+
+

मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ र ‘साउना’ सेवा दिन थाल्यो

रासस रासस
२०८१ भदौ २७ गते १६:५०

२७ भदौ, म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ (पानीको बाफबाट दिइने तातो) र ‘साउना’ (सुक्खा तातो बाफ) सञ्चालन गरेको छ । जोमसोम बजार नजिक घरपझोङ–३ स्याङखोलामा २८ लाखको लगानीमा प्राकृतिक उपचारका लागि स्टिम र साउना सञ्चालन गरेको हो ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले चिसो मौसम र हावापानीले बिरामी भइरहने नागरिकको प्राकृतिक उपचारका लागि ‘स्टिम’ र ‘साउना’ सुरु गरिएको जानकारी दिए । ‘चिसोका कारण धेरै नागरिक बिरामी पर्ने गरेकाले शरीरलाई न्यानो, सरसफाइयुक्त राख्न र रोगबाट बचाउन स्टिम सहित छिट्टै साउना र जाकुजी पनि सञ्चालनको तयारी गरेका छौँ’, उनले भने, ‘गाउँपालिकाको सबै वडालाई केन्द्र पर्ने स्याङखोलामा सञ्चालन गरिएको साउनाबाट मुस्ताङमा आउने पर्यटक र तिर्थयात्रीहरुले पनि सेवा लिन सक्नेछन् ।’

स्टिम बाथ, साउना र जाकुजी सेवा सञ्चालनका लागि गत आर्थिक वर्षमा १३ लाख रुपैया विनियोजन गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख विनियोजन गरेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भवनको एउटा कोठामा स्टिम बाथको उपकरण खरिद गरेर परिक्षण सेवा सुरु गरिएको अध्यक्ष लालचनले जानकारी दिए ।

घरपझोङ–३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकाली र सदस्य विरप्रसाद थकालीको रेखदेखमा परीक्षण सेवा सञ्चालन भइरहेको छ । गत साउनामा ६० वर्ष उमेर पुगेका २८ महिला र २२ जना पुरुषले सेवा लिइरहेका वडाध्यक्ष थकालीले जानकारी दिए । भवन निर्माण सकिएपछि जाकुजी र साउनालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गरिने योजना रहेको उनले बताए ।

पानीको बाफयुक्त बन्द कोठाभित्र बसेर शरीरका खराब वस्तु (विकारण तत्व) फाल्न र शरीरलाई आनन्द प्रदान गर्न गरिने स्टिम बाथ, साउना र जाकुजीलाई आयुर्वेदिक उपचार पद्धति मानिन्छ । महिलाहरुका लागि दिउँसो २ देखि ४ बजेसम्म र पुरुषहरुका लागि दिउँसो साढे ४ देखि ७ बजेसम्म साउनामा उपचार गर्ने समय तालिका बनाइएको छ । एक पटक उपचार गरेको रु एक सय सेवा शुल्क तोकिएको छ ।

के हो स्टिम, साउना र जाकुजी ?

‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ सुक्खा तातो बाफ हो । यी दुवै विधिअन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ ।

यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्ने घरपझोङ गाउँपालिकाकी स्वास्थ्य शाखाकी अनमी प्रकृति गुरूङले बताइन् । चिकित्सकको सल्लाह अनुसार स्टिम र साउना गराउन सकिने भन्दै उनले यसले शरीरमा रगत सञ्चालनमा फाइदा गर्ने उल्लेख गरिन् ।

‘तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर फुर्तिलो बनाउँछ । शरीरमा टाँसिएको धुलोधुवाँका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ’, उनले भनिन् ।

जाकुजी तातो पानीमा १० देखि १५ मिनेट बस्ने विधि रहेको बताउँदै यी सबै प्राकृतिक उपचार विधि भए पनि चिकित्सकको सल्लाह लिँदा बढी प्रभावकारी हुने अनमी गुरूङले बताइन् । ‘यसमा तातोपानीको फोहराले शरीर रक्तसञ्चार गराउनाका साथै आनन्द बनाउँछ । शरीरमा भएका विकारलाई हटाउँन, तनावबाट मुक्ति दिलाउँछ, छालामा जमेको फोहर निकालेर सफा बनाउन स्टिम र साउनाले मद्दत गर्दछ’, उनले भनिन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?