+
+

पारिजातको प्रतीक्षित अन्तिम आत्मसंस्मरण

म कायल भएर भन्छु, ‘मुखियाज्यू, तपाईं मेरो देवता हुनुहुन्छ, तपाईंले मलाई बलात्कार गर्न सक्नु भएन ।’ सम्भवतः यो आत्मसंस्मरणको सबैभन्दा विचारोत्तेजक वाक्य यही हो । पारिजातलाई प्रगतिवादी चश्माले मात्र हेर्नेहरुलाई उनको आत्मसंस्मरण पुस्तकले निराश तुल्याउन पनि सक्छ ।

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८१ भदौ २६ गते १३:५२

अन्ततः पारिजातको आत्म संस्मरणको अप्रकाशित अन्तिम पाण्डुलिपिले लेखिकाको देहान्तको तीन दशकपछि प्रकाशनको उज्यालो भेट्टायो । ‘भावुकताको सूर्यास्तः अनास्थाको अन्धकार’ नामकरण गरिएको यो कृति मैले पारिजातको जीवनी ‘सुश्री पारिजात’ लेखनको क्रममा कसरी पढ्न पाइएला, जीवनी लेखनको क्रममा प्रकाशित भए त्यसका लागि थप सन्दर्भ सामाग्री हुन्थ्यो होला भन्ने सोचेको थिएँ । तर, जीवनी लेखनका लागि मलाई लागेको २० वर्षको समयावधिमा यो कृतिको पाण्डुलिपि छ भन्ने बाहेक अरू कुनै जानकारी पाउन सकेको थिइनँ । पाण्डुलिपि नै भए पनि पढ्न पाइएला कि भनेर त्यसका लागि पनि प्रयास गरेको थिएँ । त्यो सहज थिएन र सम्भव भएन ।

बरु मैले खोजको क्रममा सो पाण्डुलिपि पढ्ने मानिस चाहिँ फेला पारेँ, तर पाण्डुलिपि फेला पार्न सकिनँ । ‘सुश्री पारिजात’ प्रकाशित भएपछि मात्र पारिजातकी सहोदर बहिनी सुकन्याले सो पाण्डुलिपि प्रकाशनार्थ पारिजात स्मृति केन्द्रलाई हस्तान्तरण गरेको सामाजिक सञ्जालमा देख्न पाएको थिएँ । अब त्यो प्रतीक्षाको घडी समाप्त भएर पुस्तक नै बजारमा उपलब्ध भइसकेको छ ।

यो कृति उनको जीवनकालमा किन प्रकाशित भएन ? यो ज्वलन्त प्रश्न थियो र अझै छ । यस कृतिमा उनले के त्यस्तो लेखिन्, जसको कारण उनले आफ्नो जीवन कालमा प्रकाशित गर्न चाहिनन् ?

पारिजातले आफ्नो जीवन कालमा प्रकाशित गर्न नचाहेको भनिएको यो कृति प्रकाशित हुँदै गर्दा पारिजात स्मृति केन्द्रको तर्फबाट ‘उनकै (पारिजातकै) इच्छाअनुसार धनुवर मुखियाको मृत्युपछि मात्र प्रकाशन हुन लागेको’ स्पष्टीकरणले थप नयाँ कुरा आएको छ । पारिजातले आफ्नो देहान्तपछि होइन, धनुवर मुखियाको मृत्यु पछि मात्र प्रकाशित होस् भन्ने चाहेकी रहिछन् ।

तर अझै प्रश्न के छ भने, धनुवर मुखियाको मृत्युको पनि लामो समय नाघिसकेपछि मात्र यो कृति प्रकाशित भयो । यति लामो प्रतीक्षा किन गरियो, यो थप प्रश्न समेत अनुत्तरित छ ।

०००

यो आत्म संस्मरणको थालनी दार्जिलिङ सदाका लागि छाडेर गएपछिको पहिलो सातौं वर्षमा पहिलोपल्ट फर्कंदाको स्मरणबाट थालनी हुन्छ । संस्मरणको थालनी नै यसरी भएको छ-

