+
+

गठ्ठाघर दुर्घटना : ट्रक चालक कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १४:०२

‍२६ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।

ना६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

अदालतको आदेशपछि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले अनलाइनखबरलाई बताए ।

२४ भदौमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले श्रेष्ठलाई कारागार चलानको आदेश दिएको थियो ।

श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२) को कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

उपदफा (२)मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।

३१ साउनको दिउँसो १ः४० बजेतिर श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिंदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

स्थानीयले भने ट्राफिकले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी वेद विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्याँससमेत प्रहार गर्नु परेको थियो ।

प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबलदार बहादुरे राउत र भक्तपुरको गठ्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए ।

प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पुर्‍याएका थिए ।

घटनाको छानबिन गर्न भक्तपुरका सहायक सीडीओ डोरेन्द्र निरौला र प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रजित केसी नेतृत्वमा छुट्टा-छुट्टै दुई समिति बनेका थिए ।

दुवै समितिले ट्राफिकले दुर्घटनामा परेका सवारी नरोकेको निष्कर्ष निकाल्दै ट्राफिकको गल्ती नरहेको उल्लेख गरी प्रतिवेदन बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?