+
+

रुपन्देहीको कालीदह नाकामा पर्यटकलक्षित एकीकृत जाँच विन्दु

टोपराज शर्मा टोपराज शर्मा
२०८१ भदौ २६ गते १३:५९

२६ भदौ, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारी साधनमा नेपाल भित्रिने पर्यटक लक्ष्य गरी एकीकृत जाँच विन्दु सञ्चालनमा ल्याइएको छ ।

स्थलमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकामा गतअसार २६ मा एकीकृत जाँच विन्दु सञ्चालन गरिएको थियो । उक्त नाकामा जाँच विन्दु प्रभावकारी भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकामा पनि बुधबारबाट एकीकृत जाँच विन्दु सञ्चालनमा ल्याएको हो ।

एकीकृत जाँच विन्दुमा सवारीको सम्पूर्ण जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेंलो कार्ड चालकलाई दिइने छ । यस्तो सवारीले सुरक्षा जाँच भइरहेको ठाउँमा अन्य कागजात नदेखाई त्यही कार्ड देखाएर गन्तव्यसम्म पुग्नेछन् ।

स्थानीय तहसँग समन्वय गरी जाँच विन्दु सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । ‘सवारी साधनमा नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच विन्दु अवधारण ल्याई सञ्चालनमा ल्याइएको हो’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘बेलहियामा जस्तै कालीदहको एकीकृत जाँच विन्दुमा पनि भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले एकैठाउँमा जाँच गर्नेछन्,त्यसपछि उनीहरुलाई सुरक्षा जाँचसहितको कार्ड उपलब्ध गराइने छ र जिल्लाभर अन्यत्र चेकजाँच हुने छैन ।’

सुरक्षाकर्मीलाई शंका लागेका बेला जुनसुकै ठाउँमा चेकजाँच हुने तर नियमतवश वा अन्य बहानामा पर्यटकलाई दुख दिने गरी चेकजाँच गरिरहन नपर्ने व्यवस्थाका लागि एकीकृत जाँच विन्दुबाट कार्ड उपलब्ध गराइने र सो कार्ड देखाएर जिल्लाभर पर्यटकका गाडी आउजाउ गर्न पाउने प्रजिअ अर्यालले बताए ।

पछिल्लो समय आफ्नै सवारी साधन लिएर बुद्ध जन्मस्थल, बुटवलको लुम्बिनी केबलकार लगायत ठाउँ आउजाउ गर्ने अधिकांश भारतीय पर्यटक कालीदह नाका हुँदै भित्रिन्छन् ।

बेलहिया–सुनौली नाकाबाट भने भारतसहित तेस्रो मुलुकका पर्यटक पनि भित्रिन्छन् । कालीदहमा अध्यागमन कार्यालय नभएकाले तेस्रो मुलुकका पर्यटक भने बेलहिया–सुनौली नाका हुँदै नेपाल भित्रिनुपर्ने बाध्यता छ । भारतीय पर्यटकलाई भने भिसा नलाग्ने भएकाले बेलहियाँसँगै कालीदह नाका प्रयोग गर्छन् ।

तर, सुरक्षाको बहानामा पर्यटकका सवारी जिल्लाका दर्जन ठाउँमा चेकजाँच गरिँदा पर्यटकलाई हैरानी भएको नेप्लिज होटेलियर्स एसोसिएसन लुम्बिनीका अध्यक्ष प्रविणबहादुर पाठक बताउँछन् । ‘बेलहिया–सुनौली र कालीदह नाकामा एकीकृत जाँच विन्दु सञ्चालनमा आएपछि भारतीय पर्यटकलाई लुम्बिनी र बुटवल आउन सहज हुने विश्वास छ’, पाठकले भने ।

प्रजिअ अर्यालले छिट्टै कालीदह छोटी भन्सारमा भारतीय सवारीको भन्सार सुविधा दिने व्यवस्था मिलाइने जनाए । कोरोना अघि यो नाकाबाट भित्रिने सवारीको भन्सार सुविधा यहीबाट दिइन्थ्यो । तर, अहिले रोकिएको छ ।

यसलाई पुनः सञ्चालनका लागि प्रशासनले पहल गरिरहेको अर्यालले बताए । उनले कुनै पनि बहानामा पर्यटकलाई दुख दिने, हैरानी गर्ने र उनीहरुबाट आर्थिक लाभ उठाउने जस्ता काम भए कारबाही गरिने बताए ।

‘पर्यटक नेपालमा घुम्न, रमाउन र आनन्द लिन आउँछन्, तर विभिन्न बहानामा दुःख दिने गरेको गुनासाहरु आइरहन्छन्’, उनले भने, ‘अब, पर्यटकलाई दुःख दिने सुरक्षाकर्मी, कर्मचारी वा जोसुकै व्यक्ति भए पनि कारबाही हुन्छ ।’

उनले सबै मिलेर पर्यटकलाई स्वागत गर्ने र रुपन्देहीसहित मुलुकमै शान्त र सुरक्षित वातावरण छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले चोरीतस्करी र गैरभन्सार क्रियाकलाप रोक्न लागिपरेको जनाए ।

लुम्बिनीका नगर प्रमुख सजरुद्दिन मुसलमानले पर्यटकीय वातावरण बनाउन एकीकृत जाँच विन्दु प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले पर्यटकमैत्री वातावरण बनाउन सरकारसँगै स्थानीय बासिन्दाको पनि दायित्व भएको जनाए । उनले कालीदहबाट भारतीय सवारी नेपाल प्रवेश गर्दा  भन्सार सुविधा दिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।

नगरपालिकाको लगानीमा कालीदहमा स्थायी संरचना बनाइ एकीकृत जाँच विन्दु सञ्चालन गरिएको हो । कालीदहको एकीकृत जाँच विन्दुको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?