+
+
पहिलो प्रेसिडेन्सियल डिबेट :

ट्रम्पमाथि हाबी भएकी ह्यारिस

दुई महिना अगाडि प्रेसिडेन्सियल डिबेटमा ट्रम्प, वर्तमान राष्ट्रपति जो बाइडेनमाथि हाबी भएका थिए । तर यसपटकको ९० मिनेट लामो बहसमा ह्यारिसले बाजी मारिन् ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८१ भदौ २६ गते २०:५२

२६ भदौ, काठमाडौं । व्यापार होस् वा राजनीति, डोनाल्ड ट्रम्पको सफलताको राजलाई बयान गर्ने एउटा शब्द हो, प्रभुत्व । कुनै छलफल, सम्झौता वा बहस, ट्रम्प आफ्नो हात माथि गर्न र त्यसलाई अझ बलियो बनाउन रुचाउँछन् ।

बुधबार बिहान फिलाडेल्फियाको मञ्चमा पनि एउटा प्रभावशाली उपस्थिति थियो, तर त्यो ट्रम्पको होइन ।

अमेरिकाको राष्ट्रपतिका दुई उम्मेदवार रिपब्लिकन डोनाल्ड ट्रम्प र डेमोक्र्याट कमला ह्यारिस पहिलो प्रेसिडेन्सियल डिबेटका लागि एबीसी न्यूज पुगेका थिए । दर्शक विना भएको ९० मिनेट लामो डिबेटमा क्वाइट टस ट्रम्पले जितेका थिए र उनले अन्तिम जवाफ (फाइनल क्लोजिङ स्टेटमेन्ट) रोजे ।

तर, ९० मिनेट लामो बहसमा ह्यारिसले बाजी मारिन् । राम्रो तयारी गरेकाले होला, ह्यारिससँग हरेक मुद्दामा जवाफ थियो । उनले ट्रम्पलाई भनिन्, ‘विश्वका नेताहरू तिमीलाई हेरेर हाँस्छन्, सैनिक अधिकारीहरू कलंक मान्छन् ।’

उनले ट्रम्पलाई कमजोर र गलत मात्र साबित गरिनन्, डोनाल्ड ट्रम्पलाई ८१ मिलियन मतदाताले सन् २०२० कै निर्वाचनमा निकालिदिएको उल्लेख गर्दै पञ्च लाइन मारिन् ।

बहसका क्रममा ट्रम्पले जवाफ दिइरहँदा ह्यारिस उनीसँग सिधा आँखा जुधाइरहिन् । ट्रम्पले बोलेका कतिपय कुरामा असहमति जनाउन कहिले आफ्नो टाउको हल्लाइन् त कहिले हाँसिन् मात्रै ।

जब ट्रम्पले ह्यारिसको र्‍यालीमा पैसा दिएर मानिसहरू ल्याउँछन् भन्ने दाबी गरे, तब ह्यारिसले यो मानिस के भनिरहेका छन् भन्ने आश्चर्य भावमा च्यापुमा हात राखेर ट्रम्पतिर हेरिन् ।

हँसिली कमलाका अगाडि ट्रम्प बुढो देखिए । उनी अधिकांश समय रक्षात्मक देखिए, जब ह्यारिसले एकपछि अर्को धक्का दिइन्, उनी निकै रिसाए । पटक पटक झुट बोले । अवस्था यस्तो आयो कि बहसको मोडरेटरले नै ट्रम्पको खण्डन गर्नुपर्‍यो ।

***

प्रेसिडेन्सियल डिबेटको सुरुवाती ७/८ मिनेट ह्यारिसको प्रस्तुति दमदार थिएन तर, त्यति खराब पनि होइन ।

ह्यारिसलाई मोडरेटरको पहिलो प्रश्न नै अमेरिकी अर्थतन्त्रबारे रह्यो । चुनावका क्रममा नीतिगत मुद्दामा भएको मत सर्वेक्षणहरूले अमेरिकनहरूको पहिलो प्राथमिकतामा परेको आर्थिक नीतिमा ट्रम्पमाथि बढी विश्वास देखिएको थियो ।