‘फेरि एकपल्ट साक्षात्कार कञ्चनजङ्घासँग, चियाका गाछहरुसँग, एउटा चिटिक्क परेको शहरसँग । सात वर्षपछि पो गएकी छु त ! …’ यो आत्म संस्मरण पारिजातको दोश्रो भाग ‘अध्ययन र सङ्घर्ष’ को निरन्तरता हो, तेश्रो भाग ।

पारिजातको पहिलो आत्म संस्मरण ‘धूपि सल्ला र लालीगुराँसको फेदमा’ थियो । यो भागमा उनको बाल्यकालीन सम्झनाहरूको नालीबेली पाइन्छ र काठमाडौं प्रस्थान गर्ने समयसम्म फैलिएको छ ।

दोश्रो भाग काठमाडौं आइपुगेदेखि सात वर्षसम्म काठमाडौं बसेर पिता डा. एस.के. वाइवाले नयाँ औषधीको परीक्षणका लागि दार्जिलिङ पठाउँदा सम्मको नालीबेली छ ।

त्यस भागको अन्त्य यसरी भएको छ-

‘त्यही वर्ष अठार सालको दशैंमा बाबु एउटा नयाँ औषधी मेरो निम्ति लेखिदिन्छन् र भन्छन्, ‘यो औषधी जहाँ जन्मेको छ त्यही ठाउँमा गएर सेवन गर्नुपर्छ र लेकको हावा पानीले शरीरमा कस्तो असर गर्छ त्यो पनि हेर्नुपर्छ । ‘त्यसपछि महिना दिनको विदा मिलाएर म दार्जिलिङतिर हिंडिदिन्छु, सात बर्षको लामो अवधिपछि ।’

‘धरहराको बस स्टपमा साथीहरुसँग बिदा हुँदा मनमा आतुरी सिवाय केही पनि थिएन । त्यस बखत रोगप्रति त म एकरति पनि सचेत थिइनँ मात्र आतुरी–आतुरी । कुन्नी कस्तो आतुरी, केको आतुरी बुझ्नै नसक्ने । सपना र तन्द्राजस्तै थियो त्यो यात्रा ।’

यसरी विसं २०५० मा पारिजातको देहान्त भएकै सालमा देहान्तपछि प्रकाशित त्यस आत्म संस्मरण ‘अध्ययन र सङ्घर्ष’ को अन्तिम परिच्छेदको निरन्तरता ‘भावुकताको सूर्यास्त अनास्थाको अन्धकार’ मा यसरी हुन्छ–

‘फेरि एकपल्ट साक्षात्कार कञ्चनजङ्घासँग, चियाका गाछहरुसँग, एउटा चिटिक्क परेको शहरसँग । सात वर्षपछि पो गएकी छु त ! तर मैले सपनामा थान्कोमान्को गरिरहन्थें पहाडमाथि अवस्थित यी साना छरिता घरहरूलाई । यो सिङ्गो पहाडी सहरलाई बिर्सन सकिन्न, जहाँ गए पनि यहाँका लहरा पातहरूले बाँधेको हुन्छ मान्छेको भित्री चाहनालाई ।’ (पेज-१)

८० पृष्ठमा विस्तारित यो आत्म संस्मरणमा पारिजातको लेखनीको जुन सुस्वाद, फ्लेवर हुने गर्थ्यो, त्यो जीवन्त रुपमा आएको छ । उनले विशेष गरी धनुवर मुखियासँगको सम्बन्धलाई यस पुस्तकमा विस्तारित रूपमा उल्लेख, चर्चा र आत्म विश्लेषण गरेकी छिन् ।

