+
+

गट्ठाघरमा प्रहरी आक्रमणको आरोपमा पक्राउ परेका ४ जना छुटे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १६:२२

२६ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा ३१ साउनमा भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा भएका छन् ।

ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले झापाको बाह्रदशी गाउँपालिका ५ घर भएका ३१ वर्षीय सुवास बस्नेत, कपिलवस्तुका २६ वर्षीय सुदीप पराजुली, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगरलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका चारै जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनीहरु चारै जनालाई जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए । उनीहरुलाई ११ भदौमा भक्तपुरका विभिन्न ठाउँहरुबाट प्रहरीले पक्राउ गरेको थियो ।

३१ साउनमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका स्कुटर चालक ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीले जाँच गर्न स्कुटर रोक्दा दुर्घटना भएको भन्दै प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले ट्राफिक प्रहरीमाथि समेत आक्रमण गरेका थिए । प्रहरीले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबलदार बहादुर राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए ।

प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पु‍र्‍याएका थिए । आक्रमणमा संलग्नहरुमध्ये प्रहरीमाथि हातपात गर्नेहरुलाई पहिचान गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

त्यसैगरी दुर्घटनामा संलग्न ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?