+
+

सन्त कबीर र पत्नी लोईबारे नेपाली किताब

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १८:१५

२६ भदौ, काठमाडौं । सन्त कबीर र उनकी पत्नी लोईबीचको जीवन्त संवादलाई पवन थापा ‘जोय’ले नेपाली अनुवाद गरेका छन् । भारतीय पत्रकार तथा हिन्दुस्तान दैनिकका म्यानेजिङ एडिटर प्रताप सोमवंशीले लेखेको नाटक पुस्तक ‘लोई’लाई थापाले नेपाली अनुवाद गरेका हुन् ।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तक ललितपुरमा शनिबार विमोचित भएको हो । सोमवंशीले लेखेको तथा थापाले अनुवाद गरेको पुस्तकलाई विनय मिश्र, बद्री नारायण, अखिलेश, यतिश कुमार, प्रताप सोमवंशी, बसन्त बस्नेत,  आकांक्षा कार्की र गोविन्द नारायणले विमोचन गरे ।

हजार वर्षभन्दा अघिको मानिएको सन्त कबीर र लोईबीचको प्रेमकथा अहिलेको भारत उत्तरप्रदेशतिरको भूगोलमा लेखिएको हो । दलित जातकी युवती बिहे गर्ने, त्यसबेलाका हिन्दु मुस्लिम लगायत विचार राख्ने मानिसहरुसँग उदार विचारको पक्षपोषण गर्ने, महिलालाई समानताको व्यवहार गर्ने कबीरबारे रोचक वर्णन किताबमा गरिएको छ । उनकी पत्नी लोई असाध्यै बलियो पात्रका रुपमा किताबमा उल्लेख गरिएकी छन् । पुस्तकबारे बोल्दै वक्ताहरु कार्की र बस्नेतले नेपाली नाटकमा यो पुस्तक महत्वपूर्ण प्राप्ति भएको बताए ।

‘नारीपात्रलाई साँच्चिकै शक्तिशाली र निर्णायक बनाएर नाटक लेखिएको छ, यो किताब पढ्दा अनुवाद भन्दा पनि ओरिजिनल पढेको जस्तो भान भयो’ कार्कीले भनिन् ।

किताबका अनुवादक पवन थापाले कबिरका दोहाहरुलाई नेपालीमा अनुवाद गर्न परेको संघर्षबारे अनुभव सुनाए । कवि रमेश क्षितिजले उनलाई कविता अनुवादमा सहयोग गरेका थिए ।

लेखक प्रताप सोमवंशीको नाटकलाई शिल्पी थिएटरमा घिमिरे युवराजले निर्देशन गरी चाँडै नाटक मन्चन गरिने समेत अनुवादक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?