पहिलोपल्ट दार्जिलिङ छाडेर काठमाडौं आएको ७ वर्षपछि र थप केही पटकको दार्जिलिङ यात्राको प्रसङ्ग पुस्तकमा छन् । साथै काठमाडौंका दिनहरु पनि आंशिक रुपमा आएका छन् । दार्जिलिङमा पुराना साथीहरूसँगको मिलन, आफन्तहरूसँगको आत्मीय भेटसँगै एकपल्ट दार्जिलिङमा नराम्ररी सिकिस्त बिरामी पर्दाका अनुभव र अनुभूति उनले जीवन्त रूपमा प्रस्तुत गरेकी छिन् ।

कवि ईश्वरबल्लभसँगको भेट र साहित्यिक, बौद्धिक सत्सँग, ईश्वरबल्लभको माध्यमले वैरागी काईंलासँगको परिचय र सम्पर्कका प्रसङ्गहरू पनि आएका छन् । भवानी भिक्षुको दार्जिलिङ भ्रमण र उनको सम्मानमा भएको साहित्यिक गोष्ठीको पनि चर्चा आएको छ ।

काठमाडौंमा परिचय भएका र दार्जिलिङमा फेरि भेटिएका ईश्वरबल्लभसँगको पहिलो भेटको विषयमा उनको यस्तो अभिव्यक्ति छ, ‘पहिलो परिचयमा मैले उनलाई केही निराश अभिव्यक्ति सिवाय केही पनि दिन सकिनँ ।’ (पेज–३८)

दार्जिलिङमा फेरि भेट्दा पारिजात काठमाडौंमा प्रसङ्ग चलेको र अधुरो छुटेको ब्रह्मसूत्र पढाउन आग्रह गर्छिन्, ‘ईश्वर दाई, मलाई ब्रह्मसूत्र पढाइदिनोस् न ।’ (पेज–४३)

ईश्वरबल्लभले पारिजातलाई ब्रह्मसूत्रको अंग्रेजीको व्याख्या पढाउँछन् । यो बेग्लै कुरा हो । पारिजात पछिल्लो समयमा प्रगतिवादी साहित्यमा ढल्केपछि ईश्वरबल्लभको चर्को आलोचक भइन् ।

दार्जिलिङका एक सम्पादकलाई ईश्वरबल्लभको कथा समावेश किन गर्नु प¥यो भनेर चिट्ठी लेखिन्, विन्द्या सुब्बाको पुस्तकमा ईश्वरबल्लभको भूमिका नभएको राम्रो भो भनिन् र मौका मिल्दा आलोचना गर्न कहिल्यै पछि परिनन्, यस आत्म संस्मरणमा ब्रह्मसूत्र पढाइदिने ‘ईश्वर दाइ’लाई ।

पारिजातको नामसँग सुकन्याको नाम जोडिएर आउँछ । आजीवन यी दिदी–बहिनी साथै बसे । तर सहोदर कान्छी बहिनी चुडाको भने त्यति चर्चा र उल्लेख हुने गरेको पाइँदैन । तर यस आत्म संस्मरणमा उनकी यी कान्छी बहिनीको समेत चर्चा गरेकी छिन् पारिजातले ।

यो कृतिमा पारिजातले आफ्नी सखी माया ठटाललाई भेट्छिन् । सँगै घुम्छिन् र भेट्छिन् धनुवर मुखियालाई । पारिजात र धनुवर मुखियाको प्रेमिल सम्बन्ध र भेटघाट यो कृतिको केन्द्रमा रहेको छ । तर शुरुमा भने उनलाई भेट्नुको कुनै अर्थ नभएको बताउँछिन्, माया ठटालसँग–

‘दार्जिलिङ पुगेको भोलिपल्ट माया ठटाल सोध्छे, ‘क्या हो फलाना (धनुवर) लाई भेट्दैनस् ?’

