+
+

मोरङमा भेटियो सहकारी ठगीको नयाँ शैली

हरि अधिकारी हरि अधिकारी
२०८१ भदौ २७ गते १८:१०

२७ भदौ, विराटनगर। मोरङको एक सहकारी संस्थामा ठगीको नयाँ शैली फेला परेको छ, जहाँ सहकारीका अध्यक्षले आफ्नै सदस्यदेखि सञ्चालकलाई समेत ठगेका छन् ।

धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमा गौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा स्वयं अध्यक्ष शम्भुप्रसाद रौनियार संलग्न भएका हुन् । २०६८ सालमा स्थापना भएको यो सहकारी अहिले संकटग्रस्त छ । १८ करोड रुपैयाँ कुलपूँजी रहेको सहकारीबाट करिब १२ करोड रुपैयाँ हिनामिना भएको छ ।

रौनियार अध्यक्ष रहेको सहकारीले सदस्यको जग्गा धरौटी राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको थियो । बैंकबाट ऋण लिंदा उनले संस्थाका सञ्चालकदेखि सहकारीको ऋण माग्ने साधारण सदस्यको जग्गा बैंकमा धितो राखेर छुट्टै ऋण निकालेको देखिन्छ ।

२०७४ सालमा सञ्चालक सदस्य रोशन राजवंशीको घरजग्गा राखेर रौनियारले माछापुछ्रे बैंकबाट ८५ लाख ऋण निकालेका थिए । उनीसँगै अर्का सदस्यका पनि जग्गा राखेर ऋण निकालेका थिए ।

रौनियारबाट ठगिएका राजवंशीले अहिले सहकारी छाडेका छन्, र जग्गा फिर्ताका लागि अध्यक्षलाई आग्रह गरिरहेका छन् । ‘सहकारी सञ्चालनका लागि त्यसबेला जग्गा राखेर ऋण निकालेको थियो, तर अध्यक्षले आफूखसी गर्नुभयो,’ उनले भने, ‘अंशबण्डा गर्नुपर्ने बैंकमा धनीपूर्जा छ, फिर्ता माग्दा फिर्ता भएको छैन ।’

सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अध्यक्ष रौनियारले सहकारीको कार्यालय बन्द गरेर हिडेका छन् । १८ करोड ४९ लाख कुल पूजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

सहकारीबाट ठगिएकाहरु न्याय माग्दै प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा पुगेका छन् । कार्यालयका प्रमुख हरिबहादुर खत्रीका अनुसार उमा गौरीमा भएको अनियमितता अन्य सहकारीको भन्दा फरक छ । सदस्यहरुलाई दोहोरो ऋणी बनाइएको छ ।

‘यो सहकारीको ठगी नयाँ खालको छ, सहकारीमा ऋण माग्न पुगेका सदस्यहरुको सम्पति बैंकमा राखेर ऋण निकालेको देखिन्छ,’ खत्रीले भने, ‘ऋणीले संस्थामा ऋण बुझाए, संस्थाले बैकमा नबुझाएको देखिन्छ ।’ फरक खालको ठगीको विषयमा उजुरी आएपछि छानविनका लागि प्रहरीलाई लेखेर पठाएको उनले बताए ।

यो प्रकरणमा एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला जोडिन पुगेकी छिन् । मोरङ २ का एमाले सांसद पोखरेलकी श्रीमती अञ्जला त्यस समयमा सन्चालक समितिमा थिइन् ।

प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा भएको रेकर्डमा उमागौरी कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको डकुमेन्ट नै गायब छ । रजिष्ट्रार खत्रीका अनुसार २०६८ सालमा सहकारीको तदर्थ समितिको डकुमेन्टपछि २०७८ सालको सञ्चालक समितिको डकुमेन्ट मात्रै कार्यालयमा उपलब्ध छ ।

१० वर्षको सञ्चालक समितिको विवरण र कागजात छैन । सोही अवधिमा सांसद पोखरेलकी श्रीमती सहकारीको सञ्चालक थिइन् । उनी सञ्चालक सदस्य रहेकै अवधिमा सहकारीले सदस्यको धितो बैंकमा राखेर सहकारीले ऋण निकालेको छ ।

