+
+

उपकुलपतिको राजीनामा माग्दै मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १८:३६

२७ भदौ, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपतिको राजीनामा माग्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ ।

विश्वविद्यालयमा शुक्रबार हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएपछि नेविसंघले प्रदर्शन गरेको हो ।

विद्यार्थीहरूले दिएको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले चुनाव रोक्न बिहीबार अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरूको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै निर्वाचन स्थगित गर्न माग राखेर रिट दायर गरेका थिए ।

तर नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले निर्वाचन अधिकृत, उपकुलपति र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मिलेमतोमा अदालतमा रिट हाल्न लगाएको आरोप लगाएको छ ।

‘उपकुलपति र निर्वाचन अधिकृतले मिलेमतोमा चुनावको अन्तिम समयमा रिट हाल्न लगाइएको छ’, नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले भने, ‘अदालतको आदेशको सम्मान गर्छौँ । विद्यार्थीले भोट हाल्न पाउनुपर्छ । तर आदेश पूर्वाग्रही छ ।’

चुनावको अन्तिम नामावलीमै जानाजान केही विद्यार्थीको नाम छुटाएको र आफैंले केही विद्यार्थीलाई उक्साएर रिट हाल्न लगाएको भन्दै नेविसंघले निर्वाचन अधिकृत त्रिभुवन बिसीको समेत राजीनामा मागेको छ ।

चुनाव गराउन नसकेको भन्दै आफूहरूले उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम र निर्वाचन अधिकृत बिसीको राजीनामा माग गरेको अध्यक्ष शेर्पाले बताए । ‘दुई वर्षअघि पनि यसै गरी षड्यन्त्रपूर्वक निर्वाचन रोकिएको थियो । अहिले पनि त्यही दोहोरियो’, उनले भने ।

उनले विद्यार्थीको मताधिकारको प्रयोग गरेर लोकतान्त्रिक अभ्यास प्रक्रियालाई सुनिश्चित गर्न पनि माग गरेका छन् । शुक्रबार हुने चुनाव स्थगित गरेर अदालतले दुवै पक्षलाई असोज ६ गतेका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?