‘त्यो भेट्नुको अर्थ छैन ।’ म बटारिएर गइदिन्छु एकातिर । (पेज–६)

जब भेट हुन्छ त्यो स्थितिलाई पारिजात अर्थ्याउँछिन्– ‘उनी पनि पुराना साथीको हैसियतमा अथवा भर्खर लेख्न थालेकी एउटी लेखिकाको नातामा मलाई भेट्न आएका छन् । यसै हिसाबले म उनलाई लिन थाल्छु ।’ (पेज–१२)

तर पछि उनीहरू बीचको त्यो प्राथमिक औपचारिकता अनौपचारिकतामा बदलिन्छ र पारिजातकै शब्दमा ‘दोश्रोपल्ट एकान्तमा’ पुग्छन्, चिया पिउने निम्तोमा ।

त्यो चिया पिउने कार्यक्रमपछि बोटानिकल गार्डेन जाने कार्यक्रम पनि बन्छ ।

यी भेटमा भएका भावुकताले भरिएका, सूत्रात्मक सम्वाद निकै मार्मिक र चोटिलो अनुभव हुन्छ–

…प्रसङ्गबस उनी सोध्छन्, कहिले तिमी र कहिले तपाईंको सम्बोधनमा, ‘यो जीवनलाई ट्र्याजेडी मानिदिए हुन्न ?’

‘सक्तिनँ ।’

उनी मभन्दा धेरै आशावादी छन् । फेरि सोध्छन्, ‘दुःख लाग्छ ?’

म विवश भएर झण्डैझण्डै रोएर भन्छु, ‘हो ।’

‘तपाईं यसको केही उपाय देख्नुहुन्न ?’

‘देख्दिनँ ।’ (पेज–१५)

अर्को भेटको पनि उल्लेख छ, यो चाहिँ रातिको । पारिजातको उनकी दिदीका छोरीहरू सँगसँगै घुम्ने योजना बन्छ । ती नानीहरू पनि स्वच्छन्द घुम्न जाने । पारिजात पनि धनुवरसँग घुम्न जाने । ‘रातको १२ बजेसम्म ठीक यहीँ भेला भएर घर जाने, हामी छुट्टिएर घुमेको कुरा घरमा थाहा पाउनु हुँदैन ।’ (पेज–२०)

त्यस रातको भेटको पारिजात र धनुवरको भावनात्मक सम्वाद–

त्यस रात फेरि दोहा¥याएर सोध्छु, ‘तपाईंलाई अर्को जुनीमा विश्वास छ ?’

‘छ ।’

‘मैले तपाईंलाई अर्को जुनीका निम्ति मागिसकेकी छु ।’

‘तर म तिमीलाई यही जुनीमा पाउन चाहन्छु ।’

(पेज–२२)

धनुवरको यो वाक्यले पारिजातलाई ‘सुखको एउटा मीठो अनुभूति’ हुन्छ । त्यसो त पारिजातले मसँगको एक अन्तर्वार्तामा धनुवरले आफ्नो विवाह भए पनि दोस्रो विवाहको लागि प्रस्ताव गरेको र उनले नकारेको बताएकी थिइन् ।

‘उहाँले पहिलो श्रीमती तयार छ, बिहे गरेर बसौं भन्ने प्रस्ताव पनि गर्नुभाथ्यो । घर गृहस्थीको जिम्मा लिने आग्रह थियो । मलाई दोश्रोमा जानु भनेपछि नारी जातिकै लागि त्योभन्दा ठूलो अपमान अरु क्यै लाग्दैन । एउटा लोग्नेलाई पनि के भाग लगाएर मायाँ गर्ने ? झुत्ती खेल्ने जस्तो लाग्यो । त्यसैले त्यो प्रस्ताव स्पष्ट अस्वीकार गरें ।’ (मिर्मिरे २०४७ असार–साउन)

धनुवरले पारिजातलाई अपनाउन नपाए पनि भन्छन्–

‘म तिमीलाई सुखी देख्न चाहन्छु, हाँसेको हेर्न चाहन्छु । जसरी हुन्छ तिमी सुखी हौ ।’  (पेज–२३)

पारिजातले यस कृतिमा धनुवारमाथि अलि बढी शब्द खर्चेकी छिन् । तर धनुवरमाथि उनले यसअघि कलम नचलाएकी भने हैनन् । अन्तर्वार्ता र चिट्ठीहरुमा उल्लेख नगरेकी पनि हैनन् ।

