+
+

फिल्म प्रवर्द्धनमा ‘स्टार’ कलाकारले सहयोग नगरेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १४:४७

काठमाडौं । फिल्म प्रवर्द्धनमा कलाकारले सहयोग नगरेको गुनासो आएको छ । चलचित्र कलाकार संघको २६ औं स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्डमा आयोजित ‘नेपाली चलचित्र प्रवर्द्धनमा कलाकारको भूमिका’ विषयक छलफलमा कार्यक्रमका वक्ताले यस्तो गुनासो गरे ।

पछिल्लो समय फिल्ममा अभिनय गर्ने कलाकारले प्रवर्द्धनमा वास्ता नगर्दा फिल्मलाई आर्थिक रुपमा क्षति पुगेको समेत उनीहरुको भनाइ छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाले उक्त छलफलमा वक्ताले विभिन्न कोणबाट यसबारे सुझाव दिएको अनलाइनखबरलाई बताए ।

नीर शाह, नवल खड्का, कृष्ण मल्ल, वसुन्धरा भुसाल, जनकदीप पराजुली लगायतका फिल्मकर्मीले छलफलमा धारणा राखेका थिए । धारणा सुनिसकेपछि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कलाकारको समस्या समाधानमा बोर्डले पनि सघाउने जवाफ दिएका थिए ।

छलफलमा कसले के भने ?

मोहन निरौला, चलचित्र कलाकार संघका अध्यक्ष

विदेशी फिल्म निर्वाध रुपमा चलेका छन्, तिनलाई कोटा प्रणालीमा लैजानुपर्‍यो वा कर बढाउनुपर्‍यो । नेपाली फिल्मलाई प्रदर्शनको कुरामा प्राथमिकतामा राख्नुपर्‍यो । २०२६ सालको ऐनबाट जुन फिल्म उद्योग चलेको छ, अब विधेयक तत्काल चाहियो । विधेयक र ऐन पास हुनुपर्‍यो । बोर्डलाई अधिकार सम्पन्न गराउनुपर्‍यो । मन्त्रालयको एउटा निकायको रुपमा रहनुभएन । उद्योग र बोर्डका पिलर समेत रहेका यी संस्थालाई शक्तिसम्पन्न बनाउनुपर्‍यो । यिनलाई वैज्ञानिकरुपमा बजेट विनियोजन गरेर काम गर्ने वातावरण बनाउनुपर्‍यो । चलचित्रको प्रवर्द्धनमा कलाकारको हेलचक्र्याइँ गरेको गुनासो आयो । कलाकारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्‍यो ।

नीर शाह, वरिष्ठ अभिनेता

नेपाली चलचित्रको प्रवर्द्धनमा कलाकारको भूमिकामा मेरो दृष्टिकोण सैद्धान्तिक र दार्शनिक दृष्टिकोणमा आधारित रहनेछ । अहिले कलाकारको विषयमा जति गुनासो आयो । त्यसको मुख्य कारण हामीले प्रतिपादन गरेका सैद्धान्तिक र दार्शनिक धरातलले मेल नखानुको कारणले उत्पन्न भएको हो । यी समस्या यदि समाधान उन्मुख हुन्छन् भने त्यसलाई हामीले सैद्धान्तिक रूपबाट नै अन्त्य गर्न सक्छौ, अन्यथा असत्य गर्न सक्दैनौं । अहिले  छलफलका विषय पनि सैद्धान्तिक र दार्शनिक हुन् भन्ने मैले अनुभव गरेको छु । सबैभन्दा हामीले कलाकार भनेको के हो भन्ने बुझ्नुपर्छ । कलाकारितामा लामो यात्रा गर्दा मैले अभिनय कला भनेको इम्प्रेसनको एक्स्प्रेसन हो भन्ने बुझें । अर्थात् प्रभावहरूको अभिव्यक्ति हो । कुनै न कुनै कुरामा प्रभावित नभई त्यो कुरा अभिव्यक्त गर्न सक्नुहुन्न । आफूलाई प्रभावित गर्ने कुरा जति राम्रोसँग गर्न सक्यो । त्यो त्यति राम्रो कलाकार भयो । हामी के प्रभावमा परेका छौं, त्यो बुझेपछि मात्र प्रभावबाट मुक्त हुनसक्छौं । चलचित्र क्षेत्रमा रहेको सबै गुनासाको उत्तर प्राप्त हुनेछ । जुनै चलचित्र क्षेत्रको विकास पनि कलाकारको अग्रणी भूमिकाले अगाडि बढेको देखिन्छ । जति पनि चलचित्र उद्योग माथि छ त्यसमा कलाकारले अग्रणी भूमिका निर्वाह गरेका छन् । नेपाली चलचित्र उद्योगमा हामीले विश्लेषण गर्नुपर्ने कुरो भनेको केले बढी प्रभाव पार्‍यो भन्ने हो । त्यसले हामीलाई लामो समयसम्म मुक्त नहुने गरेर प्रभाव पार्‍यो । कलाकार चलचित्र प्रवर्द्धनमा अभाव पनि त्यही प्रभावको प्रतिफल हो । त्यसलाई परिवर्तन गर्ने क्षमता र चिन्तनको अभाव देखियो ।

