+
+

इकु विरुद्ध ४ जनाको जाहेरी, मानव बेचबिखनमा पनि अनुसन्धान

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ २७ गते १९:४५

२७ भदौ, काठमाडौं । हास्य कलाकार सुलेमान शंकर (इकु) लाई पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

उनको बैंक खातामा शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयु) ले दुई साताअघि सीआईबीलाई जानकारी गराएको थियो ।

मंगलबार पक्राउ गरेर अनुसन्धान गर्दा इकुले गैर कलाकारलाई कलाकारका रुपमा विदेश लैजाने गरेको खुलेको सीआईबीका अधिकारीहरु बताउँछन् । तीमध्ये कतिपयसँग पैसा लिएर पनि नपठाएको पाइएको र त्यस्ता व्यक्तिहरुले जाहेरी दिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सर्वसाधारणलाई कलाकारका रुपमा क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरुमा लैजाने भन्दै रकम लिएको र कतिपयलाई नपठाएको पाइएको सीआईबीका अधिकारीहरुको भनाइ छ ।

इकुलाई ठगीको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । सीआईबीका निर्देशक तथा एआईजी दीपक थापाका अनुसार अहिले पनि इकुको खातामा ६० लाख रुपैयाँ बढी रकम भेटिएको छ ।

‘इकुको खातामा ६० लाख रकम भेटिएको छ । करोड भन्दा बढी रकम निरन्तर ट्रान्ज्याक्सन भएको विवरण राष्ट्र बैंकले पठाएको छ’, एआईजी थापाले भने, ‘यी रकम विदेश पठाउने भन्दै ठगी गरेको पाइएको छ ।’

इकुले एसएमएस फिल्म प्रालि नामक कम्पनीमार्फत युरोपका विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रमको सूची देखाउने र त्यहाँ लगिदिने भन्दै सर्वसाधारणसँग रकम लिएको पाइएको सीआईबीका एसपी प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनले कार्यक्रम नभएको ठाउँमा कार्यक्रम भएको छ भनेर पनि रकम लिएको पाइएको सीआईबीको भनाइ छ ।

चार जनाको जाहेरी

इकुविरुद्ध अहिलेसम्म चार जनाले सीआईबीमा जाहेरी दिएका छन् । जसमा दुई जनाले समान साढे २ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् । एक जनाले ४ लाख र अर्का एक जनाले ९ लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन् ।

अन्य चार जनाले भने फोन गरेर आफूहरु पनि ठगिएको जानकारी गराएको तर जाहेरी दिन नआएको प्रवक्ता बोगटीले बताए । ‘अन्य कोही व्यक्ति पनि ठगिएको भए जाहेरी दिन भनेका छौं’, उनले भने ।

मानव बेचबिखनमा पनि अनुसन्धान

ठगी मात्रै नभएर मानव बेचबिखन पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । गैरकलाकारलाई कलाकार बनाएर मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेको हुनसक्ने आशंकामा पनि अनुसन्धान अघि बढाइएको सीआईबीको भनाइ छ ।

दुई जना गैरकलाकारलाई २८ लाख रुपैयाँ लिएर कलाकार भन्दै युरोप पठाएको खुलेको सीआईबी स्रोतले बतायो । ‘२८ लाख रुपैयाँ लिएर गोरखा घर भएका दुई जनालाई कलाकार बनाएर युरोप पठाएको पाइएको छ । यस विषयमा पनि अनुसन्धान गर्दैछौं’, सीआईबीका एक अनुसन्धान अधिकृतले भने ।

दुबै जना युरोप पुगिसकेकाले जाहेरी पर्ने अवस्था छैन । मानव बेचबिखनको कसुरमा पीडित बिना मुद्दा चल्न सक्ने अवस्था नभएकाले मानव बेचबिखनको कसुर स्थापित गर्न सीआईबीलाई गाह्रो पर्ने देखिन्छ ।

इकुले विदेश जाने आवेदन दिन चाहिने कागजातहरु समेत कीर्ते गरेको प्रमाण सीआईबीले भेटेको छ । गैरकलाकारलाई कलाकार भनेर बनाइएको कागजात, नक्कली बैंक स्टेटमेन्ट, विभिन्न अनुभव तथा तालिमका पत्रहरु समेत नक्कली बनाउने गरेको पाइएको एसपी बोगटीले बताए ।

उनले नक्कली भिसा र टिकट समेत देखाउने गरेको पाइएको सीआईबीको भनाइ छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?