तर मेरो दृष्टिमा धनुवरसँगको दुई प्रसङ्ग भने बढी चोटिलो, एक प्रकारले चरमोत्कर्ष, अविष्मरणीय हो–

पहिलो प्रसङ्ग

म कायल भएर भन्छु, ‘मुखियाज्यू, तपाईं मेरो देवता हुनुहुन्छ, तपाईंले मलाई बलात्कार गर्न सक्नु भएन ।’  (पेज–३५)

सम्भवतः यो आत्म संस्मरणको सबैभन्दा विचारोत्तेजक वाक्य यही हो ।

दोश्रो प्रसङ्ग

बिदाइको बेला उनले मलाई ढुङ्गाको ब्रुचपिन स्वीटरमा लगाइदिँदै भनेका थिए, ‘तिमी ढुङ्गा मन पराउनेलाई ।’

ढुङ्गा सङ्कलन गर्ने मेरो शोख हो । (पेज–२३)

यो प्रसङ्ग निकै प्रतिकात्मक छ । एकातिर पारिजात साँच्चै ढुङ्गा मन पराउँथिन् । ढुङ्गा सङ्कलन उनको शोख थियो पनि । तर यहाँ धनुवरले त्यसो भन्नुमा पारिजातलाई उनको प्रेम अस्वीकार गरेकोमा, बिहेको प्रस्ताव अस्वीकारेकोमा ढुङ्गा जस्तो मन भएकी भन्ने लाक्षणिक अर्थमा पनि बुझ्न सकिन्छ ।

पारिजातले यस पुस्तकमा स्कटल्याण्डमा अध्ययनरत, ‘प्रतिभाशाली विद्यार्थी’सँग उनको परिचय, ती विद्यार्थीसँग दर्शन सम्बन्धी भएको कुराकानी, उनकै माध्यमले उनले अंग्रेजी भाषामा अनुदित मुसलमानहरुको धर्मग्रन्थ कुरानको पठन गरेर ‘जीवनका पीडाहरुलाई कुरानमा बिसाउने प्रयास गरेको’ उल्लेख गरेकी छन् । (पृष्ठ–५५) ।

ती प्रतिभाशाली विद्यार्थी स्कटल्याण्ड फर्केपछि पत्राचार भएको पनि उल्लेख छ । मलाई कताकता लाग्यो, ती पत्रहरु सुरक्षित रहेको भए, कति महत्वपूर्ण दस्तावेज हुन्थे होलान् । ती प्रतिभाशाली विद्यार्थी को होलान्, जिज्ञासा उत्पन्न हुन्छ, तर पुस्तकमा तिनको नाम कतै उल्लेख छैन ।

पारिजातलाई डाक्टर बनाउने चाहना राख्ने पिता केएस वाइवा निरन्तर औषधीको प्रयोग गरिरहेका हुन्छन् । तर यसका लागि सामग्री जोर्न उनीसँग आर्थिक हैसियत छैन । पारिजातको राजीनामा स्वीकृत भएपछि मदन मेमोरियलबाट आएको सञ्चय कोषको पैसा सात सय मध्ये उनले चार सय बाबुलाई दिएपछि बाबु भन्छन्, ‘तेरो यस सहयोगको तारिफ गर्छु । तँ दार्जिलिङ जा, तँलाई केही भएको छैन । हावा पानीले सबै ठिक गर्नेछ ।’ (पेज–५६)

पारिजात दार्जिलिङ जान्छिन् । बाबुको चिट्ठी आउँछ, ‘महन्त तन्नेरी हुँदै मोटाएको छ । मेरो औषधी सफल होला जस्तो छ । यो सफलता तेरो सफलता हो, मेरो होइन ।’ (पेज–६७/६८)