नवल खड्का, अध्यक्ष, चलचित्र निर्माता संघ

एउटा भनाइ छ ‘जसले इतिहासलाई सम्झिंदैन, सम्मान गर्दैन । त्यसको वर्तमान हुँदैन । जसको वर्तमान छैन भने त्यसको भविष्य हुने कुरो भएन’ । हाम्रा अग्रजले यो चलचित्र उद्योग कसरी अहिलेको अवस्थामा ल्याए र अब हामीले भावी सन्ततिलाई के दिने भन्ने कुरा अहिलेको जेनरेसनमा मैले पाएको छैन । सो-कल्ड स्टारहरु, जसले आफूले आफूलाई स्टार मान्यो, तर पब्लिकले तिनीहरूलाई स्टार मनेजस्तो मलाई लाग्दैन । कसैले उसलाई परिश्रमिक ५० लाख दिन्छ भने त्यो उसको कारणले उठ्नुपर्‍यो नि । फिल्म दुई शो समेत नचलेको अवस्था छ ।

निर्माता संघका कलाकारले भनेजति पैसा लिएर पनि फिल्मको प्रचार प्रसारमा नआएको व्यापक गुनासो निर्माताको छ । साना कलाकार कहाँ के गर्नुपर्छ भनेर सोधेर प्रचारमा लाग्छन् । स्टार भने घरमै बसेर वा अन्त गएर असहयोग गरिरहेको अवस्था छ । यो विषयमा छलफल गर्नुपर्नेछ । आचारसंहिता भन्ने पनि हुन्छ होला । कानुनका कुरा पनि हुन्छ । सबै बसेर यसमा लाग्नुपर्छ ।

सुन्धरा भुसाल, वरिष्ठ कलाकार

चलचित्र विकास बोर्ड जन्माउने कलाकार संघ हो । ती गुन चलचित्र विकास बोर्डमा आउने पदाधिकारीले कहिल्यै सम्झिएन । विकास बोर्डसँगसँगै चलचित्रकर्मी कल्याणकारी कोष जन्मिएको हो । एउटा फिल्मको ५०० दिएपनि अहिले चलचित्र कल्याणकारी कोष धेरै हुन्थ्यो । कलाकारलाई जब दुःख पर्छ कलाकार संघ चाहिन्छ । पारिश्रमिक रोकिन्छ कलाकार संघ चाहिन्छ । अहिलेका नायक, नायिका कार्यक्रममा नदेख्दा दुःख लागेको छ । चलचित्र र चलचित्र क्षेत्रको प्रवर्द्धनमा नदेख्दा दुःख लागेको छ । कलाकार संघ बलियो भयो, हामी एक जुट भयौं भने सरकालाई दबाब दिनसक्छौं । म जस्तै नयाँ भाइबहिनीले पनि कलाकारको हकहित र चलचित्रको प्रवर्द्धनमा लाग्नुपर्‍यो ।

कृष्ण मल्ल, वरिष्ठ कलाकार

जसलाई सुनाउनुपर्ने हो ती कलाकारको कार्यक्रममा कमी देखेको छु । ‘ए’ क्लासको कलाकारलाई ‘ए’ क्लासको फिल्ममा लिंदा ‘ए’ क्लासको दाम दिएको हुन्छ । त्यो गर्नु भनेको आफैंमा चलचित्र प्रवर्द्धनमा हुन्छ भन्नु हो । चलचित्र प्रवर्द्धनमा कलाकारको फेस भ्यालु हुन्छ । फेस भ्यालु भएको कलाकारले प्रवर्द्धनमा साथ दिनुपर्छ । स्टार कलाकारले आफ्नो फिल्मका लागि मात्र होइन । सम्पूर्ण फिल्म उद्योगको प्रवर्द्धनमा लाग्नुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?