+

एरिका र स्यान्टुले पाए उत्कृष्ट खेलाडीको पुरस्कार

२०८१ भदौ  २६ गते २१:३२ २०८१ भदौ २६ गते २१:३२
एरिका र स्यान्टुले पाए उत्कृष्ट खेलाडीको पुरस्कार

२७ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार सम्मान गरेको छ ।

बुधबार राखेपले आफ्नो ६१औं वार्षिकोत्सवका अवसरमा महिला खेलाडीमा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गर्‍यो । दुवैले समान एक लाख रुपैयाँ नगद पुरस्कार पाए ।

जुनियरतर्फ पुरुषमा क्रिकेटका दीपेश कँडेल र महिलामा एथ्लेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । उनीहरुले ५० हजार रुपैयाँ पाएका छन् । पारा एथलिट अवार्ड चौथो पारा एसियाली खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्द्धनले प्राप्त गरिन् । उनले पनि ५० हजार रुपैयाँ पाइन् ।

राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमा मनीता र बुवा प्रदीपलाई पनि कदरपत्रसहित सम्मान गरेको छ । अखिल नेपाल कबड्डी संघ र नेपाल तेक्वान्दो संघलाई पनि सम्मान गरिएको छ ।

राखेपका करार प्रशिक्षक कुशल श्रेष्ठले १० हजार रुपैयाँको पुरस्कार पाए । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड नागरिक दैनिकका अनिल मल्ल ठकुरी र अनलाइनखबरकी नमिता दाहालले प्राप्त गरे ।

राखेपले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टलाई र प्रशासनतर्फ हीराप्रसाद पौडेललाई सम्मान गरेको छ । उनीहरुले जनही २५ हजार रुपैयाँ पाएका छन् ।

उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिकमा टेबलटेनिस मुख्ख प्रशिक्षक राजेन्द्र कपाली र प्रशासनमा विरोधविक्रम जिसी नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्फ तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवी बस्नेत सम्मानित भए । दुवैले नगद १० हजार रुपैयाँ पाए ।

करारमा कर्मचारीतर्फ रिल्याक्सोलोजीका कृष्णहरि घिमिरे १० हजार नगदसहित सम्मानित भए । उत्कृष्ट खेल संघमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहमा घोडाघोडी नगरपालिका, कैलाली र उत्कृष्ट प्रायोजकमा सूर्य नेपाल प्रा.लिलाई कदर पत्रसहित सम्मान गर्‍यो ।

राखेपले आफ्ना पूर्व सदस्य–सचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा र रमेश सिलवाललाई पनि सम्मान गरेको छ ।

राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिएको थियो । २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको दिनलाई राखेपले आफ्नो वार्षिकोत्सवका रुपमा मनाउदै आएको छ ।

खेलाडी पुरस्कार राष्ट्रिय खेलकुद परिषद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय