+
+

मलाइका अरोराका बुवाको सात तलामाथिबाट हाम फालेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १६:३८

काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोराका पिता अनिल अरोराले बुधबार मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । मृत्युको कारण नखुलेपनि मलाइकाका बुवाले हाम फालेको प्रहरीले पुष्टि गरेको छ । यसैबीच, प्रहरीले मलाइकाकी आमा जोइस पोलिकर्पको बयान लिइसकेको छ । जोयसले बुधबार बिहान के भएको भनेर प्रहरीलाई बयान दिएकी छन् ।

‘न्युज १८’ को रिपोर्ट अनुसार मलाइकाकी आमाले अनिलले हरेक दिन बाल्कोनीमा बसेर अखबार पढ्ने गरेको बयान प्रहरीलाई दिएकी छन् । उनको र अनिल अरोराको धेरै वर्षअघि सम्बन्ध विच्छेद भएको थियो, तर पछिल्ला केही वर्षदेखि दुवै सँगै बस्न थालेका थिए । उनी आयशा मनोरको सातौं तल्लामा बस्थे ।

मलाइकाकी आमाले प्रहरीलाई बताएअनुसार बुधबार बिहान उनले पूर्वपति अनिल अरोराको चप्पल बैठक कोठामा देखेपछि उनलाई हेर्न बाल्कोनीमा गएकी थिइन् । बाल्कोनीमा पनि नभेटेपछि उनले तल गएर हेरेको बयान दिएकी छन् । त्यसपछि चौकीदारले सहयोगका लागि कराइरहेको र अनिल भुईंमा पल्टिएको आफूले देखेको उनले बताएकी छन् ।

अरोरा लामो समयदेखि बिरामी रहेको बताइएको छ । तर मलाइकाकी आमाले यो कुरालाई अस्वीकार गर्दै उनलाई कुनै रोग नभएको बताइन् । घुँडामा मात्र समस्या रहेको उनको दाबी छ । जोयसका अनुसार अनिल अरोराले मर्चेन्ट नेवीबाट स्वेच्छिक अवकाश योजना बनाएका थिए ।

एएनआईका अनुसार प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा सुसाइड नोट फेला परेको छैन । फोरेन्सिक टोली पनि घटनास्थलमा पुगेको छ र उक्त क्षेत्रको सिलबन्दी गरिएको छ । यस घटनाको हरेक कोणबाट अनुसन्धान गरिने एक प्रहरी अधिकारीले बताए ।

बुवाको मृत्युको खबर सुन्दा मलाइका पुणेमा थिइन् । त्यसपछि तत्काल मुम्बई फर्किइन् । उनका बुवाको शव हाल बान्द्रास्थित केबी भाभा अस्पतालमा राखिएको छ । अनिल अरोराको मृत्युको खबर पाएलगत्तै मलाइकाका पूर्वपति अरबाज मलाइकाको घरमा पुगेका थिए भने सलिम खान, सलमा र अल्विरा पनि त्यहाँ पुगेका थिए ।

मलाइकाका पूर्वप्रेमी अर्जुन कपुर पनि उनको घरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?