको दाबी छ । तर अहिलेसम्म जनप्रतिनिधि वा पार्टी नेताका रुपमा सक्रिय रहँदै आएकी यादवले अष्ट्रेलियामा नेपाल सरकारकी प्रतिनिधि रहने भनी गरेको निर्णयले उनलाई बिस्तारै पार्टी राजनीतिबाट बाहिर पुर्याउने हो कि भन्ने आकलन पनि हुन थालेको छ ।

‘कसको इच्छा अनुसार बनाइएको भन्दापनि उपयुक्त पात्र हो कि होइन भन्ने हो,’ ती नेताले भने, ‘राजनीतिक जीवन लामो छ । विभिन्न पदमा बसेर काम गर्नुभयो । सक्षम व्यक्ति नै हो ।’

यादवले आफू दायाँबायाँ गर्ने व्यक्ति नभएको भन्दै राजदूत बनेपछि निष्क्रिय बन्ने भनेर नसोच्न आग्रह गरिन् । ‘मलाई पहिला शिक्षामन्त्री बन्न खासै मन थिएन, २० मिनेटअघि खबर गरेपछि शपथग्रहणमा गएँ,’ उनले भनिन्, ‘खासमा मलाई फिल्डको राजनीति नै प्रिय हो, तर अहिले देशका लागि यो जिम्मेवारीको प्रस्ताव स्वीकार गरेको छु ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?