यो चिट्ठीको जवाफमा पारिजातले जे लेखिन्, त्यो कटु सत्य र मार्मिकताबोधको चरम अभिब्यक्ति थियो जुन पढ्दा पाठकले रुञ्चे हाँसो महसुस गर्छन्, ‘सत्तरी वर्षको महन्त तन्नेरी हुँदैछ, बधाई छ तपाईंलाई, तपाईंको अनुसन्धानलाई, म आफ्नो जल्दोबल्दो उमेरमा गजबसँग बूढी भैसकेकी छु । हुनसक्छ म मर्छु पनि ।’

(पेज–६८)

यस पटकको दार्जिलिङ बसाइमा उनी बिरामीले नराम्ररी थलिएको बयान, निकै मार्मिक र मनै विह्वल गराउने खालको छ । उनकी दिदीले नुहाइदिनुपर्ने अवस्था आउँछ र दिदीको भनाइ छ, ‘बाबै तेरो शरीरमा त मासु नामको केही चिज पनि छैन ।’  (पेज–६६)

यसपल्टको दार्जिलिङ बसाइको उपलब्धि पारिजात यसरी व्यक्त गर्छिन्, ‘म काठमाण्डु फर्किन्छु नर्भसनेस र इनसोम्नियाको अभिशप्त रोग बोकेर ।’ (पेज–७८)

०००

पारिजातको यो आत्म संस्मरण लेखकीय इमान्दारी, यथार्थको साबुत वर्णन, निर्वन्ध लेखनको सुन्दर दृष्टान्त र पारिजातको निख्खर मौलिक शैलीले जलपयुक्त छ । तर यस कृतिलाई प्रकाशनपूर्व गहनतापूर्वक अध्ययन गरेर पुस्तकमा आएका प्रश्न जन्माउने प्रसङ्गहरु खोलाउन सकेको भए उत्तम हुने थियो । दृष्टान्तका लागि–

१. पारिजात पहिलोपल्ट ७ वर्षपछि दार्जिलिङ गएको साल महिना पुस्तकमा खुल्दछ । तर पछि–पछि गएको मिति खुल्दैन ।

२. पृष्ठ ६१ मा ‘काठमाण्डुबाट, बेलायतबाट माया र प्रेरणाले भरिएका चिट्ठी आउँछन्’ लेखिएको छ । काठमाण्डुबाट चिट्ठी पठाउने त उनका बाबु नै हुन्, त्यो खुलेको पनि छ । तर बेलायतबाट पारिजात बिरामी भएको थाहा पाएर चिट्ठी पठाउने को हो ? त्यो प्रश्नको उत्तर भेटिन्न ।

३. पृष्ठ ४४ मा लेखिएको छ, ‘एक दिन हामी गोर्खा दुःख निवारक सम्मेलनको हलमा भिक्षुजीका निम्ति कविगोष्ठीको आयोजना गर्छौं, जसमा म पनि अतिथिका रुपमा निम्त्याइएकी छु ।’ यो प्रसङ्ग अमिल्दो छ । आफैं आयोजक र आफैं अतिथि कसरी हुन्छ ?

साथै यस कृतिलाई अप्रकाशित पाण्डुलिपिको रूपमा रहेको मानिए पनि यसका केही अंश भने प्रकाशित थिए जुन तथ्य पारिजात स्मृति केन्द्रले लेखेको ‘मन्तव्य’मा खुलाइएको छैन ।

यस पुस्तकको पृष्ठ ४९ को तेश्रो अनुच्छेद ‘भविष्यविहीन, निरुद्देश्य केही दिन बिताएपछि एक दिन खालिङ दाइ, कवि सिद्धिचरण श्रेष्ठ…’ देखि ५३ पेजको कवितांश सम्मको अंश ‘चोर ढोका’ शीर्षकमा ‘एउटा चित्रमय शुरुवात’ शीर्षकमा  पारिजातको जीवनकालमा नै २०४५ सालमा प्रकाशित भएको पुस्तकमा समाविष्ट भैसकेको थियो ।

