+

अरुलाई पीडा दिएर आनन्द लिने रोग साइकोपाथ के हो ?

२०८१ भदौ  २६ गते १७:५४ २०८१ भदौ २६ गते १७:५४
अरुलाई पीडा दिएर आनन्द लिने रोग साइकोपाथ के हो ?

काठमाडौं । भदौ ७ गते सापटी लगेको रकम फिर्ता माग्दै फोन गरेर टेकु दोभान बोलाइएपछि एक युवक साँझपख त्यहाँ पुग्छन् । त्यसपछि उनलाई अपहरणको शैलीमा गाडीमा हालिन्छ । आफूहरू सादा पोसाकको प्रहरी भएको बताउँदै लगनको एक घरभित्र लगिन्छ ।

त्यहाँ एक व्यक्तिले पर्खाल प्वाल पार्ने ड्रिल मेसिन निकाल्छन् र ती युवकलाई सोध्छन्- ‘ड्रिल गरौं कि आइरन घोटौं ?’

बाध्य भएर ती युवाले आइरन रोज्छन् । नाङ्गो शरीरमा तातो आइरनले पोलिन्छ । मलद्वारमा लट्ठी घुसार्दै करिब तीन घण्टासम्म चरम यातना दिएपछि ती युवालाई छाडिन्छ । यसरी चरम यातना दिएर आनन्द लिने आशिष देउला अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । दुई जना किशोरलाई बन्धक बनाएर यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

माथिको घटनामा संलग्न देउलाले यो सब के कारणले गरेका हुन् भन्ने तथ्य बाहिर आइसकेको छैन ।

****

केही समयअघिको कुरा हो । इलामको देउमाई नगरपालिका-९ जितपुर बस्ने २१ वर्षीय दीक्षान्त मोरोहाङ लिम्बू, सोही स्थान बस्ने १७ वर्षीय संगम लिम्बू र १७ वर्षकै अशोक लिम्बू लगायतले एउटा कुकुरको बच्चालाई क्रूरतापूर्वक कुटपिट गर्छन् । कुकुर पीडाले छटपटाउँछ, चिच्याउँछ । नजिकै खाल्डो खन्छन् र कुकुरलाई जिउँदै पुरिदिन्छन् । ती केटाहरुले कुकुरलाई क्रूरतापूर्वक कुटपिट गर्दै खाल्डोमा पुरेको भिडियो बनाउँछन् र भूतप्रेत नामक फेसबुक एकाउन्टमा पोस्ट गर्छन् ।

****

यी दुई फरक घटना भएपनि दुवैमा एउटै प्रवृत्ति देखिन्छ, अरुलाई पीडा दिएर आनन्द लिने । चिकित्सकका अनुसार यो एक किसिमको मानसिक विकार हो, जसलाई चिकित्सकीय भाषामा साइकोपाथ भन्ने गरिएको छ ।

के हो साइकोपाथ ?

साइकोपाथलाई एक प्रकारको ‘एन्टीसोसल पर्सनालिटी डिसअर्डर’का रुपमा लिइन्छ । यस विकारमा मानिसहरूमा सही र गलत, सहानुभूति वा अन्य मानिसहरूको भावना बुझ्ने क्षमता कम हुन्छ । सहानुभूति नहुनु साइकोपाथहरुमा हुने एक विशिष्ट चरित्र भएको मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् ।

‘कसैको उन्नति प्रगति देख्दा इर्ष्या गरेर त्यो व्यक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बिगार गर्न खोज्ने र त्यसो गर्दा उसलाई पीडा हुन्छ भन्ने कुराको सहानुभूति राखिंदैन भने त्यो ‘एन्टीसोसल पर्सनालिटी डिसअर्डर’ हो’ उनी भन्छन् ।

कसैको सानै उमेरदेखि साना जनावरलाई मारिदिने, बाटोमा हिंड्दै गर्दा विना कारण कुकुरलाई कुट्ने लगायत गतिविधि गर्छन् । मैले यसो गर्दा अरूलाई दु:ख हुन्छ भन्ने भावना नै हुँदैन । पछुतो नहुने र सहानुभूति नहुने हुन्छ भने त्यस्ता व्यक्तिलाई साइकोपाथ विकार हुनसक्ने पन्त बताउँछन् ।

साइकोपाथको समस्या भएको व्यक्तिले सानो गल्ती गरेर बिस्तारै गल्तीहरू बढाउँदै जान्छ । यस्ता व्यक्तिले आफ्नो आवश्यकता पूरा गर्न अरूको भावना वा समस्याको कदर गर्दैन । अर्को व्यक्तिले आफ्नो भावना वा समस्याको बारेमा कुरा गरे पनि उसले तिनीहरूलाई ध्यान नदिने उनी बताउँछन् ।

साइकोपाथको कारण

कोही व्यक्तिमा साइकोपाथ विकार छ भने त्यसमा अलिकति वंशाणुगत प्रभावसँग जोडिन सक्छ । जस्तो- परिवारमा रगतको नाता जोडिएका सदस्य ‘एन्टिसोसल पर्सनालिटी डिसअर्डर’ भएको व्यक्ति छ भने अर्कोमा पनि यो समस्या हुनसक्ने डा. पन्त बताउँछन् ।

‘एन्टीसोसल पर्सनालिटी डिसअर्डर अन्तर्गतको साइकोप्याथ रक्सीजन्य पदार्थ र लागूऔषध दुर्व्यसनसँग पनि सम्बन्धित हुन्छ’ उनले भने ।

बाल्यकालमा कुनै आघातजन्य घटनाको अनुभव, बाल्यकालमै टुहुरोपन वा अभिभावकको बीचको निरन्तर झगडा, घरेलु हिंसा, यौनजन्य हिंसा भएको अवस्थामा तथा युद्धबाट प्रभावित बालबालिकामा यो समस्या देखिन सक्ने पन्त बताउँछन् ।

साइकोपाथको उपचार सम्भव छ ?

अन्य मानसिक समस्याको तुलनामा पर्सनालिटी डिसअर्डरको उपचारलाई कठिन मानिन्छ । अझै ‘एन्टीसोसल पर्सनालिटी डिसअर्डर’ उपचार गर्न गाह्रो हुन्छ । किनकि यस्ता व्यक्ति उपचारको पहुँचमा नै नहुने मनोचिकित्सक डा. पन्त बताउँछन् ।

‘त्यस्ता व्यक्तिलाई उपचारमा लैजाने, उपचार फलोअप गराउने व्यक्ति नै हुँदैनन् । किनकि यस्ता व्यक्ति सम्बन्धबाट नै टाढा भाग्ने गर्छन् । तर बाल्यावस्थामै यो समस्या पत्ता लाग्यो भने तुरुन्त मानसिक रोग विशेषज्ञसँग भेटाएर उपचार गराउन सकियो भने पछि हुने समस्यालाई कम गर्न सकिन्छ’ उनी भन्छन् ।

अरूलाई हानि पुर्‍याउने साइकोसिसको समस्यामा पनि हुनसक्छ

अरूलाई हानि गर्ने मनसाय कडा प्रवृत्तिको मनोरोग साइकोसिसको समस्या भएको व्यक्तिमा पनि हुन्छ । साइकोसिसको समस्यामा मेरो विरुद्ध षड्यन्त्र भइरहेको छ, मलाई बिगार्न खोजिएको छ भन्ने सोच आएर यसले मलाई हानि पुर्‍याउन आँट्यो बरु म नै यसलाई हानि पुर्‍याउछु भनेर हानि पुर्‍याउने हुन्छ । तर यो समस्यामा अरूलाई हानि पुर्‍याएर आनन्द आउने भने नहुने डा. पन्त बताउँछन् ।

मानसिक समस्या साइकोपाथ
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय