+
+

बिते नेपालसँग नजिक रहेका भारतीय कम्युनिस्ट नेता येचुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १७:०३

२७ भदौ, काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए ।

अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो । पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो ।

येचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन् । उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो । उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए । उनी पार्टीमा ३ पटकसम्म महासचिव बनेका थिए ।

येचुरीकी पत्नी सीमा चिश्ती पत्रकार हुन् । एक अन्तरवार्तामा उनले आफूलाई पत्नीले आर्थिक रूपमा सघाइरहेको बताएका थिए । उनको पहिलो विवाह इन्द्राणी मजूमदारसँग भएको थियो ।

नेपालको शान्ति प्रक्रियालाई समेत येचुरीले सघाएका थिए । पत्रकार सुधीर शर्माका अनुसार नेपालमा जनआन्दोलन चल्दा येचुरी लगायत नेताले भारतमा सोलिडारिटी ग्रुप बनाएका थिए ।

त्यस बेला भारतको केन्द्रीय सरकारमा येचुरीको दल सीपीएम समेत थियो, जसले विद्रोही माओवादीलाई शान्तिपूर्ण अवतरण गराउन भूमिका खेलेको थियो ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्षसमेत बनेका येचुरी नरम लोकतन्त्रवादी कम्युनिस्ट मानिन्थे । नेपालमा उनी नेकपा एमालेसँग निकट रहे पनि कांग्रेस लगायत दलसँग समेत उनको सम्बन्ध राम्रो रहेको पत्रकार शर्माले बताए ।

‘नेपालमा राजासँग होइन, दलहरुसँग भारतले नजिक व्यवहार गर्नुपर्छ भनेर सत्ता गठबन्धनमा रहेका येचुरीले लबिइङ गर्थे,’ शर्माले भने, ‘नत्र पहिले राजासँगमात्रै भारतले बढ्ता व्यवहार गर्थ्यो ।’

अस्पतालबाट जारी गरिएको विज्ञप्तिका अनुसार उनको शरीर शिक्षण र अनुसन्धानका लागि अस्पताललाई दान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?