त्यसबारे प्रश्न आएपछि ह्यारिसले मध्यम वर्गको जीवन सुधार गर्ने आफ्नो योजना सुनाइन् । अनि ट्रम्पमाथि निशाना साँधिन् ।

ट्रम्पले अर्थतन्त्रलाई कुन हातलमा छाडेका थिए भन्ने स्मरण गर्दै उनले भनिन्, ‘ट्रम्पले जे भन्छन्, त्यसको आलोचना १६ नोबेल पुरस्कार विजेता अर्थशास्त्रीले गरिसकेका छन् र त्यसलाई लागू गरिए २ वर्षमा मन्दी आउनेछ भनेका छन् ।’

बहसको दोस्रो विषय गर्भपतनबारे थियो । यसमा ट्रम्प र ह्यारिसले एकअर्कालाई आरोपित गरे ।

ट्रम्पले डेमोक्र्याटहरूले नवौं महिनामा पनि गर्भपनत गर्ने अधिकार दिन खोजेको दाबी गरे । उनले भने, ‘कमला ह्यारिसकी उपराष्ट्रपति पदका उम्मेदवार टिम बल्जले ९ महिनामा गर्भपतनको अधिकारलाई समर्थन गरिसके ।’

ट्रम्पले बच्चालाई जन्म दिएपछि मार्ने अधिकार दिन चाहेको आरोप लगाएपछि मोडरेटरले खण्डन गरे ।

ह्यारिसले थपिन्, ‘उनीहरूले यस्तै झुट बोल्छन्, यो आश्चर्यको विषय होइन ।’ उनले गर्भपतनको अधिकार उल्टाउन खोज्ने तीन न्यायाधीशलाई ट्रम्पले नै नियुक्त गरेको स्मरण गराइन् । उपचार सेवा दिने डाक्टर र नर्सलाई अपराधी बनाउने र आजीवन कैद हुने व्यवस्था गरेको भन्दै उनले भनिन्, ‘ट्रम्पको गर्भपतन प्रतिबन्धमा कुनै अपवाद छैन । बलात्कारको मामिलामा पनि छैन ।’

उनले यति मिहिन तयारी गरेकी थिइन् कि ट्रम्पको प्रतिबन्धका कारण गर्भवतीको पार्किङस्थलमा गर्भपात हुँदा पनि स्वास्थ्यकर्मीहरूले उपचार नगर्ने अवस्था आएको बताइन् । बहसका क्रममा उनले कडा स्वरमा भनिन्, ‘महिलाको शरीरबारे के गर्ने भनेर सरकार वा डोनाल्ड ट्रम्पले भन्ने होइन ।’

प्रेसिडेन्सियल डिबेट गर्भपतन र आईभीएफको मुद्दामा आइपुग्दा ह्यारिसको आत्मविश्वास बढेको मात्र थिएन, चुुनावी प्रतिस्पर्धी ट्रम्पलाई इरिटेट गर्न सफल भइरहेकी थिइन् ।

अनि ट्रम्पले गुमाए संयमता

आप्रवासन डेमोक्र्याट उम्मेदवार ह्यारिसलाई अप्ठ्यारो पार्नसक्ने मुद्दा मानिएको थियो । किनकि बाइडेन प्रशासनमा सबैभन्दा धेरै अवैध अप्रवासीहरू अमेरिका प्रवेश गरेको रेकर्ड भएको थियो । तर ह्यारिसले यो मुद्दामा पनि ट्रम्पलाई नै अठ्यारोमा पारिन् ।

ह्यारिसले आफूले हतियार, लागू औषध र मानव तस्करहरूलाई मुद्दा चलाउने काम गरेको मात्र स्मरण गरिनन्, बोर्डर सेक्युरिटी बिललाई ट्रम्पले नै रोकेको आरोप लगाइन् । बहसमा उनले अगाडि भनिन्, ‘डोनाल्ड ट्रम्पले कंग्रेसका केही मानिसलाई फोन गरेर त्यो बिललाई रोक्न भनेका थिए । किन थाहा छ ? किनकि उनी समस्या समाधान गर्नुको साटो कायमै राख्न चाहन्छन् ।’

