+
+

सुन प्रकरणमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १८:३८

२६ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएको ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालक फ्लोरेन्स पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको एआईजी दीपक थापाले पुष्टि गरे । छायाँ सेन्टरमा रहेको क्यासिनोका सञ्चालकलाई मंगलबार पक्राउ गरेर अदालत उपस्थित गराइएको उनको भनाइ छ ।

अदालतमा उनको बयान भइरहेको छ । फ्लोरेन्सको सुन तस्करीमा संलग्न चिनियाँ तस्कर समूहसँग सम्बन्ध रहेको खुलेको थियो । मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो ।

सुरुमा उनीविरुद्ध मुद्दा चलेको थिएन । तर, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन जाँचबुझ आयोगले उनलाई पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यसपछि उनलाई पनि प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा अधिकृतहरुले क्यासिनोको सीसी टीभी फुटेज पनि बरामद गरेका थिए । त्यसक्रममा सुन प्रकरणका चिनियाँ आरोपीहरु क्यासिनोमा पुगेको फुटेजमा देखिएको थियो ।

त्यसबेला क्यासिनो सञ्चालक फ्लोरेन्सले सुनमा जोडिएका व्यक्तिहरुलाई पहिले क्यासिनोमा देखेपनि उनीहरुको कारोबारबारे थाहा नभएको बताएका थिए । उनको बयानपछि अदालतले थुनामा पठाउने, धरौटी लिएर छाड्ने अथवा साधारण तारेखमा छाड्ने मध्ये एउटा आदेश दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?