+
+

फूलपाती भिडन्तबारे जितु नेपाल : ‘दीपकराज गिरीहरुलाई पछार्न खोजेको कुरा सही होइन’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १७:५०

काठमाडौं । अभिनेता तथा हास्य कलाकार जितु नेपालले दशैंको फूलपातीमा ‘छक्कापञ्जा ५’ सँग आफू अभिनित फिल्म ‘ज्वाइँ साब’ जुधेकोबारे प्रतिक्रिया दिएका छन् । उनले संगोगवश फिल्म जुध्न गएको भन्दै अहमताको कारण फिल्म जुधाउन ल्याएको भन्ने चर्चाको खण्डन प्रयत्न गरे ।

उनले ‘छक्कापञ्जा’ ब्राण्डको रुपमा रहेको र दीपकराज गिरी नेपाली फिल्मको स्तम्भ रहेको भन्दै प्रशंसा समेत गरेका छन् । आफू अभिनित पछिल्लो फिल्म ‘ज्वाइँ साब’को गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो धारणा औपचारिक रुपमा राखेका छन् ।

पत्रकार सम्मेलनमा जितुले के भने ?

‘मुख्य कुरा, कहीं पनि दीपकजी, केदारजीबाट, दीपा दिदीबाट, कहींबाट कुनै खालको प्रतिक्रिया केही नराम्रो छैन । अस्ति बोर्ड अध्यक्ष दिनेश डिसी दाइ हुँदा भेट भयो, सौहार्दपूर्ण ढंगमा गफ गर्‍यौं । तर मिडियामा जितु र दीपकको इगोको कारण फिल्म जुधाए भन्ने कुरा आएको छ । डेफिनेट्ली यो होइन ।

निर्माता यहीं हुनुहुन्छ, उहाँ अस्ट्रेलियामा हुनुहुन्थ्यो । यो मुभी तिहारमा गर्ने भन्ने एकप्रकारको कुरा थियो । तिहारमा हिन्दी फिल्म पनि दुईटा, नेपाली फिल्म पनि दुईटा गरेर चारवटा हुने भए । वितरकसँगको सल्लाहमा यो फिल्म अहिले दशैंमा नलाग्ने भए, फागुनतिर रिलिज गर्ने कुरा भयो । फागुनमा पनि गएर अर्को फिल्मसँग जुध्ने भयो ।

त्यतिबेला ‘१२ गाउँ’को कुरा थिएन । ‘छक्कापञ्जा’ दशैंमा आउँछ, दशैं ठूलो चाड पनि हो । ‘छक्कापञ्जा’ दशैंमा आउने भएपनि त्यो पनि एउटा अप्सन छ । किनभने दुइटा च्वाइस पनि हुन्छ, तपाईंहरुको इच्छा छ भने भन्नुभयो । त्यसपछि यो प्रस्ताव उहाँ निर्मातामा गयो । उहाँ अस्ट्रेलियामा हुनुहुन्थ्यो ।

उहाँले पनि जुन टेन्सन लिएर फिल्म बनाएको छु, त्यसलाई फागुनसम्म कुर्नुपर्ने हुन्छ । फागुनसम्म कुर्ने अनि त्यसमा पनि अर्को फिल्मसँग जुध्ने भनेपछि त दशैं भनेको चाड हो, हामी पनि दशैंमा जाऊँ भनेर उहाँले यो डिसिजन गर्नुभएको हो । यो कुरा थाहा पाएपछि मैले निर्देशक, निर्माताज्यूसँग दशैंमा कन्फर्म हो त ? त्यो डेटमा आउँदा यस्तोउस्तो हुन्छ भनेर भनेको हुँ । उहाँले दशैंमा आऊँ, दुईटा फिल्म त चलिहाल्छ नि दशैंमा भन्नुभयो ।

हरेक कुराको च्वाइस हुन्छ । हामी हलमा छौं, यहीं तल रेस्टुरेन्ट पनि छ । विभिन्न खालका मेन्यु र भेराइटी छन् । कोहीलाई के मनपर्छ, कोहीलाई के मनपर्छ । सिनेमामा पनि त्यस्तै हो । छक्कापञ्जा चाहनेले त्यसलाई हेर्नुहुन्छ किनभने त्यो हेरिराखेको चीज हो, ब्राण्ड हो । होइन, अलिकति यसको पनि हेर्दिऊँ न भन्नुहोला । अथवा, दुईटै हेर्छु भन्नुहोला ।

यसकारण लगाऊँ न त उहाँले भनिसकेपछि म त एउटा कलाकार न हो, म त एउटा खेलाडी हो । यो फिल्म यतिबेला लगाउनुपर्छ भनेर तपाईंले भनेर साइन गरेको त छैन । यो फिल्ममा मैले निर्देशकले भनेअनुसार काम गर्छु, टाइम दिन्छु भनेर साइन गरेको छु । लगाउने भन्ने कुरा त निर्देशकको हो, निर्माताको हो ।

जितुको इगोको कारणले जुध्न आयो, दीपकसरह हुन खोज्यो, दीपकहरुलाई पछार्न खोज्यो भन्ने खालको कुरा आएका छन् । यो कदापि होइन । कुनै हालतमा सूर्यलाई हत्केलाले छेक्न सक्दैन । दीपकराज गिरीजी भनेको फिल्म इन्डस्ट्रीको खम्बा हो जसले ७-८ वटा ब्लकबस्टर मुभी दिइसक्नुभयो । यसकारण छक्कापञ्जाको ब्राण्डसँग हामीले कुनै त्यस्तो गरेका छैनौं । त्यसरी आएको पनि होइन । खाली एउटा सञ्जोगले डेट नमिलेकाले, दशैं एउटा महान् चाड भएकाले आएका हौं ।

इगो केही छैन, छक्कापञ्जा पनि मेरै फिल्म हो । म त्यहींबाट आएको हुँ । आज म यहाँ उभिरहँदा मैले छक्कापञ्जालाई बिर्सनु हुँदैन । त्यही छक्कापञ्जा, ६ एकान ६, वडा नम्बर ६ थियो र न आज जितु नेपालले आज एउटा नायक हुने अवसर पायो । यसकारण त्यो गुन मैले कहिल्यै पनि बिर्सन्न ।

म अहिले पनि भन्छु– च्वाइसअनुसार दर्शक अलिकति यताउता होलान् । तर छक्कापञ्जाको ब्राण्ड कहिल्यै पनि हच्किंदैन । छक्कापञ्जा र १२ गाउँ पनि हेरुन् । हाम्रो पनि हेर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?