अमेरिकाका लागि समस्यालाई बल्झाउने भन्दा समाधान गर्ने नेता चाहिएको भन्दै उनले आफ्नो आवश्यकतालाई स्थापित गर्न खोजिन् ।

ह्यारिस यतिमा मात्र रोकिइनन्, डोनाल्ड ट्रम्पले चुनावी र्‍यालीमा अनावश्यक कुरा गर्न थालेपछि आएका मानिसहरू चाँडै फर्किने गरेको दाबी गरिन् । ‘उनले तपाईं (मतदाता) को आवश्यकता, सपनाबारे कुरा गर्दैनन् । म विश्वास गर्छु, कि यस्तो राष्ट्रपति हुनुपर्छ, जसले तपाईंलाई पहिला प्राथमिकता देओस् ।’

ह्यारिसको यो दाबीले ट्रम्प अलगथलग भए । उनले आफूलाई सम्हाल्न सकेनन् । प्रवासीहरूले घरपालुवा कुकुर र बिरालो खाने गरेको झुटो दाबी गर्न पुगे । उनको यो दाबी यति बेतुकको थियो कि डिबेट मोडरेटरले नै यसलाई खण्डन गर्नुपर्‍यो ।

मोडरेटर डेभिड मुइरले भने, ‘एबीसी न्यूजले सिटी म्यानेजरसँग सम्पर्क गरेको थियो । कुकुर, बिरालो लगायतका घरपालुवा जनावरलाई हानी गरेको कुनै रिपोर्ट छैन भनेका छन् ।’

ट्रम्पले प्रतिवाद गर्दै आफूले टेलिभिजनमा मानिसहरूले यस्तो भनेको हरेको दाबी गरे । तर मोडरेटर डेभिड मुइरले त्यस्तो कुनै प्रमाणित सूचना नभएको भन्दै खण्डन गरे ।

ह्यारिसले भने हाँस्दै भनिन्, ‘बुस, मिन रोक्नी लगायतसँग काम गरेका २०० रिपब्लिकनले मलाई अनुमोदन गर्नुको कारण यही अतिवादी सोच हो ।’

विगतमा ट्रम्पसँगै काम गरेकाहरूले नै उनलाई डरलाग्दो र अयोग्य भनिसकेको उल्लेख गर्दै ह्यारिसले ट्रम्पतिर हेर्दै भनिन्, ‘मानिसलाई असर गरेको मुद्दा सम्बोधन गर्न छाडेर यस्तो अतिवाद ! त्यसैले चुनावमा कसलाई छान्ने भन्ने प्रष्ट छ ।’

हरेक मुद्दामा रक्षात्मक ट्रम्प

जति बहस अगाडि बढ्दै गयो, ट्रम्प थप रक्षात्मक बने । ह्यारिसले उठाएको प्रश्न र लगाएका आरोपहरूको जवाफ दिन नै व्यस्त भए न कि कुनै शक्तिशाली प्रश्न सोध्न ।

६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको हिंसात्मक घटनालाई लिएर पछुतो छ भन्ने प्रश्नमा ट्रम्पले आफूले त्यसबेला पनि चुनाव नहारेको समेत दाबी गरे ।

त्यहींनेर ह्यारिसले कडा टिप्पणी गरिन्, ‘डोनाल्ड ट्रम्पलाई ८१ मिलियन मानिसले फायर गरेका हुन् ।’

उनी यत्तिमा रोकिइनन् । ‘अमेरिकाको उपराष्ट्रपतिका रूपमा मैले थुप्रै भ्रमण गरेको छु । विश्वका नेताहरू ट्रम्पप्रति हाँस्छन्’, उनले भनिन्, ‘मैले तपाईंसँग काम गरेकासहितका सैन्य नेतृत्वहरूसँग कुरा गरेको छु, उनीहरूले तपाईंलाई कलंक भनेका छन् ।’

बहसको क्रममा ट्रम्पले अदालतमा परेको मुद्दा समेत हारेको ह्यारिसले स्मरण गराइन् । तथ्यलाई तोडमोड गर्न नहुने भन्दै उनले भनिन्, ‘अमेरिकी जनता योभन्दा राम्रो नेतृत्व पाउन योग्य छन् ।’

बहसका क्रममा जब मोडरेटरले ह्यारिसको वर्णलाई लिएर गरेको विवादास्पद टिप्पणीबारे प्रश्न गरे, ट्रम्प टोलाए । यत्ति भने, ‘उनी को हुन् भन्नेले मलाइ फरक पर्दैन ।’

तर ह्यारिसले यसमा पनि उनलाई छाडिनन् । ‘मलाइ लाग्छ, यो एउटा त्रासदी हो’, पूर्व राष्ट्रपति ट्रम्पतिर हेर्दै भनिन्, ‘यस्ता व्यक्ति राष्ट्रपति बन्न चाहेका छन्, जसले सधैं अमेरिकालाई रंगका आधारमा विभाजित गर्ने कोसिस गरेका छन् ।’

ओबामा केयरको मुद्दामा पनि ट्रम्प नाजवाफ देखिए । अहिले निकै राम्रो नभएको दाबी गरेका उनलाई मोडरेटरले तपाईंसँँग के योजना छ भनेर सोधेका थिए । उनको जवाफ थियो, ‘मसँग योजनाको सोच छ तर, म अहिले राष्ट्रपति होइन ।’

छैन प्रष्ट योजना

बहसमा ट्रम्प र ह्यारिस दुवैसँग गाजा र युक्रेनका युद्ध अन्त्य गर्ने कुनै प्रष्ट योजना देखिएन ।

उपराष्ट्रपतिसमेत रहेकी ह्यारिसले ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणलाई भयावह बताइन् ।

इजरायललाई आफ्नो सुरक्षा गर्ने अधिकार रहेको बताए पनि उनले प्यालेस्टाइनमा भएको बमबारीमा महिला र बालबालिका मारिएकाले युद्ध तत्काल रोकिनुपर्ने बताइन् । उनले भनिन्, ‘युद्धविराम सम्झौता गर्नुपर्छ, बन्धकहरूलाई रिहा गर्नुपर्छ ।’

पूर्वराष्ट्रपति ट्रम्पले भने ह्यारिसले इजरायललाई घृणा गर्ने दाबी गरे । उनले अगाडि भने, ‘यदि उनी राष्ट्रपति भइन् भने दुई वर्षमा इजरायलको कुनै अस्तित्व रहने छैन ।’

ह्यारिसले तत्काल यसको खण्डन गरिन् । इजरायलको सुरक्षामा समर्थन दोहोर्‍याएकी उनले सत्यबाट मानिसहरूको ध्यान मोड्न ट्रम्पले झुट बोलेको बताइन् ।

रुस युक्रेन युद्धलाई लिएर मोडरेटरले ट्रम्पलाई सोधे, ‘के तपाईं चाहनुहुन्छ कि युक्रेनले युद्ध जितोस् ?’

ट्रम्पको जवाफ छ, ‘म चाहन्छु कि युद्ध रोकियोस् ।’

ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा त्यसको २४ घन्टाभित्र युद्ध रोक्ने दाबी समेत गरे । कसरी भन्ने प्रश्नमा उनले युक्रेनका राष्ट्रपति जेलेनेस्की र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैसँग आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गरे ।

ह्यारिसले त्यसमै ट्रम्पमाथि धाबा बोलिन् । पुटिन मात्र होइन, उत्तर कोरियाका किमजोङ उन जस्ता तानाशाहसँग ट्रम्पको राम्रो सम्बन्ध रहेको जिकिर गर्दै उनले भनिन्, ‘तपाई राष्ट्रपति नभएकोमा हाम्रो नेटो सहयोगी आभारी छन् । नभए पुटिन किभमा बसिरहेका हुन्थे र युरोपका बाँकी भूभागमा उनको नजर हुन्थ्यो ।’

