+
+

कांग्रेसको विधान संशोधनमा के-के विषय उठ्दैछन् ?

लिलु डुम्रे लिलु डुम्रे
२०८१ भदौ २६ गते ८:१९

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले फेरि विधान संशोधन गर्ने भएको छ । १६ भदौमा सकिएको केन्द्रीय समिति बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरिसकेको छ । ‘विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न विधान संशोधन मस्यौदा समिति गठन गर्ने’ पार्टीले निर्णय लिएको छ ।

मस्यौदा समितिका संयोजक र सदस्यहरू भने मनोनित भइसकेका छैनन् । पार्टीमा आवश्यक परामर्श गरी संयोजक र सदस्यहरु चयन गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिइएको छ ।

देउवाले आज (बुधबार) बिहान पदाधिकारी बैठक बोलाएका छन्, सम्भवत त्यहाँ यो विषयमा छलफल हुनेछ । समिति बनेपछि विधान संशोधनको विषयमा छलफल सुरु हुनेछ ।

तर सार्वजनिक रुपमा भने पार्टीका नेताहरुले विधान संशोधनको अपरिहार्यता रहेको जनाउँदै केन्द्रीय समिति र सार्वजनिक कार्यक्रमहरुमा विचार राख्दै आएका छन् । उनीहरुका अनुुसार विधान संशोधन गर्नुपर्ने विषयहरुमा सदस्यता वितरण, उम्मेदवार चयन, प्रमुख पदमा महिला सहभागिता, पार्टी संरचनाको आकार, आन्तरिक निर्वाचन प्रणाली, प्रदेश समितिको क्षेत्राधिकार वृद्दि लगायत छन् ।

प्राइमरी इलेक्सनको माग

विधान संशोधनका लागि नेताहरुले उठाउँदै आएको विषय उम्मेदवार छनोट प्रक्रिया छ । विद्यमान व्यवस्था अनुसार पार्टीका चार तहले आफ्ना उम्मेदवारका टिकट वितरण गर्छन् ।

स्थानीय तह, प्रदेश र संघीय संसदको उम्मेदवार तय पार्टी क्रियाशील सदस्यहरुबाट छानिनुपर्ने मत पार्टीमा छ । पालिका अध्यक्षको उम्मेदवार चयन गर्न सम्बन्धित स्थानका सदस्यहरुले छनोट गर्न पाउनुपर्ने राय पार्टी नेताहरुले दिएका छन् । ‘टिकट वितरण माथिबाट दिनुभन्दा प्राइमरी इलेक्सनमा हामी जानुपर्दछ,’ केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, ‘जुन क्षेत्रको उम्मेदवारी तयार गर्ने हो । मतदानबाट उनीहरुले नै आफ्नो उम्मेदवार छान्न पाउने व्यवस्था गर्नुपर्दछ ।’

हालको विधान अनुसार वडा सदस्य र अध्यक्षको उम्मेदवार छान्ने अधिकार प्रतिनिधि सभा क्षेत्र संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मदेवार जिल्ला संसदीय समितिले गर्छ । नगरपालिका र उपमहानगरपालिका प्रमुख-उपप्रमुखका उम्मेदवारको टिकट वितरण प्रदेश कार्यसमितिले गर्दछ ।

महानगर प्रमुख/उपप्रमुख, प्रदेश र संघको उम्मेदवार केन्द्रीय संसदीय छनोट गर्ने व्यवस्था छ ।

कांग्रेस बैठकमा उपल्लो पदहरुमा महिलाको स्थान सुनिश्चित गर्नुपर्ने माग उठिरहेको हुन्छ । महिलाबाट उपसभापति र महामन्त्री लगायतका पदमा एक जना निर्वाचित हुनुपर्ने व्यवस्थाका पक्षमा महिला नेताहरुले विचार राख्दै आएका छन्

विधानले तहगत संसदीय समितिलाई टिकट वितरणको अधिकार दिएपनि केन्द्र हाबी भएर तलको अधिकार खोसेको चिन्ता पार्टी नेताहरुले गर्र्दै आएका छन् । टिकटका लागि कार्यकर्ताहरु केन्द्र धाउनुपर्ने पद्दति अन्त्यका लागि सम्बन्धित संरचनाका क्रियाशील सदस्यबाट नै उम्मेदवार छान्नुपर्ने मत पार्टीमा छ ।

उम्मेदवार सिफारिस गर्दा बढीमा ३ जनाको नाम उपल्लो पार्टी संरचनामा पठाउने विधि छ । तर विधान कार्यान्वयन भएको छैन । उम्मेदवार हुन आकांक्षी सबैको नाम उपल्लो तहमा पठाउने गरिएको छ । महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा संसदीय समितिले विधानले तोके बमोजिमको प्रक्रिया अनुसार चयन गर्ने व्यवस्था भएपनि अभ्यासमा विधान अनुसार नभएको लेखेका छन् ।

‘अन्तिम निर्णय गर्ने निकायले सिफारिस, आधार तथा मापदण्ड समेत नहेरी चयन गर्ने अवस्था छ,’ थापाले भने, ‘सम्बन्धित तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदान (प्राइमरी इलेक्सन) बाट उम्मेदवार छनोट गर्ने गरी विधान संशोधन गर्नुपर्ने मेरो मत छ ।’

पार्टी विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । केन्द्रीय नेताहरु तल्लो तहबाट निर्वाचित भएर मात्रै महाधिवेशन प्रतिनिधि हुनुपर्ने आवाज उठ्दै आएपनि विधानमा समेटिएको छैन । विधान संशोधन गर्दा केन्द्रीय सभापतिदेखि हरेक तहमा जिम्मेवारीमा रहेका सबै अनिवार्य रूपमा तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्ने माग नेताहरुले गरेका छन् । ‘कोही चाहिँ महाधिवेशन प्रतिनिधि बन्नलाई तलैबाट सबै प्रक्रिया पुरा गरेर आउनुपर्ने तर कसैलाई भने विशेष अधिकार दिएर सिधै आउने पद्दति संशोधन गर्नुपर्दछ,’ केन्द्रीय सदस्य आचार्यले भने ।

भद्दा संगठन राख्ने कि नराख्ने ?