‘यो सहकारीको कार्यालय खुल्दैन, कार्यालयमा कागजपत्र पनि भेटिदैन, सबै डकुमेन्ट अध्यक्षले साथमा राखेको देखिन्छ,’खत्री भन्छन् ,‘हाम्रो कार्यालयमा पनि नियमित विवरण बुझाएको छैन ।’

यस प्रकरणमा एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला जोडिन पुगेकी छिन् । मोरङ २ का एमाले सांसद तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला त्यस समयमा सन्चालक समितिमा थिइन् ।

सहकारीले अन्य बैंकबाट लिएको ऋण नतिरेका कारण अरु सन्चालकजस्तै अञ्जला पनि कालोसूचीमा छिन् । सहकारीकै कारण आफू कालोसूचीमा परेको अन्जलाले बताइन् ।

‘त्यसबेला राम्रो उद्देश्यले खोलेको भनेपछि सदस्य बसेको थिएँ, तर बैठकहरुमा सहभागी हुन पाइनँ, अध्यक्षले आफ्नो मनखुसी गरेका छन््,’ उनले भनिन्, ‘सहकारी ऐनले रोकेपछि मैरो राजीनामा दिएको थिए, तर स्वीकृत नगरी मेरो नक्कली हस्ताक्षर गरेछन्, पछि अडिटरले देखाएपछि मात्रै थाहा भयो ।’

शिक्षण पेशामा आबद्ध अन्जलाको हस्ताक्षर प्रयोग भए पनि निर्णयमा अरु नै हावी हुने गरेको स्रोत बताउँछ । सांसद पोखरेलले पनि सहकारीका क्रियाकलापमा रुचि देखाउने गरेको स्रोतको दाबी छ । पोखरेल र रौनियारसँग निकट रहेको स्रोतले भन्यो, ‘सहकारी डुबेपछि उहाँहरुको सम्बन्धमा खटपट छ, रौनियार सार्वजनिक स्थानमा देखिदैनन् ।’

अन्जलाका अनुसार २०७५ सालमा जारी भएको सहकारी नियमावलीले सञ्चालक बस्न रोकेपछि उनले राजीनामा दिएकी हुन् । तर उनको राजीनामा स्वीकृत भएन । २०७८ सालसम्म नक्कली हस्ताक्षर प्रयोग गरेको उनले बताइन् । अडिटरले भनेपछि प्रश्न गर्दा मात्रै आफ्नो राजीनामा २०७८ मा स्वीकृत भएको उनले बताइन् ।

बचतकर्ता र ऋणीलाई ठगी गरेको उमा गौरीका कृषि सहकारी संस्थाका जोडिएका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल श्रीमती सञ्चालक रहेको आफूलाई जानकारी नभएको बताउँछन् ।

उनले आफ्नी श्रीमतीलाई झुक्याइएको बताए । ‘मेरो मेडमलाई उनले (शम्भु रौनियारले) सदस्य बनाएका रहेछन्, पछि थाहा पाए,’ उनले भने, ‘सहकारी पीडित मध्ये एउटा म पीडित हो, पाँच वर्ष भयो छाडेको, स्कुल पढाइरहेको मान्छेलाई उनले भाउजू बस्दा सजिलो हुन्छ भन्दै सही गराए र झुक्याए, अहिले म आफै पीडित भएको छु ।’

सांसद पोखरेलले रौनियारबाट ठगिएपछि प्रहरीमा जाहेरी पनि दिएको उनले बताए ।

सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियारले सरकारीको समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । सहकारीले लगानी गरेको ऋण नउठेका कारण समस्या भएको बताउँदै उनले बाहिर हल्ला भएजस्तो समस्या नभएको दाबी गरे । एक कार्यकाल सञ्चालक सदस्य रहेकी अन्जला कोइरालाले राजीनामा दिइसकेको उनको भनाइ छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?