पहिलो मौखिक परीक्षामा पास

दुई महिना अगाडि प्रेसिडेन्सियल डिबेटमा ट्रम्प, वर्तमान राष्ट्रपति जो बाइडेनमाथि हाबी भएका थिए । उमेरलाई लिएर लगातार प्रश्न उठेका बेला भएको त्यो बहसले बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारी छाड्ने ठाउँसम्म पुर्‍यायो ।

२१ जुलाइमा उनले राष्ट्रपतिको दौडबाट हटेको घोषणा मात्र गरेनन्, आफ्नो उपराष्ट्रपति ह्यारिसलाई अगाडि नै सारे । ह्यारिसको इन्ट्रीसँगै अमेरिकी चुनावको माहौल नै बदलियो । चुनाव हार्ने डरमा रहेका डेमोक्रेटहरू एकाएक जुर्मुराए । ह्यारिसले एकपछि अर्को चुनावी सभा सम्बोधनमा धेरैको मन जितिन् ।

तर चुनावी सभाहरूमा ह्यारिसले गरेको सम्बोधन स्क्रिप्टेड थियो । त्यसले धेरै अमेरिकनहरूको मनमा प्रश्न थियो, प्रेसिडेन्सियल डिबेटमा उनको प्रस्तुति कस्तो होला ? महंगी, आप्रवासन जस्ता मुद्दालाई कसरी ट्याकल गर्लिन् ?

सीएनएनका सिनियर पोलिटिकल कमेन्टेटर डेभिड एक्सलरोड भन्छन्, ‘यो मुद्दामा मात्र बहस होइन, विश्वकै कठिन पदका लागि मौखिक परीक्षा पनि हो । मानिसहरूले तपाईंलाई हेरिरहेका छन् । आज उन (ह्यारिस)ले त्यो पूरा गरिन् ।’

रिपब्लिकन निकट मानिने फक्स न्यूजका टोम लोबियान्कोले पनि बुधबार बिहान भएको पहिलो प्रेसिडेन्सियल डिबेटमा ह्यारिसले प्रभाव छाडेको बताएका छन् ।

उनका अनुसार नीतिबारे कठिन प्रश्नहरूलाई चलाखीपूर्वक छल्न ह्यारिस सफल भइन् । तर उनका प्रतिस्पर्धी ट्रम्पले भने आफूले आफूलाई अठ्यारोमा पारे । आप्रवासीहरूले घरपालुवा कुकुर बिरालो खान्छन् भन्ने ट्रम्पको दाबी गलत भएको भन्दै उनले प्रेसिडेन्सियल डिबेटको विश्लेषणमा भनेका छन्, ‘ह्यारिस अभियानले ट्रम्पको जंगलीपना र अराजकता देखाउन चाहेका छन्, आज त्यही भयो ।’

यस्तो प्रस्तुतिले स्वीङ (कसलाई मत दिने भनेर अहिलेसम्म निर्णय नगरिसकेका) मतदाता मात्र होइन, नयाँ मतदाताहरूलाई समेत प्रभाव पार्ने उनको विश्लेषण छ ।

सीएनएन र एसएसआरएसले प्रेसिडेन्सियल डिबेट बारे ६०० मतदातामाझ गरेको सर्वेक्षणमा ६३ प्रतिशतले ह्यारिसको प्रस्तुतिलाई मन पराएका देखाएको छ । तर यो भोटमा परिणत हुन्छ भन्ने ग्यारेन्टी छैन । सर्वेक्षणअनुसार जम्मा चार प्रतिशतले मात्र यो बहस हेरेपछि आफ्नो मन परिर्वतन भएको बताएका छन् ।

मतदानका लागि अझै ५७ दिन बाँकी छ । अझै दुई वटा प्रेसिडेन्सियल डिबेट हुन बाँकी छ । त्यसैले राष्ट्रपति चुनाव कसले जित्छ भन्न हतारो हुन्छ । पहिलो डिबेटपछि यति भन्न सकिन्छ, अमेरिकाको राष्ट्रपति चुनावमा डेमोक्र्याट उम्मेदवार ह्यारिसले ल्याएको वेभ (लहर) रोक्न सजिलो भने छैन ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?