+

जनैखटिरामा दुखाइको कारण र उपचार (भिडियो)

२०८१ भदौ  २७ गते १३:११ २०८१ भदौ २७ गते १३:११
जनैखटिरामा दुखाइको कारण र उपचार (भिडियो)

जनैखटिरा एक प्रकारको भाइरल संक्रमण हो, जुन ‘हर्पस जोस्टर’ भन्ने भाइरसले गर्दा हुन्छ । जनैखटिरा जनाइको आकार जसरी आउने भएकाले यसलाई जनैखटिरा भनिएको हो । यो छालामा देखिने रोग हो, जसमा स–साना पानी फोका जस्ता खटिरा आउने र चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ । यो समस्या प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने गरेको पाइन्छ ।

जनैखटिरा आउनुको कारण यही नै हो भन्ने त हुँदैन तर यदि कुनै व्यक्तिलाई सानो छँदा ठेउला आएको छ भने पछि वयस्क हुँदा जनैखटिरा आउन सक्छ । किनभने जुन भाइरसले ठेउलाको समस्या हुन्छ, ठेउला निको भइसक्दा पनि उक्त भाइरस पूर्ण रूपले नष्ट भएको हुँदैन । यस्तोमा जब व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ त्यो बेला जनैखटिराको समस्या हुनसक्छ ।

वयस्क उमेरमा चिन्ता, तनाव, धपेडी, मधुमेह जस्ता कारणले प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र उक्त भाइरस सक्रिय हुन्छ । अनि भाइरस छालाको सतहमा आउँछ । यसले गर्दा छालामा स–साना बिमिरा आउने, पानीको फोका जस्तो बन्ने र फुट्ने हुन्छ । यो एक ठाउँबाट क्रमशः फैलिंदै अन्यत्र पुग्छ ।

जनैखटिराको उपचार

जनैखटिरा आएपछि मान्छेहरू यसको उपचार गर्न कहाँ जाने भनेर अलमलमा परेको पाइन्छ । झारफुक गर्न जाने गरेको पनि पाइन्छ । कतिपयले बाघ बनाउने गरेको पनि पाइन्छ । तर त्यो बाघ बनाएर झारफुक गरेर निको हुने चाहिं होइन । जसरी रुघा लाग्दा औषधि खाए पनि नखाए पनि सात दिनमा निको हुन्छ । त्यस्तै जनैखटिरा पनि भाइरल संक्रमण भएकाले निश्चित समयपछि आफैं निको हुन्छ, बाघ बनाएर निको हुनका लागि समय मात्र दिइएको हो । शरीरको हिलिङ क्षमताले नै यसलाई निको पार्दै लैजाने हो ।

यो छाला सम्बन्धी समस्या भएकाले सबैभन्दा पहिले छालारोग विशेषज्ञलाई भेट्न सकिन्छ । छालारोग विशेषज्ञले एन्टिबायोटिक औषधि र पेनकिलर दिन्छन् । कति बिरामी यी औषधिले निको हुन्छन् भने कतिपय बिरामीमा दुखाइ भने कम हुँदैन । दुखाइ कम नभएको अवस्थामा भने अन्य उपचार विधि पनि आवश्यक पर्न सक्छ ।

उपचारपछि पनि दुखाइ कम भएन भने के गर्ने ?

जनैखटिराको समस्यामा दुखाइ मुख्य तीन प्रकारको हुन्छ, सामान्य, मध्यम र जटिल । सामान्य र मध्यम दुखाइ त उपचारबाट निको हुन्छ तर जटिल दुखाइ भने उपचारपछि पनि निको नहुन सक्छ ।

केही बिरामीमा उपचारपछि पनि दुखाइ कम भएको छैन, दैनिक क्रियाकलापमा असर पुग्ने गरी दुखेको छ भने दुखाइ कम गर्ने इन्जेक्सनको प्रयोग गर्नुपर्ने हुन्छ । दुखाइ जहाँबाट सुरु भएको हो त्यो ठाउँमा दुखाइ कम गर्ने इन्जेक्सन दिनुपर्ने हुन्छ ।

इन्जेक्सन लगाएपछि चटक्कै निको हुन्छ ?

जनैखटिराको जटिल खाले दुखाइ एक पटक इन्जेक्सन दिंदा निको हुन पनि सक्छ र नहुन पनि सक्छ । किनकि दुखाइको प्रकृति व्यक्ति अनुसार फरक पर्छ । जस्तो कसैलाई सानो घाउ भयो भने कसैलाई छिटो निको हुन्छ भने कसैलाई निको हुन अलि समय लाग्छ । त्यसरी नै इन्जेक्सन दिएपछि निको हुन समय लाग्न पनि सक्छ ।

दुखाइ कम गर्ने औषधिको प्रयोगले साइडइफेक्ट पो हुन्छ कि ?

हरेक औषधिको केही न केही साइड-इफेक्ट त हुन्छ । तर साइड-इफेक्ट भन्दा पनि त्यसको फाइदा हेर्नुपर्छ । जस्तो जनैखटिराको दुखाइले सुत्न, कपडा लगाउन नै समस्या भएको छ भने त इन्जेक्सन मार्फत औषधि दिंदा बिरामीको सुगर केही मात्रामा बढ्न सक्छ । तर औषधि दिइएन भने त्यसको दुखाइले झन् सुगर बढ्छ । त्यसैले त्यसको फाइदालाई मध्यनजर गरेर औषधि प्रयोग गर्नुपर्छ ।

जनैखटिरा छाती नजिक आएको छ भने छातीमा इन्जेक्सन दिनुपर्ने हुन्छ । यस्तोमा छातीमा इन्जेक्सन दिंदा फोक्सोमा समस्या हुन्छ कि भन्ने चिन्ता पनि हुनसक्छ । तर इन्जेक्सन दिंदा भिडियो एक्स-रे गरेर फोक्सोमा असर नपर्ने गरी दिइन्छ । त्यसैले इन्जेक्सन लगाउन डराउन पर्दैन ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

जनैखटिरा डा. अनुजजंग रायमाझी दुखाइ स्वास्थ्य समस्या
डा. अनुजजंग रायमाझी
लेखक
डा. अनुजजंग रायमाझी
दुखाइ विशेषज्ञ

डा. रायमाझी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)मा कार्यरत छन् । उनले एनेस्थेसियोलोजी र क्रिटिकल केयरमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ४९९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय