
काठमाडौं । धीरज मगर रुकुममा जन्मिए, बेलायतमा हुर्किए । जन्मथलोमा बाल्यकाल महसुस गर्न पाएनन् । तर पछिल्लो फिल्म ‘खुस्मा’ले उनलाई वात्सल्य जीवनमा लग्यो । रिल नै सही, रियलमा भोग्न नपाएको जीवन यसमा महसुस गरे ।
फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजित समारोहमा उनी ‘नोस्टाल्जिक’ बने अनि भक्कानिए । यो फिल्मको माध्यमबाट जन्मथलोसँग जोडिन पाउँदा उनी खुसी छन् । यो खुसी समारोहमा स्पष्ट देखियो । बोल्दा बोल्दै उनको आँखाबाट हर्षका आँसु खसे । जन्मदिन पनि भएकाले उनी भावुक नै बने । रुकुमको तकसेरामा जन्मिएका उनी दुई वर्षको उमेरमा लाहुरे बाबुसँग बेलायत पुगे ।
फिल्मको छायांकन पनि मैकोटमा गरिएको हो । आफूलाई स्थानीय बासिन्दाले माया दिएको भन्दै उनी भावुक बने ।
धीरजले भने, ‘जन्मदिनमा मलाई खुस्मा फिल्म उपहार दिनु भएकोमा धेरैधेरै धन्यवाद दिन चाहन्छु । यो फिल्मले गर्दा म आफ्नो गाउँ फर्किन पाएँ । दुई वर्षको हुँदा म युके गएको हुँ । जब म रुकुमको गाउँ गए, मलाई त्यहाँ माया गर्ने बाजे, मामा–माइजू, काका–काकीलाई भेट्न पाएँ । म युकेबाट आफ्नो गाउँलाई चिनाउन चाहन्छु । म केही हदसम्म यो कुरामा सफल भए कि भन्ने लाग्छ ।’
उक्त अवसरमा धीरजले परिवारलाई पनि सम्झिए । आफूलाई ब्रेक दिने ‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक रेनशा बान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबरालाई पनि सम्झिए । जन्मदिन अवसरमा फिल्मले केक समेत काटेर खुसी सेलिब्रेसन गरेको थियो ।
अशोक थापा निर्देशित फिल्ममा उपासना सिंह ठकुरीको समेत अभिनय छ । यो फिल्म असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया 4