+
+

कोशीमा को-को बन्दैछन् संसदीय समितिको सभापति ?

हरि अधिकारी हरि अधिकारी
२०८१ भदौ २७ गते ९:२४

२७ भदौ, विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

मिनी संसदको रुपमा रहेको समितिको सभापति कांग्रेस–एमालेले ३–३ वटा बाडेका छन् । माओवादी केन्द्रले एउटा समिति पाएको छ ।

कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

एमालेले उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा मनोनयन दर्ता गर्नेछ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले  न्याय प्रशासन तथा विधायन समिति  र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा  मनोनयन दर्ता गर्नेछन् ।

नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको नेतृत्व पाएको छ ।

सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेलको नाम टुङ्गो लागेको छ । अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

सामाजिक र सुशासन समितिको सभापतिको टुङ्गो लागेपनि अर्थ समिति सभापतिको विषयमा भने टुङ्गो लाग्न बाकी रहेको कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले बताए । ‘समितिमा चार जना हुनुहुन्छ, उहाँहरू मध्ये एक जना सभापति बन्ने हो,’ उनले भने,‘ दुई समितिमा टुङ्गो लाग्यो, अर्थको पनि टुंगो लाग्छ ।’

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापतिमा राजन किराँतीलाई उम्मेदवार बनाउने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

माओवादी केन्द्रले दुईवटा समितिको नेतृत्वमा दाबी गरेको थियो । तर, एउटा मात्रै पायो ।

कांग्रेस-एमालेको दुई तिहाइ बढी बहुमत भएका कारण अन्य समितिको नेतृत्वमा उम्मेदवारी नदिने आङ्बोले बताए ।

समिति सभापतिमा राप्रपाले पनि उम्मेदवारी नदिने बताएको छ । राप्रपा दलका नेता भक्ति सिटौलाले एउटा समितिको नेतृत्व मागेका थिए । तर, सत्तापक्षले दिएन् । कुनै समिति नेतृत्वमा दाबी पेश नगर्ने सिटौलाले बताए ।

आज मनोनयन गर्ने र शुक्रबार सातवटै समिति सभापतिको निर्वाचन गर्ने कार्यसूची छ ।

कोशीमा नयाँ संसद सुरु भएको २१ महिनापछि शुक्रबार संसदीय समितिले सभापति पाउँदैछ ।

२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?