+
+

जाउलाखेलमा चिनियाको योजनामा कल सेन्टर, ८ जना हिरासतमा

दुबईबाट डिपोर्ट भएको समूह, मासिक तिर्थ्यो साढे ३ लाख भाडा

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ २७ गते २०:३२

२७ भदौ, काठमाडौं । ललितपुरको जावलाखेलस्थित खरीबोट नजिक एउटा घर भाडामा लिएर अवैध कल सेन्टर चलाउने गिरोहका ५० जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ ।

सीआईबीका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाही कमाण्डमा गएको प्रहरीले मंगलबार राति कल सेन्टरमा छापा मारेको थियो । करिब डेढ रोपनी क्षेत्रफलमा रहेको घर भाडामा लिएर अवैध कल सेन्टर चलाएको आरोपमा सीआईबीले दुई चिनियाँ नागरिक, एक फिलिपिनो नागरिक र ४७ जना नेपाली गरी ५० जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको छ । बाँकीलाई भने बोलाएका बेला उपस्थित हुने गरी छाडिएको छ ।

म्याद थप गरिएकाहरुमा चिनियाँ नागरिक डिङ जिहोङ, लिन क्वीनजिङ, फिलिपिन्सकी महिला हानिपा सिन्सुएत छन् । दुई चिनियाँ कल सेन्टर सञ्चालक हुन् भने एक फिलिपिनो महिला भाषा अनुवादक एवं सहयोगी रहेको पाइएको छ ।

हिरासतमा रहेका नेपालीहरुमा रौतहटका कमल कँडेल, इलामका सन्दीप आचार्य, झापाका सुजन प्रधान, सुनसरीका विजयबहादुर गिरी, नवलपरासी बर्दघाटका सन्दीप अधिकारी छन् । अधिकारी घर बहाल सम्झौताका दोस्रो पक्ष हुन् बाँकी गु्रप लिडर हुन् ।

पक्राउ परेकाहरुबाट सीआईबीले १९४ थान मोबाइल, ५५ थान कम्युटर, ४ थान ल्यापटप पनि बरामद गरेको छ । बरामद गरिएकामध्ये एउटा कम्युटरबाट मात्रै १ लाख डलर बराबरको कारोबार गरेको भेटिएको सीआईबीका निर्देशक एआईजी दीपक थापाले बताए ।

त्यसैगरी ४ थान विदेशी पासपोर्ट, थाइ भाट ५६ हजार ६००, अमेरिकी डलर १२३, नेपाली रुपैयाँ १ लाख ६२ हजार ५ सय बरामद गरेको छ ।

यो समूहले विभिन्न उपहार, चिट्ठा पर्‍यो वा पार्सल पठाएको छु भन्दै फोन गरेर राजश्व वापतको शुल्क भन्दै पैसा पठाउन लगाउने, अनलाइन जुवा खेलाउने, क्रिप्टो करेन्सीको कारोबार गर्ने र युवतीमार्फत ठगी गर्ने गरेको पाइएको सीआईबीले जनाएको छ ।

‘युवतीहरु प्रयोग गरेर अनलाइन कुराकानी गर्ने र फ्रड गरी ठगी गर्ने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ एआईजी थापाले अनलाइनखबरसँग भने ।

कल सेन्टरबाट हिंगी, बुम्बल, मुस्लिमा, इनसाहा, सलामा, मुज, अकुपिड, अलखत्ताबालगायतका डेटिङ एपहरुमा महिलाको प्रोफाइल फोटो राखी युरोप, अमेरिकागायत देशका पुरुषहरुलाई साथी बनाई अनलाइन फ्रड गरेको पाइएको सीआईबीको भनाइ छ ।

यी सबै काम उनीहरुले राति मात्रै गर्ने गरेको पाइएको छ ।

यसरी अनलाइन स्क्यामिङमार्फत प्राप्त भएको रकम उनीहरुले क्रिप्टो करेन्सीमार्फत विदेश पुर्‍याउने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हिरासतमा रहेका ८ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा २६२ मा रहेको अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।

मासिक साढे ३ लाख भाडामा घर

यो समूहले मासिक साढे ३ लाख भाडा तिर्ने गरी जगदिश उपाध्यायको घर भाडामा लिएर अवैध कारोबार गरेको पाइएको छ । साउन १७ गते मात्रै घरबेटीसँग दुई वर्षका लागि १७ साउन २०८३ सालसम्मको सम्झौता गरेको कागजात सीआईबीले फेला पारेको छ ।

घर वरपर सबैतिर उनीहरुले सीसी क्यामेरा जडान गरेर निगरानी गर्दै आएका थिए ।

भान्छे, सरसफाइ र चालक गरी ८ जना कामदार चिनियाँको समूहले राखेको थियो भने साढे तीन तले घरको माथिल्लो तलामा कर्मचारी सुत्ने व्यवस्था मिलाइएको थियो ।

नेपाली कामदारहरुलाई उनीहरुले ३० हजारदेखि ६० हजार रुपैयाँसम्म मासिक तलब दिने गरी काममा लगाएको पाइएको सीआईबीले जनाएको छ । त्यही घरमा खाने, बस्ने सम्मको व्यवस्था गरिएको थियो । राति ९ बजेदेखि बिहानीपख ४/५ बजेसम्म मात्रै उनीहरुले काम गर्थे ।

दुबईबाट डिपोर्ट भएको समूह

सीआईबी स्रोतका अनुसार जाउलाखेलमा कल सेन्टर चलाउने समूहका मुख्य योजनाकारहरु दुबईबाट डिपोर्ट भएकाहरु हुन् । चिनियाँ, फिलिपिनो र अहिले पक्राउ परेकामध्ये केही नेपालीहरुले दुबईमा पनि यही शैलीमा कल सेन्टर चलाएर ठगी गरेका थिए ।

उक्त सूचना पाएपछि दुबई प्रहरीले छापामा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । पछि उनीहरुले डिपोर्ट भएर आ–आफ्नो देश फिर्ता भएका थिए । अहिले उनीहरुकै योजनामा जाउलाखेलमा कल सेन्टरको धन्दा चलाइएको सीआईबीका एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

‘यो समूहले केही अघिसम्म दुबईमा यसैगरी ठगीको धन्दा चलाएको खुलेको छ । त्यहाँबाट डिपोर्ट भएर नेपाललाई टार्गेट गरेर धन्दा चलाएको देखिन्छ’, एसपी बोगटीले भने ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?