+
+

कांग्रेसको निष्कर्ष : उपसभामुखको पत्र संवैधानिक पद दुरुपयोग

लिलु डुम्रे लिलु डुम्रे
२०८१ भदौ २६ गते १९:३०

२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरले पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

उसले रानालाई उपसभामुखबाट राजीनामा दिन आग्रह गरेको छ । राजीनामा नदिए ‘पदीय आचरण विपरीत कार्य’ गरेको अभियोगसहित हटाउने प्रक्रिया थाल्ने उसको निर्णय छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सत्तारुढ दलहरुको बैठकमा उपसभामुख रानाको विषय उठाएका थिए । यसबारे औपचारिक धारणा तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका थिए ।

बैठकको सुरुवातमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकले बालुवाटार बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री ओलीले सोमबारको बैठकमा उपसभामुख रानामगरले पदीय आचरण अनुसार काम नगरेको विषय राखेका खड्का र लेखकले कांग्रेस बैठकमा सुनाएका थिए ।

त्यसपछि नेताहरुले उपसभामुखले गरेको काम पद अनुकुलको आचरण हुने/नहुने विषयमा छलफल गरेका थिए । उपसभामुख संवैधानिक पद भएको र सरोकार नभएका व्यक्तिलाई अमेरिका लाने उद्देश्यले पत्र लेख्नु पदको दुरुपयोग भएको नेताहरुको धारणा थियो ।

उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् ।

‘त्यो सिफारिसमा उपसभामुखले सरासर ढाँट्नुभएको छ । पाँच जना उहाँ जाने कार्यक्रममा जान लागेकै होइनन्,’ शीर्ष तहका नेताले पार्टी बैठकमा भएको छलफलबारे भने, ‘राष्ट्र संघको महासभामा अमेरिका आफू जाँदै गर्दा प्रधानमन्त्रीले असम्बन्धित व्यक्तिलाई यसै गरी सिफारिस गरे के हुन्छ ? यो विषय पनि त्यस्तै हो ।’

उपसभामुख रानाले सार्वजनिक रुपमा झुट बोलेको कांग्रेस नेताहरुले बताएका छन् । पाँच जनासँग चिनजान नभएको बताउने उपसभामुख रानामगरले आफूसँगै लान खोज्नु असल नियत नभएको उनीहरुले बताएका छन् ।

‘उहाँले सरासर उपसभामुख पदको दुरुपयोग गर्नुभयो । सिफारिस अरुले पनि गर्छन् भनिए जस्तो विषय यो होइन,’ बैठकमा सहभागी नेताले भने ।

उपसभामुख रानामगरले दूतावासलाई लेखेको पत्र साउनको सुरुमा सार्वजनिक भएपनि तत्कालीन समयमा नै निष्कर्षमा नपुर्‍याएर अहिले किन उठाइयो भने चासो समेत नेताहरुले राखेका थिए ।

‘यस्तो गम्भीर विषय निरन्तर रुपमा उठाइरहनु पर्थ्यो । त्यो बेला उठाएपछि समाधान भएजस्तो गरेर त्यसै छोड्न हुन्थेन भन्ने नेताहरुको आशय थियो’, बैठकमा सहभागी नेताले भने ।

त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति निकालेर अन्य नेताहरुले पनि यस्तै प्रकृतिको सिफारिस पत्र लेख्ने गरेको जनाएको थियो । कांग्रेस बैठकमा रास्वपाले उपसभामुखको बचाउमा दिएको स्पष्टीकरण तथ्यसंगत नभएको छलफल भएको थियो ।

‘यदि उपसभामुख अमेरिका जाँदै हुनुहुन्थ्यो । त्यही कार्यक्रममा जानैपर्ने सम्बन्धित व्यक्तिको लागि पत्र लेखेको भए त्यसलाई हामीले स्वभाविक लिन्थ्यौं’, कांग्रेस नेता भन्छन्, ‘यो सरासर पदको दुरुपयोग हो । संसद सचिवालयलाई समेत जानकारी नदिइकन पदको चरम दुरुपयोग हो ।’

बैठकले उपसभामुख रानामगरले पदीय आचारण विपरीत कार्य गरेको ठहर गर्दै राजीनामा दिन आग्रह गरेको छ । ‘उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ । उहाँले सिफारिस गर्नै मिल्दैन’, बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘परराष्ट्र मन्त्रालयमार्फत भएर जानपर्ने कुरा आफैंले लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’

उपसभामुखले राजीनामा नदिए संसदीय प्रक्रिया अनुसार पदमुक्त गर्ने कांग्रेस नेताहरु बताउँछन् । ‘सभामुखले राजीनामा दिनुभयो भने ठीकै छ’, एक नेता भन्छन्, ‘दिनुभएन भने पद अनुकूलको व्यवहार नगरेको ठहरसहित हटाउने प्रक्रिया हुन्छ ।’

त्यो बेलामा दुई तिहाइ पुग्ने नपुग्नेबारे समेत कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा छलफल भएको थियो ।

जनमत र नागरिक उन्मुक्ति लगायतका दल उपसभामुख हटाउने पक्षमा रहेको कांग्रेसको बुझाइ छ । ‘अस्तिको बैठकमा प्रधानमन्त्रीलाई जनमत र नागरिक उन्मुक्तिले समर्थन दिएर गइसक्नुभएको छ’, बैठकमा सहभागी नेताले भने ।

दुई तिहाइका लागि १८३ मत आवश्यक पर्दछ । कांग्रेस र एमालेसँग १६७ सांसद छन् । सत्ता पक्षका सबै सांसदको संख्या १८० रहेकाले थप ३ जना दुईतिहाइका लागि आवश्यक पर्दछ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?