+
+

गणेश बस्नेत विरुद्ध उजुरी परेकाले सोधपुछ गर्न लागिएको हो : साइबर ब्यूरो

प्रहरीले प्रेस काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्‍यो : महासंघ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १७:२०

२७ भदौ, काठमाडौं। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत विरुद्ध साइबर अपराधको कसुरमा उजुरी परेको छ ।

बस्नेत विरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको हो । साइबर अपराधबारे उजुरी परेपछि उनीमाथि अनुसन्धानको प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले पनि बस्नेत विरुद्ध निवेदन परेकाले केही बुझ्न खोजेको बताए । ‘उहाँविरुद्ध उजुरी परेकाले बुझ्न खोजेका हौं । यसबारे उहाँलाई जानकारी समेत गराइएको छ । फोनमा सम्पर्क गर्दा उहाँले भोलि आउँछु भन्नुभएको छ’ अवस्थीले अनलाइनखबरसँग भने ।

अनुसन्धानकै क्रममा रहेकाले कसले के उजुरी हाल्यो भन्ने विषय सार्वजनिक गर्न नमिल्ने अवस्थीको भनाइ छ । उनले बस्नेतलाई पक्राउ गर्ने तयारी नभएको तर केही बुझ्न मात्रै खोजिएको दाबी गरे ।

यस्तै गणेश बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्‍दै नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै  समाचारको विषयलाई लिएर प्रहरीको साइबर व्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  साथै काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको  महासंघको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको हो । काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ । महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?