+
+

भेरी अस्पतालमा नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमरको सफल शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १०:०१

२६ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ । दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा पलाएको मासुको डल्लो दूरबिन विधिबाट शल्यक्रिया गर्नु जटिल मानिन्छ ।

यो जटिल खालको शल्यक्रिया भेरी अस्पतालका न्यूरोसर्जन विशेषज्ञ डा. सुवोध गौतम र नाक, कान, घाँटी (ईएनटी) सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वमा भएको हो । उनीहरुले बर्दियाको गुलरिया नगरपालिका–१२ निवासी ५० वर्षीया सुप्नी थारुको भदौ १६ गते सफल शल्यक्रिया गरेका हुन् । सुप्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकाले डिस्चार्ज गर्ने तयारी छ ।

डा. गौतमका अनुसार पिट्युटरी ग्रन्थी मान्छेको दिमागको बीच भागमा हुन्छ । यसले शरीरमा भएका अन्य सबै ग्रन्थीको कन्ट्रोल गर्छ । त्यसैले यसलाई मास्टर ग्रन्थी पनि भनिन्छ । उनी भन्छन्, ‘यसमा हुने गडबडीले मानिसमा थाइरोइडको समस्या देखिने, दृष्टि कमजोर हुने, महिनाबारी गडबडी हुने, स्तनबाट दूध चुहिने, बाँझोपन हुने, शरीरमा अत्यधिक रौंहरु पलाउने, अस्वाभाविक मोटाउने जस्ता समस्या देखिन्छ ।’

डा गौतमका अनुसार पिट्युटरी ग्रन्थीतिर आँखाको नसा हुने भएकाले त्यहाँ ट्युमर बढ्ने क्रममा टाउको दुख्ने र दृष्टि कमजोर हुँदै गएर आँखै नदेख्ने समस्या हुन्छ ।

भेरी अस्पतालमा पिट्युटरी ग्रन्थीको ट्युमरको अप्रेसन गरिएकी सुप्नी थारुको आँखामा समस्या नहुँदा पनि उनले राम्रोसँग आँखा देख्दिनथिन् ।

सुप्नी थारु ।

‘उहाँको तीन महिनाअघि मस्तिष्कमा रगत जम्ने (ब्रेन ह्यामरेज) समस्या भएर उपचार भइरहेको थियो । आँखा नदेख्ने समस्या समेत थियो, राम्रोसँग नदेख्ने भएकाले डोर्‍याउनु पर्थ्यो,’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘आँखा ठिकठाक भएकाले दिमागको एमआरआई गर्दा पिट्युटरी ग्रन्थीमा ट्युमर पत्ता लागेको थियो ।’

समस्या पत्ता लागिसकेपछि साढे तीन घण्टा लगाएर शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्ने टिममा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डे, न्युरोसर्जन डा. सुवोध गौतम, ईएनटी सर्जन डा. सुगन श्रेष्ठ, डा.विशाल गैरे, नर्सिङ स्टाफहरु तारा आचार्य, आशा केसी, गरिमा गुरुङ लगायत थिए ।

अप्रेसनपछि ती महिलाले पहिलेको तुलनामा स्पष्ट देख्न थालेको र स्वास्थ्य पनि सामान्य रहेकाले डिस्चार्जको तयारी गरिएको डा. गौतमले बताए ।

शल्यक्रियामा संलग्न टिम ।

नाक, कान, घाँटी रोग विशेषज्ञ डा. सगुन श्रेष्ठले जटिल खालको अप्रेसन भेरी अस्पतालमा सफल हुनु र बिरामीको स्वास्थ्य सुधार हुनु आफूहरुका लागि गौरवको क्षण भएको बताए । ‘यस खालका जटिल अप्रेसनहरु नेपालमा प्राय काठमाडौंमा मात्रै हुने गर्दछन्,’ डा. श्रेष्ठले भने, ‘इन्डोस्कोपिक पिट्युटरी सर्जरी जटिल भएकाले विशेषज्ञता आवश्यक पर्ने शल्यक्रिया हो । यसलाई सफलतापूर्वक सम्पन्न गर्नु हाम्रो टिमका लागि गौरवको कुरा हो ।’

बिरामीलाई डिस्चार्ज गर्ने तयारी

भेरी अस्पतालका डाक्टरहरुले ती महिलाको ब्रेन ट्युमर देखिएपछि काठमाडौंको कुनै सुविधा सम्पन्न अस्पतालमा गएर अप्रेसन गर्न सकिने विकल्पबारे भनेका थिए ।

तर आर्थिक अवस्था कमजोर भएकाले उनको परिवारका सदस्यहरुले काठमाडौं जान अस्वीकार गरे । त्यसपछि भेरी अस्पताल नेपालगञ्जमै उनको अप्रेसन गरिएको हो ।

‘आर्थिक अवस्था कमजोर भएका कारण हामीले काठमाडौं लैजान सक्ने अवस्था थिएन त्यसैले यहीँ अप्रेसन गरिदिन भन्यौं,’ सुप्नीका ज्वाइँ गणेश चौधरीले भने, ‘अहिले बिरामीलाई धेरै सजिलो भएको छ । उहाँ आफैं हिँड्डुल गर्न थाल्नु भएको छ र आँखा पनि पहिलेको भन्दा स्पष्ट देख्नु हुन्छ ।’

जटिल अप्रेसनको सफलतापछि भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले पश्चिम नेपालको सरकारी अस्पताल (भेरी अस्पताल)मा भएको यस खालको अप्रेसनले भेरी अस्पताल न्यूरो सर्जरी लगायतका विशिष्ट सेवामा सक्षम छ भन्ने पुष्टि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?