त्यसबेला सो ‘चोर ढोका’ शीर्षकमा पारिजातको यस्तो टिप्पणी समेत प्रकाशित भएको थियो- ‘डा. वर्जेससँग भेट हुनुभन्दा केही अघिको स्थिति हो यो, जसलाई मैले वि.सं. २०२१–२२ सालको आत्म संस्मरणबाट जस्ताको त्यस्तै उद्धृत गरिदिएकी छु ।’

यो टिप्पणीले प्रस्तुत पुस्तक २०२१–२२ सालमा लेख्न शुरु गरिएको बुझिन्छ र प्रस्तुत पुस्तकको पृष्ठ ६४ मा उल्लिखित ‘२०२८ सालको यस डेरामा बसेर यो जो संस्मरण लेखिरहेकी छु…’ भन्ने वाक्यांशले यो पुस्तकको सबै अंश २०२८ सालमा नै लेखिएको हो कि भनेर पाठकले ठान्ने अवस्थालाई खण्डित गर्दछ । बरु यो पुस्तक २०२१–२२ देखि २०२८ सालको अवधिमा लेखिएको हुनुपर्छ भन्ने सत्यलाई स्थापित गर्दछ ।

त्यसैगरी पुस्तकको पृष्ठ ३०–३१ मा प्रकाशित अंश पनि ‘तीन चिह्नले बनेकी तीन सीमाभित्र बन्दः पारिजात’ शीर्षकमा उपहार पत्रिकाको २०५० भदौ–कात्तिक अंकमा प्रकाशित भैसकेको हो ।

यी दुवै अँशहरुलाई मैले पारिजातको जीवनी ‘सुश्री पारिजात’मा उद्धरण सहित प्रस्तुत गरिसकेकाले यो पुस्तकको सबै अंश नयाँ र अप्रकाशित भन्न सकिने अवस्था रहेन ।

०००

सामान्यत दिवंगत लेखकका यस्ता दुर्लभ कृति प्रकाशनको सिलसिलामा केही जानकारी अनिवार्य रुपमा पुस्तकमा उल्लेख गर्ने परम्परा पाइन्छ, प्रकाशनको दुनियाँमा । त्यो कृति कहिले लेखिएको हो वा कुन कालखण्डमा लेखिएको हो, त्यसको शीर्षक मूल लेखकले राखेका हुन् कि पछि राखिएको हो, त्यस पाण्डुलिपिमा कुनै सम्पादन वा थपघट गरिएको छ कि छैन, त्यस पाण्डुलिपिको विषयमा लेखकले केही भनाइ वा इच्छा जाहेर गरिएको भए त्यसको जानकारी दिइन्छ ता कि त्यसले पाठकलाई सो कृतिको विषयमा यथेष्ट जानकारी होस् । तर पारिजातको यस कृतिमा यस्ता कुनै पनि जानकारी दिइएको छैन ।

स्वाभाविक हो, यो कृति अध्ययन गर्दा पाठकले खोज्ने त्यो प्रसङ्ग र कारण जसले गर्दा पारिजातले आफ्नो जीवनकालमा मात्र होइन उनको नामसँग जोडिएको, प्रथम प्रेमीको रुपमा चित्रित धनुवर मुखियाको समेत जीवनकालमा यो प्रकाशित गर्न उपयुक्त भएन । तर सिङ्गो कृतिमा त्यस्तो प्रसङ्ग आउँदैन । पाठकले सोच्न सक्छन्, त्यसो भए पाण्डुलिपिमा रहेका त्यस्तो प्रसङ्ग हटाइएका हुन् त ? यसको उत्तर पनि यो पुस्तकले दिँदैन ।

र पारिजातलाई प्रगतिवादी चश्माले मात्र हेर्नेहरुलाई यो पुस्तकले निराश तुल्याउन पनि सक्छ, यो उनी प्रगतिवादी हुनु अघि लेखिएको निस्सारवादी लेखिका पारिजात मात्र भेटिने आत्म संस्मरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?