पार्टीका आठ वटै तहको कार्यसमिति भद्दा भएको नेताहरुको गुनासो छ । ठूला भएकाले बैठक बस्नै नसक्ने अवस्था बनेको केन्द्रीय सदस्य डा. डिला संग्रौला बताउँछिन् । भन्छिन्, ‘संगठनको आकार ठूलो हुँदा बैठक पनि बस्न सकेका छैनन् । आकार घटाउनु पर्दछ ।’

केन्द्रीय सदस्य डा. डिला संग्रौला ।

सबैभन्दा तल्लो तहको पार्टी संरचनाका रुपमा रहेको टोल समिति पार्टीको निर्णय प्रक्रियामा कहीँ समावेश नभएकाले विधानमा संशोधनको आवश्यकता रहेको महामन्त्री थापाको राय छ । ‘टोल कार्यसमिति हाम्रो पार्टी संरचनामा सबैभन्दा भुईं तहमा रहेर जनताको दुःखसुखमा जोडिने समिति हो,’ महामन्त्री थापा भन्छन्, ‘तर पार्टीको निर्णय प्रक्रियामा यो समिति कहीँ कतै जोडिँदैन । यही अवस्था राख्ने वा टोल कार्यसमितिको अधिकारलाई थप प्रष्ट गर्ने ?’

भ्रातृ संस्थालाई पूर्ण स्वायत्त ढङ्गले चल्न दिने गरी पार्टी हस्तक्षेप हटाउने गरी विधि बसाल्नुपर्ने माग पार्टीमा छ । शुभेच्छुक संस्थाको हकमा कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक, सरकारी कर्मचारी, प्रध्यापक लगायतका विषयमा छुट्टै नयाँ तरिकाले सोच्नुपर्ने राय नेताहरुले राखेका छन् । कानुनले पार्टी आबद्धता प्रदान गर्न रोकेकाले शिक्षक, कर्मचारी, प्राध्यापकका सन्दर्भमा नयाँ विधिबारे बहस हुुनुपर्ने महामन्त्री थापा बताउँछन् ।

प्रदेश र महिलाको अधिकार थप्नुपर्ने माग

कांग्रेस बैठकमा उपल्लो पदहरुमा महिलाको स्थान सुनिश्चित गर्नुपर्ने माग उठिरहेको हुन्छ । महिलाबाट उपसभापति र महामन्त्री लगायतका पदमा एक जना निर्वाचित हुनुपर्ने व्यवस्थाका पक्षमा महिला नेताहरुले विचार राख्दै आएका छन् । आठ तहको संरचनाको कार्यसमितिमा महिला प्रतिनिधित्व एक तिहाइको व्यवस्था गरेको छ । ‘उपसभापति, महामन्त्री पदमा पनि महिला पुग्ने गरी विधानमा व्यवस्था हुनुपर्दछ,’ केन्द्रीय सदस्य डा.संग्रौला भन्छिन् ।

प्रदेश सभापतिहरुले प्रदेश कार्यसमितिलाई अधिकारविहीन बनाएको गुनासो गर्दै आएका छन् । प्रदेश कार्यसमितिको अधिकार र केन्द्रीय कार्यसमितिसँगको सम्बन्धबारे पार्टीभित्र अलमल छ । केन्द्रले प्रदेश समितिलाई बाइपास गरेको कर्णालीका प्रदेश सभापति ललितजंग शाही बताउँछन् ।

प्रदेश मातहतको संरचना प्रदेश कार्यसमिति मार्फत सञ्चालित हुनुपर्ने भन्दै शाहीले भने, ‘नगरपालिका प्रमुख/उपप्रमुखको टिकट प्रदेशले बाँड्छ । केन्द्रीय सभापतिको सही किन गर्नुपर्ने ? प्रदेश सभाको टिकट प्रदेश समितिले बाँड्न पाउनुपर्दछ ।’

एकै प्रकृति सदस्यता हुनुपर्ने राय

कांग्रेसमा विधानतः दुई प्रकृतिका सदस्यता वितरण हुने व्यवस्था छ । पार्टी सदस्य र क्रियाशील सदस्य वितरण हुने प्रणाली बनाएको भएपनि पार्टी सदस्य (साधारण सदस्य) को औचित्य नदेखिएको नेताहरु बताउँछन् ।

साधारण सदस्य लिएको एकवर्ष पुगेपछि क्रियाशील सदस्यको लागि योग्य हुने विधानको मापदण्ड छ ।

पार्टीमा एकै प्रकारको सदस्यताको व्यवस्था गर्नेमा बहस हुनुपर्ने महामन्त्री थापा बताउँछन् । दुई प्रकृतिको राख्ने कि एउटै प्रकारको बनाउने विचार आएकाले विधान संशोधनले यो विषयको सम्बोधन गर्नुपर्ने उनले बताए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?