+

चेस ओलम्पियाड खेल्न नेपाली खेलाडीले पाएनन् हंगेरीको भिसा

२०८१ भदौ  २६ गते १७:१५ २०८१ भदौ २६ गते १७:१५
चेस ओलम्पियाड खेल्न नेपाली खेलाडीले पाएनन् हंगेरीको भिसा

२६ भदौ, काठमाडौं । खेलाडीहरुले भिसा नपाएपछि हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडमा नेपालका एक खेलाडीले मात्र सहभागिता जनाउने भएका छन् ।

महिला र पुरुष ५-५ जना गरी १० खेलाडी, बुद्धिचाल संघका पदाधिकारीसहितको टोली १० देखि २४ सेप्टेम्बर (२५ भदौदेखि ८ असोजसम्म) आयोजना हुने ४५ औं चेस ओलम्पियाडमा सहभागी हुन जाने तय भएको थियो । तर नेपालबाट १० खेलाडीले खेल्ने तय भएकोमा १ खेलाडीले मात्र प्रतिस्पर्धा गर्ने बुद्धिचाल महासंघले जनाएको छ ।

नेपालमा हंगेरीको दूतावास नभएका कारण नेपाली चेस टोलीले हंगेरीको दिल्लीस्थित दूतावासमा भिसाका लागि आवेदन दिएको थियो । तर दिल्लीस्थित हंगेरीको दूतावासले नेपालको जर्मन दूतावासबाट भिसा प्रक्रिया अघि बढाउन आग्रह गरेको महासंघले जनाएको छ ।

काठमाडौंस्थित जर्मन दूतावासले नेपाली चेस टोलीलाई ४ सेप्टेम्बरमा अन्तर्वार्ताका लागि बोलाएको थियो र ५ सेप्टेम्बरमा तारेखमा भिसा अस्वीकृत भएको निर्णय गरेको थियो । त्यसपछि जर्मन दूतावासमा अपिल गरे पनि भिसा नआएको बुद्धिचाल महासंघले बताएको छ ।

त्यसपछि दिल्लीस्थित हंगेरी दूतावासले नेपाली चेस टोलीलाई दिल्लीमा बोलाएको थियो । नेपाली टोली दिल्ली गएर बुधबारसम्म भिसा प्रक्रिया पूरा गर्ने तयारीमा थिए । अन्तत बुधबार दिउँसो ३ बजे हंगेरी दूतावासले भिसा दिन असमर्थ रहेको भन्दै आवेदन नगर्न आग्रह गरेको थियो ।

४५ औं चेस ओलम्पियाडमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धरमबहादुर लामा, कोषाध्यक्ष तारा बहादुर रानाभाट र सदस्य राजु ताम्राकार जाने तय भएको थियो ।

त्यस्तै बुद्धिचालको राष्ट्रिय प्रतियोगिता बिजेता राजन सुवेदी, दोस्रो भएका शुश्रुत दाहाल, तेस्रो भएका क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियन रुपेश जयसवाल र विवेक थिङ गरी ५ जना पुरुष खेलाडी हंगेरी जाँदै थिए ।

अरुले भिसा नपाएका कारण अष्ट्रेलियाबाट हंगेरी पुगेका विवेक थिङले र्‍यापिड र ओपनमा सहभागी जनाउने भएका छन्।

महिलातर्फ नेशनल वुमन च्याम्पियन सिन्दिरा जोशी, दोस्रो भएकी कृतिसरा अधिकारी, तेस्रो भएकी पूजा भण्डारी, चौथो हुने शान्ति धिमाल र रिया श्रेष्ठ पनि ओलम्पियाडमा भाग लिन हंगेरी जाँदै थिए ।

उनीहरुबाहेक अरु चार जना पनि हंगेरी जाने टोलीमा थिए ।

चेस बुद्धिचाल भिसा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय