+
+

येचुरीले प्रदीप गिरिलाई भनेका थिए : कमरेड इन् आर्म्स

मोदी सरकारले नेपालप्रति लिएको नीतिलाई लिएर भाकपा मार्क्सवादीले भारतीय संस्थापनको कडा आलोचना गरेको थियो जुन पार्टीको नेतृत्वमा थिए येचुरी । 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते २०:३०

नेपालसँग गहिरो राजनीतिक सम्बन्ध बनाएका भारतीय कम्युनिस्ट नेता सीताराम येचुरी विहीबार उपचारको क्रममा अस्ताए । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव समेत रहेका येचुरीको नेपालका कम्युनिष्ट नेताहरू मात्र होइन, सबै दलका शीर्ष नेतासँग राम्रो सम्बन्ध थियो ।

यसको उदाहरण हो कांग्रेस नेता प्रदीप गिरिको निधनमा येचुरीको शोक वक्तव्य । गिरिको निधनमा येचुरीले उनलाई ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र भन्दै श्रद्धाञ्जलि दिएका थिए । नेपालको राजनीतिक क्रिया-प्रतिक्रियासँग जानकार रहँदै आएका उनले गिरिको निधनमा श्रद्धाञ्जली वक्तव्य नै जारी गर्दै भनेका थिए, ‘हाम्रा साथी प्रदीप गिरि नेपालमा राजतन्त्र फाल्ने आन्दोलनका लडाकु, लोकतन्त्रका अथक योद्धा र भारतका घनिष्ट मित्र थिए, यस्ता मित्रको निधनमा हामी गहिरो दुःख व्यक्त गर्छौं ।’

त्यसो त, उनी नेपालका प्रमुख राजनीतिक दलहरूको महाधिवेशनहरूमा पनि अतिथिका रूपमा बाक्लै सहभागी हुन्थे । नेपालका राजनीतिक घटनाक्रममा चासो राख्ने येचुरीले नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूसँग नजिकको सम्बन्ध राख्दै आएका थिए ।

विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा

येचुरी भारतीय राजनीतिमा महत्वपूर्ण नाम थिए ।  अगस्ट १२, १९५२ मा तमिलनाडुको राजधानी चेन्नईमा एक तेलुगु ब्राह्मण परिवारमा जन्मिएका उनी अध्ययनमा अब्बल थिए । अर्थशास्त्रमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनले संकटकालमा गिरफ्तारी भएसँगै अर्थशास्त्रमा पीएचडीको अध्ययन पूरा गर्न सकेनन् ।

विद्यार्थी राजनीति हुँदै सन् १९७४ मा भारतिय विद्यार्थी संघ हुँदै सीपीएमको सदस्य बनेका उनी ३२ वर्षमा सीपीएमको पोलिटब्युरो सदस्य बनेका उनी सन् २०१५ मा पार्टीको महासचिव बने ।

रणनितिक सोच र वक्तृत्वले उनी भारतीय वामपन्थी राजनीतिमा सबैभन्दा प्रभावशाली आवाज बने । सन् २०१६ मा राज्यसभामा उत्कृष्ट सांसदको अवार्ड पाएका उनले सदनमा नागरिकका मुद्दा सशक्त ढंगले उठाउँदै आएका थिए ।

राजनीतिक जिम्मेवारीका अलावा प्रसिद्ध स्तम्भकार, अर्थशास्त्री र सामाजिक कार्यकर्ताको रूपमा परिचित थिए।

यचुरीको नेतृत्वमा भारतीय कम्युनिष्ट पार्टीले चुनावी पराजय र आन्तरिक द्वन्द्व लगायत धेरै चुनौतीपूर्ण समयको सामना गर्दै आएको छ। यी चुनौतीका बाबजुद पनि उनी पार्टीको सिद्धान्त र लक्ष्यप्रति प्रतिबद्ध रहँदै आए । व्यापाक आलोचनाका बीचमा पनि उनको वैचारिक प्रतिबद्धतालाई लिएर पक्ष र विपक्ष दुवैबाट सम्मान पाइरहे ।

नेपालसँग निकट सम्बन्ध

पत्रकार सुधीर शर्मा नेपालमा जनआन्दोलन चल्दा येचुरीलगायत नेताले भारतमा सोलिडारिटी ग्रुप नै बनाएको स्मरण गर्छन् । सन् २००४ को चुनावपछि कांग्रेस आईसँगको गठबन्धन सरकारमा सामेल थियो येचुरी आबद्ध पार्टी सीपीएम ।

सीपीएम उक्त सरकारको निर्णायक शक्ति थियो । यही शक्तिलाई उनले तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण अवतरण गराउन भूमिका खेल्न सकेका थिए ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्षसमेत बनेका उनी अर्थशास्त्रका गोल्ड मेडलिस्ट समेत थिए । नरम लोकतन्त्रवादी कम्युनिस्टको छवि बनाएका उनी नेकपा एमालेसँग निकट रहे पनि कांग्रेस लगायत दलसँग समेत उनको सम्बन्ध राम्रो रहेको पत्रकार शर्मा बताउँछन् ।

शर्माका अनुसार भारतीय संस्थापन नेपालमा राजासँग मात्रै बढ्दा व्यवहार गरिरहेको सन्दर्भमा येचुरीले नेपालका दलहरूसँग भारतले नजिकको व्यवहार गर्नुपर्नेमा जोड दिंदै आए । उनले राजतन्त्र संवैधानिक सीमामा नबसी निरंकुशतामा गएकाले नेपाली जनताको अभिमतलाई सम्मान गर्नुपर्ने मत राख्थे ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेता येचुरीसँग एमालेको पुरानो सम्बन्ध रहेको बताउँछन् । ‘म त उहाँसँग अर्जेन्टिनालगायत ल्याटिन अमेरिकी देश पनि पुगेको छु’ पोखरेल भन्छन्, अन्तर्राष्ट्रिय वर्कर्स पार्टीहरुको भेलामा धेरैपल्ट हामी सँगै रह्यौं । काठमाडौंमा पनि धेरैपल्ट भेटघाट र विचार आदानप्रदान गर्‍यौं ।’

भारतको नाकाबन्दीमा नेपालको साथ

येचुरी नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिनेगर्थे । जब भारतीय जनता पार्टी दिल्लीमा कमजोर देखियो, मतदातालाई सम्बोधन गर्दै उनी भन्थे- ‘दिल्लीवासीले भारतीय जनता पार्टी (भाजपा)ले गर्दै आएको घृणा र हिंसाको राजनीतिलाई सुहाउँदो जवाफ दिए ।’

त्यसैले होला, उनी मोदी सरकारको आँखाको कसिङ्गर बनिरहेका थिए । मोदी सरकारले नेपालप्रति लिएको नीतिलाई लिएर भाकपा मार्क्सवादीले भारतीय संस्थापनको कडा आलोचना गरेको थियो जुन पार्टीको नेतृत्वमा थिए येचुरी । मोदी सरकारले नेपालप्रति हेपाहा नीति लिएको उक्त पार्टीले बताएको थियो ।

२०७२ को फागुनमा मोदी सरकारले येचुरीसँगै राहुल गान्धी र अरविन्द केजरीवाल लगायतलाई देशद्रोहीको आरोप लगाएको थियो ।

कम्युनिष्ट पार्टीले आफ्नो मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’मा एउटा सम्पादकीय नै लेख्यो । जसमा स्पष्ट लेखिएको थियो, ‘नरेन्द्र मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालसँगको सुमधुर सम्बन्ध बिगार्ने गरी मधेसीलाई समर्थन गरेका छन्, जो बिहारको सीमा क्षेत्रमा छन् ।’

सम्पादकीयमा अगाडि भनिएको छ, ‘नेपाललाई चीनतिर जान बाध्य पारिएको छ र चीनबाट एक हजार मेटि्रक टन पेट्रोल ल्याउन सम्झौता भएको छ, भारतको नाकाबन्दीविरुद्ध असन्तुष्टि जनाउन नेपालका परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघ गएका छन् । सार्कका अधिकांश देशले नेपाली जनतामाथि लादिएको नाकाबन्दीबारे चासो व्यक्त गरेका छन् ।’

नेपालले सम्झिरहनेछ

नेपालका विभिन्न राजनीतिक घटनाक्रममा पनि आफ्नो उपस्थिति जनाएका उनी नेपालका नेताहरूसँग नियमित सम्पर्कमा रहन्थे।

राजनीतिक पर्यावरणमा एउटा आदर्शवादी वाम शक्तिको उपस्थितिले गतिशीलता र मिठास थप्न सक्न भन्ने उदाहरण हो येचुरी नेतृत्वको भारतीय कम्युनिष्ट पार्टी । यद्यपि केही रणनीतिक गल्तीहरूका कारण उनीले जीवनको उत्तरार्धमा भारतमा असाध्यै खुम्चिएको कम्युनिष्ट पार्टीको नेतृत्व गर्दै अस्ताए ।

९ कात्तिक २०७५ मा पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा सहभागी हुँदै येचुरीले भनेका थिए, ‘जो शासनमा पुग्छ, त्यसैको नाममा वाद जोड्ने अभ्यासमा भने सुधार ल्याउन आवश्यक छ ।’

उक्त कार्यक्रममा उनले भारतमा कम्युनिष्ट आन्दोलन कसरी कमजोर बन्यो भन्दै व्याख्या गरेका थिए ।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन्, ‘येचुरीको निधनले समाजवादी आन्दोलनको महत्वपूर्ण खम्बा ढल्यो । उहाँको हामीलाई याद भइरहने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?