+
+

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते ११:३८

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।

बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।

२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा परेकी छिन् ।

बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकपछि प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताए । ‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ,’ घिमिरेले भने, ‘उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’

उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ । कांग्रेसको शीर्ष तहको बैठकले उपसभामुखलाई हटाउनका लागि थप छलफल सत्ता गठबन्धनमा गर्ने निर्णय लिएको छ ।

सोही विषयमा छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए । ‘अरु कुराहरु त्यही छलफल हुन्छ । आज संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ,’ घिमिरेले भने । संसदीय दलको बैठक मिति भने तय भइ नसकेको घिमिरेले जानकारी दिए ।

सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पनि उपसभामुख रानामगरको विषयले प्रवेश पाएको थियो ।

मंगलबार बसेको संसद बैठकमा प्रतिपक्ष र सत्ता पक्ष दलका सांसदहरु उपसभामुखको पक्ष–विपक्षमा उभिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?