+
+

साउनयता जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १८:४९

२६ भदौ, काठमाडौं । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो ।

गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो ।  यस वर्ष कैलालीमा तीन, सुनसरीमा दुई र सर्लाही, पाल्पा, चितवन तथा कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

‘साउन र भदौ महिना जेइ को संक्रमणदर उच्च हुन्छ । तराई क्षेत्रमा आउट ब्रेक भएको छ,’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘जेइ को संक्रमणको मृत्युदर पनि उच्च छ । रोकथामका लागि काम थालिसकेका छौं ।’

गत वर्षको तुलनामा यस वर्ष संक्रमितको संख्या कम भए पनि मृत्युदर बढेको महाशाखाले जनाएको छ । मृत्यु हुनेमा धेरैजसो जापानी इन्सेफ्लाइटिस विरुद्धको खोप नलिएका व्यक्तिहरू छन् । संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका बालबालिका छन् ।

‘जेइको विरुद्धमा खोप दिइरहेका छौं । अधिकांश खोप नलगाउने मानिसलाई मृत्यु पनि भइरहेको छ,’ डा. गौतमले भने ।

जापानी इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गर्छ ।  यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिन्छन् ।  उपचारपछि निको भए पनि पक्षाघातको समस्या रहन सक्छ ।

महाशाखाले जापानी इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

डा. गौतमका अनुसार मनसुनको समयमा यो रोगको जोखिम बढी हुने हुन्छ । वर्षायाममा बढी आद्रता र बाढीका कारण सरसफाइमा कमी आउँदा लामखुट्टेको वृद्धि हुन्छ । जसले संक्रमणको जोखिम बढाउँछ ।

जापानी इन्सेफलाइटिस मुख्यतया सुँगुर र चराहरूमा पाइने भाइरसबाट हुन्छ ।  क्युलेक्स प्रजातिको लामखुट्टेले यी जनावरलाई टोकेर मानिसमा सार्छ ।  यो रोगले मस्तिष्कमा असर गर्छ । उच्च ज्वरो, टाउको दुखाइ, जीउ काम्ने र गम्भीर अवस्थामा कोमासमेत हुन सक्छ ।

स्वास्थ्य विशेषज्ञहरूले यो रोगको कुनै निश्चित उपचार नभएको तर लक्षण अनुसारको उपचार गरिने बताएका छन् ।  रोग नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ ।

चिकित्सकका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने,घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन ।

डा. गौतमले भदौंसम्म संक्रमणको जोखिम उच्च रहने भएकाले सतर्क रहन र कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?