+

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

२०८१ भदौ  २६ गते १४:०२ २०८१ भदौ २६ गते १४:०२
क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सर यसै पनि एक प्राणघातक रोग हो । समयमा पहिचान नभएमा यही रोगले गर्दा अन्य स्वास्थ्य समस्या ल्याउँछ । जसमध्ये एक हो मुटुरोग ।

क्यान्सरको रोग र मुटुमा हुने रोग फरक-फरक तर जटिल रोग हुन् । फरक रोग भएपनि क्यान्सरले मुटुमा असर गर्न सक्छ ।

त्यसअघि दुवै रोगबारे बुझौं ।

क्यान्सर रोग खानपान, क्यान्सरजनक विषालु तत्व तथा कोषिकाहरुको अनियन्त्रित वृद्धि र वंशाणुगत कारणले लाग्न सक्छ ।

त्यस्तै, मुटुरोग विशेषगरी बोसोजन्य खाद्यपदार्थ, रक्तसञ्चार, मुटुको रक्तनली, मुटुको भल्ब, मुटुको विद्युतीय तरंगबाट नियन्त्रित गति, मधुमेह र रक्तचाप, मुटुको भित्तामा बोसो जम्नु र मोटोपनका कारण लाग्न सक्छ । केही वंशाणुगत पनि हुन्छ ।

मुटुको भित्ताहरुबीच पानी जम्नु र मुटुको धड्कन गर्दा पूरा फुक्न नसक्नु दुई प्रमुख किसिमका अवस्था प्रायजसो क्यान्सरका बिरामीमा देखा पर्छन् । यस बाहेक मुटुको गतिमा कमी आउनु र मुटुको कार्यमा सन्तुलन बिग्रनु लगायत पनि देखा पर्छन् ।

मुटुरोग प्रत्येक १० जना क्यान्सर रोगमध्ये एकजना रोगीलाई हुने गर्छ ।

निम्न क्यान्सरका रोगहरुमा मुटुको रोग प्राय: धेरै देखा पर्छ ।

– फोक्सोको जटिल क्यान्सर

– छालाको मेलानोमा क्यान्सर

– स्तन क्यान्सर

– रगत सम्बन्धी ल्युकेमीया क्यान्सर

– लिम्फ गाँठो सम्बन्धी लिम्फोमा क्यान्सर

– अन्य क्यान्सर

क्यान्सरका बिरामीलाई केमोथेरापी र विकिरणबाट उपचार गर्दा पनि मुटुको अवस्था बिग्रन सक्छ । केमो औषधि र विकिरणको साइड-इफेक्टले पनि यस्तो हुनसक्छ । यस्तोमा मुटुमा पनि समस्या भएको पुष्टि भएमा केमो औषधि उपचार र विकिरण उपचार बन्द गर्नुपर्ने हुन्छ ।

कस्ता औषधिले मुटुमा असर गर्छ ?

– डक्सोरुबीसीन

– इपीरुबीसीन

– साइक्लोफसफामाइड

यदि कुनै बिरामीलाई क्यान्सर रोग हुनुअघि नै मुटुको रोग पहिलादेखि नै छ भने माथिका औषधि प्रयोग गर्नु हुँदैन । मुटुरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ । र, अन्य औषधिको विकल्प खोज्नुपर्छ ।

क्यान्सर भएकालाई मुटुमा समस्या हुँदा देखिने लक्षण

सास फेर्न गाह्रो हुनु, दम हुनु, स्वाँस्वाँ हुनु, खोकी लाग्नु, जुरुक्क उभिंदा चक्कर लाग्नु वा सास बढ्नु, थकान महसुस हुनु, आत्तिनु, डराउनु र मुटुको धड्कन अनियमित हुनु लगायतका लक्षण देखिन सक्छ ।

माथि उल्लेखित लक्षण अन्य रोगहरुमा पनि देखा पर्न सक्छन् । तसर्थ, बिरामीले उपचार पाइराख्नु भएको चिकित्सक र क्यान्सर रोग विशेषज्ञलाई यस्ता लक्षण देखिए बताउनु आवश्यक छ । ताकि, चिकित्सकले निरीक्षण र परीक्षणपछि आवश्यक उपचारअघि बढाउनु सहज होस् ।

के कस्ता परीक्षण गरिन्छ ?

– रगतको परीक्षण

– मुटुको इसीजी र इको

– छातीको एक्स-रे

– एन्जियोग्राफी

मुटुको भित्ताबीच जमेको पानीको परीक्षण

मुटुको समस्या भएमा तत्काल समस्या देखा पर्दैन । क्यान्सर रोगको उपचारको क्रममा वा उपचार सकेको केही दिन, महिना वा वर्षपछि देखा पर्न सक्छ । यो मुटुको रोग हुनुमा बिरामीको खानपिन, कमजोर स्वास्थ्य अवस्था, शरीरमा आएको परिवर्तन, नजिकैको अंग फोक्सो वा स्तनमा बढेको क्यान्सर स्वयं पनि हुनसक्छ । परीक्षणहरु गर्दा रगतमा रातो कोषिकाहरुको कमी, सेतो कोषिकाहरु घटेको वा बढेको देखिन सक्छ ।

मुटुको इसीजीमा विद्युतीय तरंगका रेखाहरु असमान्य तथा अनियन्त्रित देखिन सक्छ । मुटुको इको इजेक्सन फ्र्याक्सन ५० प्रतिशत भन्दा कम, मुटुको भित्ताहरु पानी जमेर मोटाएको मुटु पूर्ण रुपमा फुक्ने खुम्चिने प्रक्रिया अवरुद्ध भएको, मुटुको भल्बहरु पूर्ण रुपमा खुल्ने र बन्द हुने प्रक्रियामा समेत अवरोध आउँछ ।

यदि अन्य अङ्ग फोक्सो, स्तन आदिको क्यान्सर मुटुमा फैलिएको छ भने मुटुको पर्खालको पानीमा क्यान्सरका कोषिकाहरू भेटिन सक्छन् ।

क्यान्सरका बिरामीलाई मुटु सम्बन्धी समस्या देखा परेमा गरिने उपचार

– रोगको कारक तत्व हटाउनु वा बन्द गर्नुपर्छ

– बिरामीलाई  आईसीयू, वार्ड, मेडिकल अन्कोलजी जी वार्डमा भर्ना गर्नुपर्छ ।

– बिरामीको उपचार मुटुरोग विशेषज्ञ र क्यान्सर रोग विशेषज्ञ मेडिकल अन्कोलजिस्ट दुवैको दैनिक प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्छ ।

माथि उल्लेखित क्यान्सर रोग र मुटु रोग जो कोहीलाई हुनसक्छ । यी दुवै रोगबाट बच्न राम्रो उपाय भनेको यी रोग लाग्न नै नदिनु हो ।

रोग लाग्न नदिन खानपान, रहनसहनलाई सन्तुलित राख्न, चुरोट, रक्सी र जोखिमयुक्त धुम्रपान नगर्न र बेला बेलामा स्वास्थ्य जाँच परीक्षण गर्नु सबैभन्दा राम्रो हो ।

क्यान्सर डा. समिम अख्तर मुटुरोग
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट

डा. अख्तर हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?