+
+

खाद्यले दशैंमा १५ सय खसीबोका र ३ सय कालो च्याङ्ग्रा बेच्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १८:५५

२७ भदौ ,काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा दशैंका लागि खसीबोका र कालो च्याङ्ग्रा भित्र्याउने तयारी थालेको छ ।

कम्पनीकी प्रबन्धक अम्बिका पौडलका अनुसार काठमाडौं उपत्यकाका लागि १ हजारदेखि बढीमा १५ सय वटा खसीबोका र ३ सय वटा कालो च्याङ्‍ग्रा ल्याउने तयारी भइरहेको हो ।

‘दशैंमा मुस्ताङबाट ३ सय वटा कालो च्याङ्ग्रा ल्याउने तयारी भइरहेको छ । यो पटक हिमाली च्याङ्ग्रा ल्याउने योजना भने छैन,’ अनलाइनखबरसँग पौडेलले भनिन् ।

अघिल्लो वर्ष हिमाली च्याङ्ग्रा ल्याउँदा नबिकेकोले मुस्ताङबाट कालो च्याङग्रा ल्याउन लागिएको उनको भनाइ छ ।

यो वर्ष कम्पनीले उपलब्ध गराउने चाडपर्व लक्षित उपभोग्य सामानहरू बिक्री हुनेमा आफूहरू ढुक्क रहेको उनले बताइन् ।

खाद्यले पहिलो पटक खाद्य व्यवस्थाले उवा बेच्दैछ ।

‘हामीले कर्णालीका रैथाने खाद्यान्नलाई विशेष रूपमा चाडपर्वका लागि ल्याएका छौं । सहुलियत पसलमा स्वास्थ्यवर्द्धक मानिने उवा, कागुनो र चिनो जस्ता खाद्यान्न राख्दै छौं । यसले दशैंमा रैथाने उत्पादन खरिद गर्ने उपभोक्ता बढ्ने विश्वास गरेका छौं,’ पौडेलले भनिन् ।

स्थानीय सोना मन्सुली चामलदेखि जुम्ली मार्सी चामलसम्म पनि खाद्य व्यवस्थाले अघिल्लो वर्ष झैं सहुलियत पसलमा बिक्रीका लागि राखिने उनले बताइन् ।

चामल सहित विभिन्न खाद्यान्न गरेर ५ हजार क्विन्टल बिक्री गर्ने खाद्य व्यवस्थाको लक्ष्य रहेको छ ।

४२ जिल्लाको ६१ स्थानमा सहुलियत पसल

कम्पनीले चाडपर्व लक्षित सहुलियत पसल ७ असोजदेखि सञ्चालन गर्ने भएको छ । दशैं र तिहारका लागि सहुलियत दिन सरकारले कम्पनीलाई ३ करोड बजेट दिएको छ ।

‘उपत्यकाका ४ स्थान सहित ४२ जिल्लाका ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुन्छ,’ उनले भनिन् ।

कम्पनीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि सबैथरी चामलको मूल्य प्रतिकेजी ५ रुपैयाँ छुट हुनेछ ।

‘सहुलियत पसल सुरु भएपछि जिल्ला दररेट निर्धारण समितिले तोकेको मूल्यमा प्रतिकेजी ५ रुपैयाँ छुट हुन्छ,’ उनले भनिन् ।

यस्तै कर्णालीको रैथाने बालीहरूमा प्रतिकेजी ७ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ र घिउ पनि प्रतिकेजी ७ रुपैयाँ छुटमा बिक्री हुने कम्पनीले जनाएको छ ।

खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य भने खरिदपछि मात्रै निर्धारण हुने कम्पनीले जनाएको छ । बजार मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट सहित खसीबोका र च्याङ्ग्रा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

‘हामीले बिक्री गर्ने खसीबोका, च्याङ्‍ग्रा, खाद्यान्न लगायत उपभोग्य सामग्री बजारमा पाइनेभन्दा दुई किसिमले राम्रो हुन्छ । सहुलियत पसलमा सस्तो पर्छ भने अर्को गुणस्तर पनि हुन्छ,’  पौडेलले भनिन् ।

नबिक्ने डरले खसीबोका र च्याङ्‍ग्रा कम ल्याउँदै   

खाद्य व्यवस्थाले यो वर्ष अघिल्लो वर्षमा ल्याएको च्याङ्ग्रा नबिकेको भन्दै कम ल्याउन लागेको कम्पनीका एक अधिकारीले बताए ।

‘यो वर्ष बिक्री नहुने डर त छैन तर पोहोर धेरै च्याङ्ग्रा नबिकेर समस्या भएको थियो । त्यही भएर यो वर्ष कम ल्याउन लागेको हो,’ ती अधिकारीले भने ।

कम्पनीले गत वर्ष च्याङ्ग्रा ५०० र खसीबोका १ हजार ६ सयभन्दा धेरै ल्याएको थियो ।

सहुलियत पसलमा चिनी बिक्रीका लागि राख्ने नराख्नेबारे टुंगो नलागेको खाद्य व्यवस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?